सुस्केराद्वारा ५४ बुँदे वाचापत्र सार्वजनिक

0
3

सुरुङ्गा।

प्रतिनिधि सभा झापा क्षेत्र नम्बर ४ का रास्वपा उम्मेद्वार शम्भुप्रसाद ढकाल सुस्केराले ५४ बुँदे वाचापत्र सार्वजनिक गरेका छन् ।

स्थानीय कन्काई मावि सुरुङ्गाबाट माध्यमिक शिक्षा र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्ए गरेका सुस्केराले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि आफ्नो ५४ बुँदे वाचापत्र सार्वजनिक गरेका हुन् ।

झापाका अन्य क्षेत्रमा सञ्चारकर्मीका प्रश्नबाट भागिरहेका रास्वपा उम्मेदवारभन्दा फरक झापा क्षेत्र नम्बर ४ मा यसरी पत्रकार सम्मेलननै गरेर सुस्केराले पहिलो पटक आफ्नो वाचापत्र सार्वजनिक गरेका हुन् ।

ढकालले सार्वजनिक गरेको वाचापत्रमा बारम्बार निर्वाचन जितेर आफ्नो घोषणापत्र अनुसार जनताको काम नगर्ने उम्मेद्वारलाई ठगी मुद्दा हालेर जेल हाल्ने कुरा उल्लेख गरेका छन् ।
२२ वर्ष नेपाल प्रहरीमा काम गरेका सुस्केरा रेडियो कार्यक्रम प्रस्तोता र साहित्यकार पनि हुन् । उनी योग तथा खाना नफालौं अभियानका अभियन्ता पनि हुन् ।

उनले आफू चुनाव जितेर गएमा संसदमा जनविरोधी कानुन संशोधन गर्ने बताए । २ पटकसम्म १० सिट सम्म नजित्ने पार्टी र १० लाख सम्म भोट नल्याउने पार्टीको दर्ता खारेजी गर्ने समेत चुनावी वाचापत्रमा उल्लेख छ ।

निर्वाचित नेता सांसदको सम्पत्ति छानबिन गर्ने र जनतामा सुशासनको प्रत्याभूति गराउने, प्रहरी तथा सेनाले १६ वर्षमा पेन्सन सुविधा पाउने, द्वन्द्वपीडित प्रहरी र नागरिकलाई समेत उचित व्यवस्थापन गर्ने, जनमैत्री प्रहरी सेवा लगायातका कुराहरू वाचापत्रमा उल्लेख रहेको छ ।

यसै गरी जनप्रतिनिधिको मृत्यु वा राजीनामा दिएमा पुन: उपनिर्वाचन नगरी उपविजेतालाई स्वत: जिम्मेवारी दिने कुरा समेत वाचापत्रमा उल्लेख छ । लागुऔषध कारोवारी र बलत्कारीलाई आजीवन कारावासको व्यावस्था र उनीहरुको सजाय माफी मिनाह नहुने व्यावस्था गरिने, गाउँ गाउँमा योगअभ्यास गराई यसको गुरु बनाएर विदेशमा योग अभ्यास गर्नका लागि प्रशिक्षक पठाइने समेत चुनावी वाचापत्रमा उल्लेख छ ।

यसै गरी युवालाई बिना धितो ऋण उपलब्ध गराइने, माटो बचाउन विषादीरहित खेती प्रणाली अवलम्बन गरिने, विद्यार्थीहरुलाई पढ्दै कमाउदै गर्ने वातावरणको सृजना गरिने समेत वाचापत्रमा उल्लेख छ ।

यसै गरी ऐलानी जग्गाको धनीपूर्जा वितरण, सुकुम्बासी समस्याको समाधान गर्ने, कनकाई, बिरिङ, कमल लगायतका नदीहरुको स्थायी समाधान गरिने, यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलहरू दोमुखा, माईधाम, कोहीहवन, जामुनखाडीको स्तरोन्नति गरी थप पर्यटक आउने वातावरण बनाइने कुरा समेत वाचापत्रमा उल्लेख छ ।

सुस्केराले वाचापत्रमा स्थानीय मदिरालाई ब्रान्डिङ गरी बजार व्यवस्थापन गरिने, हात्तीको आक्रमण रोक्न विशेष पहल, कनकाई नदीको अधुरो पुल बनाइने लगायतका वाचा गरेका छन् ।

रास्वपाका क्षेत्रीय संयोजक लीलामाया बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा रास्वपा झापा गाउँपालिकाका सभापति लक्ष्मण तिवारी, रास्वपा शिवसताक्षी नगर सभापति गंगाराम कडरिया, विर्तामोड नगर उपसभापति अनुप निरौला, रास्वपा कनकाई नगर उपसभापति दीनानाथ खतिवडा, वार्ड नं. ३ सभापति रमेशचन्द्र मैनाली लगायतको आतिथ्य रहेको थियो ।

वाचापत्र सार्वजनिक गरिए पछि उम्मेदवार सुस्केराले सञ्चारकर्मीहरूले सोधेका प्रश्नहरूको जवाफ दिएको रास्वपा कनकाईका नेता रूद्र ढकालले जानकारी दिए । सोही अवसरमा, झापा गाउँपालिकाका उद्योग वाणिज्य संघका अध्यक्ष, झापा गाउँपालिका खानेपानी महासङ्घ अध्यक्ष र सानो माई आर्यघाट संस्थाका अध्यक्ष लगायतका भूमिकामा रहेका सन्तोष नेपाल र अर्का समाजसेवी व्यक्तित्व हरि दुलाल रास्वपा प्रवेश गरेका थिए।उनीहरूलाई रास्वपा जिल्ला सचिवसमेत रहेका उम्मेदवार सुस्केराले पार्टीको टोपी र घन्टी चिन्ह अङ्कित ब्याज लगाइदिएर दुवैलाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रम रास्वपाका कनकाई नगर सभापति एवम् क्षेत्र नं. ४ का चुनाव प्रचारप्रसार समिति संयोजक मोहन थापाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here