इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतभित्र चरम यातना : पक्राउ पुर्जी बिना अग्रवाललाई हिरासतमा राखिएको खुलासा

0
77

झापा, बिर्तामोडका एक व्यवसायी युवालाई पक्राउ गरी प्रहरी हिरासतभित्र चरम यातना दिएको घटना बाहिरिएको छ ।
बिर्तामोड नगरपालिका–५ निवासी कृष्ण अग्रवाललाई हिरासतमा चरम यातना दिइएको पीडितले सञ्चारकर्मी र प्रहरी अधिकृतसमक्ष बताएका छन् ।

अदालतमा बिचाराधीन मुद्दाका साक्षी बसेका उनलाई प्रहरीले बिना पुर्जी पक्राउ गरी हिरासतमा राखेर यातना दिएको दावी गरिएको छ ।


अग्रवाललाई इलाका प्रहरी कार्यालय अनारमनीले शनिबार नियन्त्रणमा लिएको थियो । झापा जिल्ला अदालतमा दर्ता भएको ‘झुट्टा प्रमाण एवम् परिस्थिति निर्माण’ सम्बन्धी मुद्दामा अग्रवाल साक्षीका रूपमा रहेका थिए । उक्त मुद्दा बुद्धशान्ति–२का प्रज्ज्वल कार्कीले कनकाई नगरपालिका–२ सुरुङ्गाका निर्मल श्रेष्ठबिरुद्ध दायर गरेका थिए ।

शनिबार बिर्तामोडस्थित अतिथि सदनमा श्रेष्ठ पक्षका केही व्यक्तिले अग्रवाललाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गरेका थिए । कार्कीको पक्षमा किन साक्षी बसेको भन्दै केरकार गर्दै उनलाई नियन्त्रणमा राखिएको र त्यसपछि प्रहरीको जिम्मा लगाइएको बताइएको छ । अग्रवालमाथि दुव्र्यवहार गरिएको भिडियोसमेत रेकर्ड भएको दाबी गरिएको छ । तर, घटनाबारे अनुसन्धान नगरी प्रहरीले प्रभावमा परेर अग्रवाललाई नै बिना पक्राउ पूर्जी हिरासतमा राखेको आरोप लागेको हो ।

उक्त विवादको जडमा बिदेश पठाउने नाममा भएको ठगी प्रकरण रहेको बताइन्छ । बिर्तामोड घर भई दुबईमा बस्दै आएका प्रकाश संग्रौला र सुरुङ्गाका निर्मल श्रेष्ठले युरोपेली मुलुक क्रोएशिया पठाइदिने भन्दै धेरै बिद्यार्थीबाट तीन करोड रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ ।

पीडितका अनुसार संग्रौलाले बिद्यार्थीहरूलाई आफ्ना साथीभाइका बैंक खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि नगद निकालेर श्रेष्ठमार्फत बुझ्ने व्यवस्था मिलाइएको थियो । दुबईमा रहेका संग्रौलासम्म रकम पुगेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ ।

संग्रौला सम्पर्कमा नआएपछि श्रेष्ठले रकम जम्मा भएका बैंक खाताका व्यक्तिहरूलाई नै मुद्दा हाल्ने धम्की दिएको आरोप पनि लागेको छ । यही सन्दर्भमा कार्कीले श्रेष्ठबिरुद्ध झापा जिल्ला अदालतमा झुट्टा प्रमाण तथा परिस्थिति निर्माण गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

यसअघि पीडितहरूले श्रेष्ठबिरुद्ध ठगीको उजुरी प्रहरीमा दिएका थिए । सोही आधारमा उनीबिरुद्ध ठगी मुद्दा चलेको थियो । प्रहरी हिरासतमा रहेका श्रेष्ठपछि मिलापत्रका माध्यमबाट छुटेका थिए । बिद्यार्थीलाई क्रोएशिया पठाउने नाममा ठगी गरेको आरोप लागेका व्यक्तिको प्रभावमा परेर मुद्दाका साक्षीलाई पक्राउ गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

पक्राउ पुर्जी बिना कसैलाई हिरासतमा राख्नु गैरकानूनी हुने अधिवक्ता तारामणि सापकोटाले बताएका छन् । कानूनी प्रक्रिया पूरा नगरी व्यक्तिलाई थुनामा राख्नु विधिसम्मत हुँदैन– अधिवक्ता सापकोटाले भने ।

पक्राउ परेका अग्रवाल दैनिक तारिकमा आइतवार साँझ छुटेको बताइएको छ । प्रहरी हिरासतमा रहँदा आफूमाथि कुटपिट भएको उनको भनाइ छ । हिरासतमा भएका व्यक्तिले आफूलाई कुटपिट गरेको अग्रवालले प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठलाई जानकारी गराएपछि हिरासत कक्षमा रहेको सीसीटीभी फुटेज हेरिएको र उनलाई छुट्टै कक्षमा राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here