झापा ।

भद्रपुर झापा गोल्डकपको बचत ४२ लाख ५७ हजार ४४५ रुपैयाँ रहेको जनाइएको छ ।
बिहीबार मेची रंगशालामा आयोजित भद्रपुर झापा गोल्डकपको दोस्रो वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सह कोषाध्यक्ष अजय साहेवालाले संस्थाको आम्दानी तर्फ विभिन्न शीर्षक बाट सहयोग तथा प्रायोजकतर्फबाट २ करोड २ लाख ६६ हजार ११८ रुपैयाँ तथा बैंकबाट कर कट्टी पश्चताको व्याज आम्दानी ३ लाख ९ हजार २९८ रुपैयाँसहित कुल आम्दानी २ करोड ५ लाख ७५ हजार ४१६ रुपैयाँ आम्दानी भएको थियो ।
जसमा संस्थाको खर्चतर्फ कर्मचारी तलब ५ लाख ३० हजार, दोस्रो गोल्डकप सञ्चालन खर्च १ करोड ५३ लाख ४ हजार ४३८ रुपैयाँ र सामान्य प्रशासनिक खर्च ३ लाख ४३ हजार ८७३ रुपैयाँ, हासकट्टी खर्च १ लाख ४० हजार ४४६ रुपैयाँ समेत जम्मा १ करोड ६३ लाख १७ हजार ९७१ रुपैयाँ खर्च भई हाल संस्थामा बचत ४२ लाख ५७ हजार ४४५ रुपैयाँ रहेको सह कोषाध्यक्ष साहेवालाले जानकारी दिए ।
त्यस्तै संस्थाको आर्थिक वर्ष ०८०।०८१ सम्मको बक्यौता १८ लाख ११ हजार ४३९ रुपैयाँ आर्थिक वर्ष ०८१।०८२ मा थप भएको १८ लाख २१ हजार गरी जम्मा ३६ लाख ३२ हजार ४३९ रुपैयाँमध्ये गत आर्थिक वर्ष मध्येको ९६ हजार मात्र असुली भई चालू वर्षको अन्त सम्ममा कुल बक्यौता ३५ लाख ३६ हजार ४३९ रुपैयाँ बक्यौता रहेको उनले बताए । त्यस्तै गोल्डकपका अध्यक्ष दीपेश ढकालले हालसम्म गोल्डकपका दुई संस्करण भव्य र सफल रूपमा सम्पन्न भएको जानकारी दिँदै झापामा पहिलो पटक अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न सफल भएको बताए ।
उनले २०८३ फागुनको पहिलो सातादेखि सञ्चालन हुने तेस्रो भद्रपुर झापा गोल्डकपको तयारी सुरु भइसकेको पनि जानकारी गराए।गोल्डकपको पहलमा मेची रंगशालामा विभिन्न संरचना थपिएको र मैदानको स्तरोन्नति भएको उल्लेख गर्दै उनले ग्रास रुट तथा महिला फुटबल प्रशिक्षणलाई निरन्तरता दिइरहेको बताए । यसै वर्षभित्र रंगशालामा प्यारापिट थप निर्माण र फ्लड लाइट जडानको प्रक्रिया पनि अघि बढिसकेको उनले बताए ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेलले नगरपालिकाले गोल्डकपको संरक्षकत्व गरिरहेको भन्दै यसका गतिविधिमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले मेची रंगशालाको स्तरोन्नतिमा गोल्डकपको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी कार्यक्रमहरूमा पनि सक्रिय सहयोग रहने बताए ।
गोल्डकपका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तीर्थराज ढकालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महासचिव जीवनकुमार श्रेष्ठले गरेका थिए ।



























