झापा–५ः एमाले, कांग्रेस छोड्दै बालेनको पक्षमा भोट माग्दै

0
3

दमक ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह झापा ५ मा उमेद्धवार भएर आएपछि नेकपा एमाले र नेपाली कांग्रेसका एक दर्जनबढी अगुवा युवा तथा नेताहरुले पार्टी परित्याग गरेर बालेन जिताउ अभियानमा लागेका छन् ।

कांग्रेसका प्रकाश प्रसाई र एमालेका सन्तोष दुलाल लगायतका युवा नेताहरु बालेन जिताउन लागेपछि अहिले एमाले र कांग्रेसका उमेद्धवार र ती दलका नेताका लागि मुख्य टाउको दुखाई बनेको छ । मुख्य गरि झापा ५ का नेकपा एमालेका उमेद्धवार तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओली र उनका नेता कार्यकर्तालाई यो बिषयले अझै धेरै सताएको छ ।

कसैले स्वतन्त्र पार्टीका उमेद्धवार बालेन शाहसँग फोटो खिचेर पार्टी छोडेका छन् भने धेरैले फेसबुकमा लेखेर खुल्ला रुपमा राजीनामा दिदै बालेन्द्र र परिवर्तनलाई सहयोग गर्ने घोषणा गरेका छन् । कांग्रेस र एमाले परित्याग गरी बालेनलाई सहयोग गर्ने नेता कार्यकर्ताहरु दैनिकजसो बढिरहेका छन् ।

आफ्नै दलका युवा नेताहरु र कांग्रेस स्थानीय अगुवा नेताहरु बालेनको पक्षमा खुलेर लागेपछि त्यसको सबैभन्दा ठुलो क्षति एमाले उमेद्धवार तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुग्ने देखिएको छ । बालेनको पक्षमा आफ्नै नेता कार्यकर्ता खुलेर लागेको देखेपछि पछिल्लो समय ओली आफै तल्लो तहसम्म पुगेर बस्तुस्थिती बुझ्न र भोट माग्न सकृय छन् ।

बालेनलाई झापा ५ मा उमेद्धवार ल्याउन र उमेद्धवार मनोनयनदेखि अहिले निर्बाचनमा जिताउन खुल्ला रुपमा सकृय हुनेहरु नै कांग्रेस र एमालेका युवा नेताहरु धेरै छन् । एमालेका युवा नेता दुलाल बालेनलाई झापा ५ मा उमेद्धवार बनाउन सकृय हुने अगुवा भएका युवामध्ये एक हुन् । त्यस्तै माघ ६ गते उमेद्धवार मनोमयनकै दिन कांग्रेस दमक नगर सभापति प्रसाई पार्टी परित्याग गरेर बालेनसंगै उमेद्धवार दर्ता गर्न निर्बाचन कार्यलय पुगेका थिए ।

प्रसाई ५ नम्बर निर्बाचन क्षेत्रकै कांग्रेसका मुख्य ३/४ नेतामध्ये एक मानिन्छन् । ३ कार्यकाल दमक उद्योग बाणिज्य संघको अध्यक्ष भएका प्रसाई राजनितिक र ब्यावसायीहरुमाझ हुने जुनसुकै निर्बाचनमा मुख्य अगुवा नेता मानिन्छन् । प्रसाईकी श्रीमती रेगिना भट्टराई प्रसाई दमक नगरपालिकामा कंग्रेसका तर्फबाट निर्बाचित उपमेयर हुन् ।

प्रसाई स्वतन्त्र पार्टीका उमेद्धवार बालेनको साथ लागेपछि कंग्रेसका धेरै नेता कार्यकर्ता पार्टी परित्याग गरेर उनकै सिको गर्दैछन् । कांग्रेसका कमल गाउँपालिका समितिका सचिव महेन्द्र बुढाथोकी, ५ नम्बर क्षेत्रिय समितिका सदस्य तथा मारवाडी सेवा समिति दमकका पूर्वध्यक्ष तथा ब्यावसायी दिनेश अग्रवाल, कांग्रेसका सदस्य तथा ब्यावसायी सोम खनालले पार्टी परित्याग गरि बालेनलाई सहयोग गर्न सकृय छन् । कांग्रेसका जिल्ला सदस्य तथा बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की पनि पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् ।

त्यस्तै सन्तोष दुलालसंगै एमाले परित्याग गरेर बालेनको पक्षमा लागेपछि अहिलेसम्म एक दर्जनजति एमालेका झापा ५ का मतदाता रहेका स्थानीयदेखि केन्द्रीय नेताहरुले समेत पार्टी परित्याग गरेका छन् । ०५७ सालदेखि पार्टीको बिभिन्न तहमा काम गरेका र हाल एमालेको युवा बिद्यार्थी बिशेष काठमाण्डौका सल्लाहकार सचिव राजेश प्रसाई र झापा जिल्ला सदस्य योगेश उप्रेतीले पनि पार्टी परित्याग गरेर बालेनलाई सहयोग गर्न सकृय छन् । एमालेका झापा ५ का क्षेत्रिय उपसचिव तथा युवा ब्यावसायी महेन्द्र खड्का, दमक नगर सदस्य तथा स्वास्थ्यकर्मी चन्द्र थापा, युवा नेता महेश घिमिरे, अर्जुन मैनालीले एमाले छोडेर बालेन र स्वतन्त्र पार्टीमा सक्रिय छन् ।

उमेद्धवार मनोनयन गरेकै दिन बेलुका एमालेको युवा संघ दमकका अध्यक्ष छबि खतिवडा, उपाध्यक्ष बिजय तामाङ र सचिव कमल गैरेले एकसाथ राजीनामा दिएर बालेनको पक्षमा लागेको घोषणा गरेपछि युवा संघ नै पुनर्गठन गर्नुपरेको थियो । पछि पार्टीको दवाव थाम्न नसकेर सचिव गंैरेले राजीनामा फिर्ता लिएका थिए ।

त्यसपछि झापा ५ का उमेद्धवार एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा संघको दमक अध्यक्षसहितको नयाँ टिमलाई शपथ गराएका थिए । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका युवा नेता डेभिड शाहीले पनि पार्टीबाट राजीनामा दिएर बालेनलाई सहयोग गर्ने घोषणा गरेका छन् । शाही वाइसिएलका झापा र झापा क्षेत्र नं. ५ का अगुवा युवा नेता मानिन्छन् ।

रास्वपाका क्षेत्रिय सभापति भेषराज भट्टराईले अहिले झापा ५ मा रास्वपाका उमेद्धवार बरिष्ठ नेता बालेनको पक्षमा कांग्रेस एमालेका नेताहरु राजीनामा दिएर खुल्ला रुपमा आउने क्रम बढेको र अझै आन्तरिक रुपमा लाग्ने नेता कार्यकर्ता धेरै भएको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here