इलाममा अनौपचारिक तथा आजीवन सिकाइ कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यशाला

0
1

विमल दहाल, इलाम ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा कोशी प्रदेश स्तरीय अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि अभिमुखीकरण विहिवार सम्पन्न भएको छ।

शिक्षा तालिम केन्द्र इलाममा सञ्चालित तालिममा अनौपचारिक शिक्षा तथा आजीवन सिकाई सम्बन्धी नीति तथा कार्यक्रमहरू, अनौपचारिक शिक्षासम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५, नियमावली २०७७, राष्ट्रिय योग्यता प्रारूप कार्यान्वयन प्रक्रिया अन्तर्गत समकक्षता गतिशीलता र पारगम्यता लगायतका विषयमा सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।

अभिमुखीकरण कार्यक्रमलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक माधव प्रसाद पोखरेल र अधिकृत सुमना घिमिरेले सहजीकरण गर्नु भएको थियो। जिल्ला शिक्षा तथा समन्वय इकाई इलामका प्रमुख रेविका अमात्यले स्वागत मन्तव्य राख्दै शुरु भएको कार्यक्रमलाई झापा जिल्ला इकाई प्रमुख कुमार बस्नेतले धन्यवाद ज्ञापन सहित मन्तव्य राख्नु भएको थियो।

कोशी प्रदेश भित्रका १४ जिल्लाका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तथा परिचालक, जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख तथा प्रतिनिधि, स्थानीय तह शिक्षा युवा तथा खेलकुद शाखा र सरोकारवाला निकायका प्रतिनिधिहरू सहित ३६ जनाको सहभागिता रहेको कार्यक्रमवाट राष्ट्रिय योग्यताको ढाँचाअन्तर्गत सञ्चालन हुने कार्यक्रमको कार्यान्वयन सम्बन्धी जिम्मेवारी स्पष्टता र क्षमता अभिवृद्धि गर्न कार्यशाला आयोजना गरिएको उल्लेख गरिएको थियो ।

कार्यशालाले समुदायमा साक्षरता, सीप तथा आजीवन सिकाइ प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here