विराटनगर।

मोरङ र सुनसरीको बिभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित फार्मेसी सञ्चालिका र गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकबाट मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई सञ्चालन गर्दै आएको शिवमहिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह पीआईटी र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा दुई हजार नौ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै मोरङको बिराटनगर–३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय सवराटनगरले जनाएको छ ।





























