‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान’ मरणोपरान्त खालिङलाई

0
5

झापा, भारतको दार्जिलिङमा जन्मिएर नेपाललाई कर्मभूमि बनाएका प्रख्यात साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान मरणोपरान्त प्रदान गरिएको छ ।
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक समारोहका बीच एक लाख एघार हजार एक सय एघार रुपैयाँ राशिको उक्त सम्मान शनिबार बिर्तामोडमा खालिङकी बहिनी नवामी खालिङसहित परिवारलाई हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी तथा प्रमुख अतिथि राजेश खड्काले सम्मान प्रदान गरेका थिए ।
दार्जिलिङमा जन्मिएका खालिङले आफ्नो जीवनको अधिकांश समय नेपालमै बिताउँदै नेपाली भाषा, साहित्य र शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उनी मूलतः साहित्यकार भए पनि अनुवाद, शिक्षा र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए ।
खालिङको वास्तविक नाम डानियल खालिङ हो। युवावस्थामा उनले नेपालका प्रजातान्त्रिक आन्दोलनका नेता बीपी कोइरालासँग दार्जिलिङमा भेट गरेपछि राजनीतिक तथा सामाजिक आन्दोलनबाट प्रभावित भएका थिए । त्यसपछि उनले पढाइ छाडेर २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै बन्दुक बोकेर नेपाल प्रवेश गरेका थिए । इलामको पशुपतिनगर नाकाबाट नेपाल छिरेर उनले सशस्त्र आन्दोलनमा भाग लिएको उल्लेख पाइन्छ ।
२००७ सालको आन्दोलन सफल भएपछि भने उनले राजनीतिक सक्रियता त्यागेर साहित्य र शिक्षाको क्षेत्रमा आफूलाई समर्पित गरेका थिए । भाषा शास्त्री महानन्द सापकोटासँगको संगतले उनलाई लेखन तथा शिक्षण क्षेत्रमा सक्रिय बनाएको थियो । उनले झापाका विभिन्न विद्यालय अध्यापन गराएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहिसकेका खालिङ नेपाली साहित्यमा अनुवादकका रूपमा पनि परिचित थिए । उनले नेपाली कविका विभिन्न कृतिहरू अंग्रेजीमा अनुवाद गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पु¥याउन महत्वपूर्ण योगदान दिएका थिए । जीवनको उत्तरार्धमा दार्जिलिङमै बसोबास गर्दै आएका खालिङको निधनपछि त्यहाँको सिंहमारी क्षेत्रमा अन्त्येष्टि गरिएको थियो ।
प्रतिष्ठानका अनुसार समाज रूपान्तरण, भाषा–साहित्य संरक्षण तथा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान खालिङलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष वस्नेतले बताए ।
भारतीय साहित्यकार ज्ञानेन्द्र खतिवडाले स्व. खालिङलाई स्मरण गर्दै नेपाली भाषा र साहित्यको सम्वृद्धिका लागि दार्जिलिङको योगदानको चर्चा गरेका थिए ।
प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने खालिङको व्यक्तित्वबारे अग्रज पत्रकार चन्द्र भण्डारीले चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।
यसैबीच स्व. खालिङलाई लिटल फ्लावर इंलिस स्कूलका तर्फबाट विद्यालयका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले एक लाख रुपैयाँ प्रदान गरेका थिए ।
त्यस्तै टावर टेम्पल स्कूलले २५ हजार रुपैयाँ सहित सम्मान गरेको थियो भने झापाका अन्य विभिन्न संघ संस्थाले समेत खालिङको योगदानको स्मरण र चर्चा गर्दै सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here