अरुण–जरायोटार खानेपानी आयोजना : सम्पन्न नहुँदा स्थानीयबासी चिन्तित

0
2
भोजपुर, 
अरुण नदीबाट पानी तानेर (लिफ्टिङ) वस्तीमा वितरण गर्ने लक्ष्यले सुरुआत भएको ‘अरुण–जरायोटार लिफ्टिङ’ खानेपानी आयोजनाको निर्माणकार्य सुस्त बन्दा स्थानीय चिन्तित बनेका छन् ।
आर्थिक वर्ष २०७६/७७ बाट थालिएको भएको आयोजना हालसम्म पूर्णता पाउन नसक्दा लक्षित बस्तीमा चिन्ता बढ्दै गएको हो ।
सदरमुकामबाट पूर्वतर्फ पर्ने अरुण गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गर्दै आयोजना सुरु गरिएको हो । अरुण ६ जरायोटार र अरुण ७ सिक्रेटारका ७३३ परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित योजना अघि बढाइएको थियो । खानेपानी आयोजनाको काममा ढिलाइ हुँदा स्थानीयबासी समस्यामा रहेको अरुण–६  का वडाध्यक्ष गणेश राईले बताउनुभयो ।
निर्माण उपभोक्ता समितिका अनुसार करिब रु १९ करोड लागत अनुमान गरिएको यो आयोजना क्रमागत योजनाका रूपमा सञ्चालन भइरहेको छ । न्यून बजेट विनियोजन हुँदा काममा ढिलाइ भएको निर्माण उपभोक्ता समितिको भनाइ छ । हाल मुख्य लाइनमा पाइप बिछ्याउने र मुख्य ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अन्य संरचना निर्माण र वितरण प्रणाली विस्तारमा भने पर्याप्त बजेट नआउँदा प्रगति सुस्त छ ।
उपभोक्ता समितिका अध्यक्ष सविनकुमार राईले पर्याप्त बजेट अभावकै कारण कामलाई गति दिन नसकिएको बताउनुभयो । “न्यून बजेट विनियोजन हुँदा निर्माणले अपेक्षित गति लिन सकेको छैन,” उहाँले भन्नुभयो, “यही अवस्था रहे आयोजना अलपत्र पर्ने चिन्ता बढेको छ । पर्याप्त बजेट उपलब्ध भए काम सम्पन्न गर्न कुनै समस्या हुँदैन ।”
स्थानीय कलाकुमारी भुजेलका अनुसार सुख्खाग्रस्त क्षेत्र भएकाले यहाँका बासिन्दाले पिउने पानीको जोहो गर्न निकै सास्ती खेप्नुपरेको छ । “योजना सुरु हुँदा हामी निकै उत्साहित थियौँ,” उहाँले भन्नुभयो, “तर यति लामो समयसम्म बस्तीमा पानी नआउँदा आशा मर्दै गएको छ । पानीको समस्या समाधान भए दैनिक जीवन निकै सहज हुने थियो ।”
लक्षित समुदायको आधारभूत आवश्यकतासँग जोडिएको यस आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन र प्रभावकारी समन्वय आवश्यक रहेका स्थानीय जानकारको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here