देशमै सर्वाधिक चर्चा र चासोका रुपमा रहेको झापा ५ को निर्वाचन सम्भावित दुई प्रधानमन्त्रीका कारण मात्र होइन । स्थानीय तहको राजनीतिबाट एकाएक राष्ट्रिय राजनीतिमा अचानक प्रवेश गरेका बालेन्द्र शाह बालेनको उम्मेदवारीले झापा ५ निर्वाचनको केन्द्रमा रहेको हुनसक्छ । तीन पटक प्रधानमन्त्री भइसकेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्न आएका बालेनप्रति नवपुस्ताको आकर्षणले यसपटकको परिणाम प्रभावित हुने विश्लेषण गरिँदैछ । विगतको शासन प्रणाली र प्रवृत्तिका कारण असमय निर्वाचन गर्नुपर्ने बाध्यकारी परिस्थिति परिवर्तनको संकेत हुँदै हो त्यो भन्दा ठूलो कुरा झण्डै चार दशकदेखि भइरहेको भ्रष्टाचार बेथिति र विसंगतिप्रतिको असन्तुष्टि र आक्रोश पनि हो ।

थोरै बोल्ने तर अर्थपूर्ण र गहिरो भाव व्यक्त गर्ने बालेन यसकारण पनि चर्चामा रहे कि एकाएक राजधानीको महानगर प्रमुखमा अत्यधिक मतका साथ विजयी हुनु । जीवनमा कहिल्यै राजनीति नगरेको युवा स्थानीय सरकारको प्रमुखको उम्मेदवार हुनु पनि उनको साहस मान्नुपर्छ । उनको विशेषता हो थोरै बोल्ने र आधारपूर्ण शाब्दिक वाक्य बोल्ने । उनी बोल्दै–बोल्दैनन् तर बोल्दा विषयको गहिराईलाई छुन्छन् । अहिले संसदीय राजनीतिको परीक्षाको यात्रामा इटहरीमा आयोजित सभामा व्यक्त उनका भनाइ पनि छोटो तर राष्ट्रलाई नै दूरगामी प्रभाव पार्ने गरिका छन् । देश कृषि प्रधान भइकन पनि तरकारी लगायतका कृषि वस्तुको परनिर्भरताका सम्बन्धको भनाइ कटु सत्य हो ।
कृषि प्रधान देशमा पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु बजारीकरण गर्ने उचित प्रबन्ध नहुँदा तराईका बजार भारतीय उत्पादनले ढाकेको छ । यही तथ्यलाई सम्बोधन मार्फत अग्र्यानिक शब्दद्वारा व्यक्त गरेका बालेन शैली अहिले चर्चामा छ । चिया खानु भयो ? खाजा खानु भयो ? उनका प्रश्नले परम्परागत भाषण सुन्ने बानी परेका स्रोताका माझ आशाको सञ्चार गराएको हुनसक्छ । पचास प्रतशित नेपाली अझै पनि कृषि पेशामा आबद्ध छन्, तर झण्डै चौध अर्ब रुपैयाँको तरकारी भारतबाट आयात भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत वर्षको तथ्यांकले परनिर्भरता कहालीलाग्दो छ । संशोधनको प्रारम्भमै उठाएका विषयले बालेनको शैली मात्र होइन त्यसले पार्ने प्रभावका प्रतिको चिन्ताको विषय पनि हो ।
पछिल्लो समय युवाशक्तिको पलायनले नेपालको उर्वर र उत्पादनशील जमिन बाँझिने क्रम बढ्दैछ । उत्पादनले उचित मूल्य नपाउने, बजारसम्म पु¥याउने प्रबन्ध नहुने जस्ता कारणले एकातिर उत्पादन घट्दैछ भने अर्कातिर कृषि क्षेत्रलाई आवश्यक सिँचाई, मल, बीऊ तथा उपकरणको अभावका कारण परनिर्भरता बर्षेनि बढेर गएको छ । तथ्यांक अनुसार सन् २०२५–०२६ को पहिलो छ महिनामै साढे दश अर्बभन्दा बढीको तरकारी भित्र्याउनै खर्च भइसकेको सन्दर्भले पनि बालेन टिप्पणीको गहिराई मापन गर्न असहज छैन । यद्यपि अहिले पूर्वी नेपालका पहाडहरुबाट कृषि उत्पादन तराईका बजारमा आइरहेका छन्, तर आयात प्रतिस्थापन हुने अवस्था छैन । त्यसकारण पनि निर्वाचनबाट आउने सरकार यस्ता साना र महत्वपूर्ण विषयमा जिम्मेवार हुनुपर्छ जो राष्ट्रहितको पक्षमा हुन्छ ।




























