स्वविवेकको प्रयोग गरौं

0
5

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब दश दिन मात्र बाँकी छ । निर्वाचनको सम्मुख रहेका उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न व्यस्त छन् । तर, यसपटकको निर्वाचनमा आममतदाताको भने खासै चासो देखिएको छैन । उनीहरु निर्वाचनमा मतदान गर्न तयार छन्, तर विगतको जस्तो उम्मेदवारका पछि दौडिने मनस्थितिमा छैनन् । त्यसैले विगतको जस्तो यो निर्वाचनमा भीडभाड, जोशजाँगर र उत्साह नभएको मतदाताको प्रतिक्रिया छ । प्रविधिको विकासले हुनसक्छ अहिले सामाजिक सञ्जाल नै निर्वाचनको प्रचार गर्ने माध्यम भएको छ । अझ नवपुस्ता परम्परागत शैलीभन्दा यथार्थ र परिणाममुखी नेतृत्व गर्न सक्ने व्यक्तिको चयन गर्न सक्षम भएका कारण पनि यसपटक विगतको जस्तो नदेखिएको हुनसक्छ ।

विगतमा घोषणापत्रको आधारमा व्यक्ति वा दलको मूल्याङ्कन गर्ने परिपाटी थियो । तर, घोषणा पत्र विपरीतका उनीहरुका गतिविधिले शिक्षित मतदाता झुक्किने अवस्थामा छैनन् । त्यसमा पनि यसपटक अचानक आइलागेको निर्वाचन पुराना र नयाँबीचको चुनाव देखिएको छ । व्यक्ति वा दलको सामाजिक योगदान, इतिहास, भावी रणनीति र एजेण्डाको अध्ययन, मूल्याङ्कन गर्नेभन्दा चुनाव चिह्न व्यक्तिको रोजाइतर्फ आकर्षित भएको छ । त्यसो त झण्डै चार दशकदेखि उही पात्र, उही प्रवृत्ति र उस्तै मानसिकताले देश झनै पछि धकेलिएको छ । भ्रष्टाचार, कुशासन मौलाएको छ र युवाशक्तिको पलायन चिन्ताको विषय बनिएको छ । यस्तोमा सचेत मतदाताले क्षमतावान व्यक्तिको पहिचान गरी अमूल्य मत प्रदान गर्न धक वा डर मान्नु पर्दैैन ।

निर्वाचनको मुखमा निर्वाचनलाई प्रभाव पार्ने घटनाहरु हुन सक्छन् । निर्वाचन स्वस्थ प्रतिष्पर्धा हो र प्रजातान्त्रिक प्रणालीको सौन्दर्य पनि । त्यसलाई कलुषित हुन नदिन जिम्मेवार नेतृत्व, नेता, उम्मेदवार र मतदाताले पनि गम्भीर हुनै पर्छ । स्वस्थ प्रतिष्पर्धाका लागि मतदाता समक्ष जाँदा पनि पूरा हुन नसक्ने आश्वासन वा आशा दिलाएर भ्रममा पार्ने र चुनाव जित्ने मानसिकता बोक्नु हुँदैन । मतदाताले पनि उम्मेदवारले देखाएका सपना, चर्का भाषण र आश्वासनको भरमा अमूल्य मत दिनु हुँदैन । विगतमा तिनै उम्मेदवार निर्वाचित भएका थिए भने दल वा चिह्न हेरेर होइन उसले गरेका काम, सामाजिक उत्तरदायित्व, दृष्टिकोण, व्यवहार र क्षमता बुझेर मताधिकार प्रयोग गर्नुपर्छ । आसन्न निर्वाचनमा पार्टी होइन, प्रभाव वा हल्ला पनि होइन व्यवहारको पहिचान गरी स्वविवेकको प्रयोग गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here