मध्यपूर्वमा चर्किएको युद्धका कारण नेपाली भान्सा प्रभावित हुन थालेको छ । नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आएको भए पनि उपभोक्ताले ग्यास लिनकै लागि सरकारलाई गुहार्नुपर्ने अवस्था छ । देशमा ग्यासको अभाव देखिएपछि निगमले पनि आधा सिलिण्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको छ । निगमले ग्यासको आपूर्ति नियमित भइरहे पनि मध्यपूर्वको तनावका कारण भारतमै प्रतिमहिना एउटा सिलिण्डर मात्रै ग्यास दिने निर्णय गरेको थियो । भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभाव बढ्न थालेपछि त्यसको असर नेपालमा पनि पर्न थालेको हो ।

ग्यासको अभाव हुनुमा उपभोक्ताको प्रवृत्ति पनि जिम्मेवार छ । जब–जब बजार अभावको हल्ला चल्छ, तब–तब उपभोक्ता पनि आवश्यकभन्दा बढी मौज्दात राख्न खोज्छन् । त्यसले नियमित वितरण प्रभावित हुन्छ, जो जुनसुकै उपभोग्य वस्तुमा देखिने गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पनि उपभोक्ताले आवश्यकताभन्दा बढी थुपार्नु खोजेपछि आधा सिलिण्डर ग्यास तिवरण गर्ने निर्णय गरिएको बताए । ग्यास अभावको बजार हल्लाले कृत्रिम अभाव देखिएको हुनसक्छ । त्यहीकारण पनि ग्यास उद्योगबाटै नियमितभन्दा आधा सिलिण्डर ग्यास मात्रै बिक्री डिपोमा पठाउने छन् । तर, यत्तिले मात्र उपभोक्ताको समस्या हट्दैन । किनकि मध्यपूर्वको युद्धले पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रुपमै असर परिरहेको छ ।
देशमा उत्पादन हुने वस्तुमै आत्मनिर्भर हुन नसकेको सन्दर्भमा इन्धन अभावको समस्या सामान्य होइन । एलपी ग्यास निगमले भारतको इन्डियन आयल कर्पोरेशनसँग किनेर ल्याउने गरेको छ । सम्पूर्ण रुपमै भारतमा निर्भर ग्यासको आपूर्ति भारतमै प्रभावित भएपछि त्यसबाट नेपालीको भान्सा अप्रभावित हुन सक्दैन । अहिले नै मागभन्दा निक्कै कम ग्यास आयात भइरहेको अवस्थामा ग्यासको विकल्पको खोजी गर्न जरुरी छ । त्यसो त अब परम्परागत इन्धन दाउराको प्रयोग गर्ने अवस्था छैन । नेपालीको जीवनमा ग्यास सिलिन्डर जोडिइसकेको छ । यस्तोमा वैश्विक समस्याका रुपमा देखिएको अभावबाट मुक्ति पाउन विद्युतीय चुलो प्रयोग गर्नुको विकल्प छैन । यस्तोमा विद्युत आपूर्ति सरल र सहज भएका उपभोक्ताले इन्डक्सन चुलो प्रयोग गरेर ग्यासको आपूर्ति र वितरण सहज बनाउन सकिन्छ । त्यसैले सरकार र निगमले शहर बजारमा इन्डक्सन चुलो प्रयोग गर्ने विशेष व्यवस्था गर्नुपर्छ । अन्यथा युद्धका कारण उत्पन्न समस्या युद्ध बिराम नहुँदासम्म समाधान हुँदैन ।


























