शनिश्चरे फुटबल क्लबले ग्रास रुट फुटबल ट्रेनिङ सञ्चालन गर्ने

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे फुटबल क्लबले ८ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरि ग्रासरुट फुटबल ट्रेनिङ सञ्चालन गर्ने भएको छ ।

गत माघ ११ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको झापा जिल्ला अन्तरपालिका यू–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२ को आर्थिक प्रतिवेदन सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त ट्रेनिङ सञ्चालन गर्ने क्लबका सल्लाहकार एवम् प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा सञ्चालन हुने ट्रेनिङको अवधि तीन महिना हुनेछ । पालिकाभित्रका इच्छुक बालबालिका सहभागी हुन सक्ने उक्त ट्रेनिङका सहभागीहरुसँग न्यूनतम शुल्क लिने बताइएको छ ।

विगत तीन वर्षदेखि वडास्तरिय हुँदै जिल्लास्तरिय अन्तर पालिका यू–१८ नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको क्लबले प्रतियोगिताबाट छनौट भएका अर्जुनधारा नगरपालिकाका खेलाडीहरुको लागि निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी क्लबले फुटबल खेल र खेलाडीहरुको वृत्तिविकासका लागि स्थापना गरेको अक्षयकोषमा यस वर्षको बचतबाट एक लाख रुपैयाँ जम्मा गर्ने बताइएको छ । यस अघि उक्त कोषमा एक लाख ५५ हजार रुपैयाँ रहेको क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।

त्यस्तै समाजमा समस्याकोरुपमा देखिएको लागुऔषध न्यूनिकरण गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुसँग हातेमालो गरी विभिन्न किसिमका कार्यक्रमको आयोजनासँगै त्यस किसिमको कार्यक्रममा सहभागी हुने क्लबको लक्ष्य रहेको छ । “लागुऔषधमुक्त समाज निर्माणसँगै बालबालिकाहरुलाई लागूऔषधबाट टाढा राख्न पनि खेलकुद आवश्यक रहेको छ” – सल्लाहकार तिलिङले स्पष्ट पारे ।

क्लबका सल्लाहकार एवम् प्रतियोगिताका संयोजक तिलिङको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संयोजक तिलिङले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार जम्मा आय १५ लाख ८२ हजार दुई सय ३४ रुपैयाँ, जम्मा व्यय १० लाख ७७ हजार नौ सय १० रुपैयाँ र जम्मा बचत पाँच लाख चार हजार तीन सय २४ रुपैयाँ रहेको छ ।

कार्यक्रममा अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष मिलन बस्नेतलगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here