आज फागु पूर्णिमा । वैदिक सनातन धर्मका अनुयायीहरु खासगरी भारत र नेपालमा प्रत्येक वर्षको फागुन महिनाको शुक्ल पक्षको पूर्णिमाका दिन एकापसमा रंग दलेर होली पर्व मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्म अनुसार फागु पूर्णिमालाई बसन्तोत्सव पर्व पनि भनिन्छ । यो पर्व असत्य माथि सत्यको र अधर्म माथि धर्मको विजयको प्रतीकका रुपमा रंगहरु साटासाट गरेर मनाउने गरिन्छ । फागु पूर्णिमा त्रेतायुगदेखि नै रंगको पर्वका रुपमा मनाउने गरिएको किंवदन्ती छ । जाडो सकिएर बसन्त ऋतुको आगमन भएको संकेत दिने यस दिनले प्रकृतिमा नयाँ जीवन र रंग भित्र्याउँछ । भन्ने मान्यता छ ।

सत्यको विजयको प्रतीकका रुपमा लिइने फागु पूर्णिमा भक्त प्रह्लाद र उनकी फुपू होलिकाको कथासँग पनि जोडिएको छ । प्रह्लाद भगवान विष्णुका भक्त थिए जसलाई मार्न होलिकालाई प्रयोग गरिएको धार्मिक कथा छ । जस अनुसार आगोले समेत नजल्ने वरदान पाएको होलिकाले बालक प्रह्लादलाई काखमा राखेर अग्नि दाह गर्न खोजेकी थिइन् । त्यसक्रममा भगवानका भक्त प्रह्लाद सकुशल रहेको तर अधर्मको बाटो हिँडेकी होलिकाको भने मृत्यु भयो । त्यही खुशीयालीमा एकापसमा रंग साटासाट गर्ने विजय उत्सव मनाउने परम्परा छ ।
विविधताभित्रको एकता नेपाली समाजको विशिष्टता हो । मिथिला संस्कृतिका रुपमा रहेको फागु पूर्णिमा अथवा होली अहिले हिमाल, पहाड र तराईको साझा पर्व जस्तै बनिएको छ । बहुसांस्कृतिक, बहुधार्मिक परम्परा रहेको नेपालमा त्यस्ता अनेक पर्वहरु छन् जो सबैले समान रुपमा स्वीकार गरेका छन् । हाम्रा प्रत्येक जात्रा, उत्सव र पर्वहरुको आ–आफ्ना महत्व छन् । यस्ता बहुल संस्कृतिभित्रको एकता, हार्दिकता र सद्भावले मित्रता, बन्धुत्व र प्रेमको सन्देश दिएका छन् । तिनै पूर्व मध्येको एउटा प्रमुख पर्व हो फागु पूर्णिमा जसलाई कतै बसन्तोत्सव त कतै होली वा फगुवा भन्ने गरिन्छ ।
पौराणिक आख्यानहरुमा वर्णित फरक–फरक प्रसंगको सार धर्म, सत्य, न्याय र प्रेमको अनुशरण हो । हिरण्यकश्यपको क्रुरता, अत्याचारबाट दुनियालाई मुक्त गर्न उनकै छोरा प्रह्लाद नै कारक बनिएको प्रसंगले पनि हामीलाई दृष्टता, निरंकुशता र राक्षसी प्रवृत्ति त्यज्य हुन्छ भन्ने सन्देश दिएको छ । त्यही प्रवृत्तिको अन्त्य भएको खुशीयाली साटासाट गर्न शुरु भएको पर्व हिन्दू धर्मको साझा पर्व बनिएको हो । यसबेला यसको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वबाट बेखबर युवा पुस्ताका लागि होली केबल मनोरञ्जनको दिन मात्र भएको छ । त्यस्तोमा यस पटक आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक रुपमा होली नमनाउन आग्रह गरेको छ । त्यसकारण पनि होली व्यवस्थित, मर्यादित र सभ्य भएर मनाउन सबै सजग हुनुपर्छ ।


























