टक्सार (भोजपुर),

भोजपुरमा पनि आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका सप्ताह सुरु भएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउँदै आएको छ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लमा पनि सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो । डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धिका लागि जिल्लामा डिभिजन वन कार्यालयसँगै वन पैदावार औद्योगिक व्यवसायी सङ्घ भोजपुर, सामुदायिक वन उपभोत्ता महासङ्घ, भोजपुर र दिव्या रोजिन एण्ड टर्पेन्टाइन प्रालि, मोरङ सक्रिय देखिएको छ ।
सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदायस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन हुनेछन् ।
नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख मियाँले बताउनुभयो ।





























