‘मनिषी’ डेनियल दान खालिङ

0
1

‘जब तुम आए जगतमें, जगत हँसे तुम रोए
ऐसा कर्म कर चलो, तुम हँसो जग रोए’
– महावाणी

सन्तान प्राप्तिको खुशियालीमा सम्पूर्ण परिवार हाँस्दछन्, नाच्दछन् अनि उत्सव मनाउँछन् । एक नयाँ सदस्यको आगमनमा ईष्टमित्रसहित खुशी हुन्छन् । यो परम्परा सारा विश्वभरि नै चलिरहने प्रक्रिया हो । बच्चा जब जन्मिन्छ, रुँदै–कराउँदै जन्मिन्छ । गर्भावस्थामा रहँदाको पीडाले भरिएको जीवनबाट छुटकारा पाउन तड्पिन्छ । तर उसका परिवार भने खुशी मनाइरहेका हुन्छन् । तिमी जन्मदा खुब रोयौ, तर जगत भने खुब हाँस्यो । जन्मेर आएपछि यस्तो कर्म गर कि मरेर जाँदा तिमी हाँस्दै जाऊ अनि तिम्रो कर्म देखेर जगत रोओस् । तिम्रो मृत्युबाट जगतमा एउटा अपूरणीय क्षतिको आभाष होस् । एक जना असल व्यक्तिको कृतिशेषमा सम्पूर्ण जगत छट्पटाओस्, जगतलाई अभाव महशुस होस् ।

उपर्युक्त कोटेशन (दोहा)को शाब्दिक अर्थ यही हो । संसारमा विरलै त्यस्ता व्यक्तिहरु जन्मिन्छन्, जसले समाजलाई केही दिएर जान्छन् । तर, त्यस्ता व्यक्तिहरु यस संसारबाट सधैँका लागि अग्रगमन भइसकेपछि मात्र समाजले उसले दिएर गएको गुणको महत्व बुझ्दछ । अनि समाज पछुताउँछ, छटपटाउँछ । जिउँदो हुँदा उसको लागि केही गर्न सकिएन । उसले महान कार्य गरेर गयो, तर त्यतिबेला थाहा भएन अथवा थाहा गरिएन । जब उसका पछि ऊसका कृतिहरु बारे विस्तृत जानकारी भयो, त्यतिबेला मात्र ऊ प्रतिको भावना जागृत भयो । उसको स्मरण गर्ने, उसलाई उच्च सम्मान गर्ने, यस्ता प्रकारका कार्यक्रमहरु तर्जुमा भए ।

सन्दर्भ मूर्धन्य विद्वान डेनियल खालिङ (दान खालिङ) सरको हो । उहाँले देश र समाजलाई लगाएर जानुभएको गुण देश र समाजले भुक्तान गर्न सक्दैन । आज उहाँलाई सम्झँदै गर्दा मात्र उहाँले लगाउनुभएको गुणबारे जानकारी भएको छ । विषय टड्कारो र गम्य छ । एक विद्वान व्यक्तिले आफ्नो जीवनलाई समाजको उत्थानका लागि समर्पण गरेर गयो, व्यक्तिगत रुपमा निस्वार्थ हुँदै संसारको बन्धनबाट रहित भएर, निष्काम कर्मयोगी बनेर, भावी समाजलाई शिक्षा र ज्ञान दिएर, निर्मल सन्त बनेर जान सक्यो । समाजले उसले लगाएको ऋृण कदापि तिर्न सक्दैन । तथापि समाज उक्त व्यक्तिका लागि केही गर्न भने चाहन्छ । कुनै कार्यक्रमको माध्यमबाट समाजमा उसले लगाएको गुणबारे उसको प्रसंशा गर्न चाहन्छ । यही कुराको मनन गरेर, यस्तो व्यक्तिको उच्च कदर हुनुपर्छ भन्ने विषयलाई लिएर गत फागुन ३० गते उहाँको स्मरण गर्दै साहित्यकार, पत्रकार, विद्वत वर्ग, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु तथा ठूलो संख्यामा उपस्थित विद्यार्थीहरुको माझमा नेपाल प्रतिभा पुरस्कार प्रोत्साहन प्रतिष्ठान बिर्तामोडले एक भव्य कार्यक्रमको आयोजन ग¥यो । जसमा उहाँका परिवारजनलाई निमन्त्रणा गरेर पुरस्कृत तथा सम्मान ग¥यो । दिवङ्गत दान खालिङ सरको सम्झनामा उहाँको स्मृतिमा सम्पन्न गरिएको उक्त कार्यक्रमले समाजलाई एउटा राम्रो सन्देश दिएको छ ।

यस्ता वैचारिक तथा बौद्धिक देन दिएर जाने व्यक्तिहरूको चर्चा गर्ने, उहाँहरूको नजिक रहेर लामो समयसम्म वैचारिक लाभ लिनेहरुबाट यथार्थ कुराहरू सुनेर वा पढेर पनि दिवङ्गत व्यक्तित्वको सम्मान गर्न सकिन्छ । यही अभिप्रायले बिर्तामोड निवासी समाजसेवी गोपालकुमार बस्नेत लगायत उहाँको परिवारजनले उक्त भव्य कार्यक्रमको आयोजन गर्नुभएको हो । एक सम्मानित व्यक्तित्वको जिवित कालमै, जिवित रहँदै केही गर्न अनुकूल नपरेको अवस्था हुँदा देहावसान पश्चात सम्पन्न गरिएको कार्यक्रमले पनि ठूलो सार्थकता पाएको छ । उक्त भव्य कार्यक्रममा उपस्थित दिग्गज व्यक्तित्वहरुले खालिङ सरको बारेमा आफ्ना विचारहरु राख्दै गर्दा र ती विचारहरु सुन्दै गर्दा मलाइ भने उहाँ यतैकतै भौतिक रुपमै उपस्थित हुनुहुन्छ कि भन्ने भान भइरह्यो ।

ई.सं. १९६९÷७० ताका बंगालको शिलगढी शहरमा विद्यार्थी जीवन बिताउँदै गर्दा मैले पनि उहाँको संगत गर्ने मौका पाएको थिएँ । मेरो अध्ययन शिलगढी कलेज अफ कमर्समा भइरहँदा उहाँसँग पहिलो भेट स्थानीय निवासी साहित्यकार मीमलाल सापकोटाको घरमा भएको हो । उहाँ धेरै ठूलो विद्वान हुनुहुन्छ भनेर परिचय गराइयो । मैले सुने–बुझे अनुसार उहाँ दार्जिलिङ निवासी हुनुहुन्थ्यो । बाल्यकालदेखि नै तिक्ष्ण बुद्धि भएको, तेजस्वी तथा अब्बल व्यक्तित्वको धनी हुनुहुन्थ्यो । अध्ययन पूरा गरेपछि राजनीतिमा होमिने विचारले बन्दुक बोकेर पशुपतिनगर तिरबाट नेपाल पस्नु भएको रहेछ । पछि राजनीतिभन्दा शिक्षा, भाषा र साहित्यलाई बन्दुकभन्दा उच्च ठानेर त्यसैलाई पूर्णरुपमा अँगालेको खालिङ सरले आफ्नो कर्मथलो काठमाडौंलाई बनाउनु भएछ । ठूलो संयम र मेहनतबाट आफूलाई सामाजिक बनाउँदै लैजाने क्रममा कालान्तरमा आएर उहाँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यसम्म बन्न सफल हुनुभएछ ।

नेपालको पहिलो बोर्डिङ स्कूल फर्पिङमा केही वर्ष अध्यापन गराएपछि उहाँ त्यही स्कूलको प्रिन्सिपल बन्नु भएछ । तत्काल राजपरिवारका सदस्यहरू पनि त्यहाँ अध्ययन गर्दारहेछन् । पूरै राजपरिवार मासिक वा वार्षिक रुपमा त्यस स्कूलको भ्रमण गर्दा रहेछन् । यही क्रममा तात्कालिन राजा महेन्द्रले उहाँको ज्ञान तथा क्षमता देखेर उहाँप्रति आकर्षित हुँदा आफ्नो आन्तरिक सल्लाहकार जस्तो गरिमामय पदमा सरलाई लिएको थाहा लाग्छ । सल्लाहकै क्रममा राजनीतिक बहस हँुदै गर्दा सरले बहुदलीय प्रजातान्त्रिक समाजवादको व्याख्या गर्नुभएछ । नेपाली कांग्रेसलाई कू गरेर भर्खरै निर्दलीय पञ्चायती शासन ल्याएका राजालाई सरको सुझाव ठिक नलागेको हुन सक्छ । राजा निर्दलीय पञ्चायती व्यवस्थाको पक्षपाती थिए भने खालिङ सरले राख्नुभएको प्रस्ताव बहुदलीय प्रजातन्त्रको थियो । आफ्नो अडान कायम राख्दै उहाँले बहुदलकै जिरह गरेपछि राजाको र उहाँको मतभेद भएको कुरा सङ्केतको रुपमा मैले बुझेको हूँ । मनमा निराश बोकेका खालिङ सरले जबसम्म नेपालमा बहुदलीय प्रजातन्त्र आउँदैन तबसम्म नेपाल फर्कने छुइन भनेर दार्जिलिङ गएको कुरा अस्पष्ट रुपमा मैले सुनेको हुँ ।

त्यसताका शिलीुडी कलेज अफ कमर्समा मेरो पढाइ जोडतोडले चलिरहेको थियो । रात्रि कलेज भएको हुँदा दिनभरीको मेरो फुर्सदलाई मैले तह लगाउनु थियो । विद्युतको तालिम सक्दै गर्दा औषधि बिक्री व्यवसाय पट्टि पनि मेरो ध्यान जाँदै थियो । त्यहिताका भारतमा नेपाली साहित्यको प्रचार–प्रसारका लागि शिलगढीमा एक कार्यसमिति गठन भएको थियो । साहित्यकार मीमलाल सापकोटा, साहित्यकार युवराज काफ्लेका साथ अरु साहित्य प्रेमीहरुको जमघटबाट शिलगढीको दार्जिलिङ मोडको बाटो छेउमा एउटा पसल रुपको कार्यालय स्थापना गरियो । शुरु–शुरुमा हामीले त्यही कार्यालयबाट पालैपालो पत्रिका बेच्न शुरु ग¥यौँ । साहित्यकार मीमलाल सापकोटाका बाबा बयोबृद्ध बिष्णुनारायण सापकोटा समेत हामीसँग सामेल हुनुहुन्थ्यो । उमेरले बृद्ध तर हौसला बुलन्द भएका बाबाले हामी सबैलाई तह लगाउनु हुन्थ्यो । यो टिमले उक्त संस्थालाई अघि बढ्न सहयोग पु¥यायो । पठनपाठन लगायत अन्य क्रियाकलाप अन्तरगत परीक्षा बोर्ड गठन गरेर सञ्चालनमा ल्याइएको कार्यक्रमबाट धेरै विद्यार्थीहरु लाभान्वित भएका थिए । उक्त कार्यक्रममा परिक्षा वोर्डका को–अर्डिनेटर पद नन्दलाल सापकोटाले सम्हालेका थिए । तत्काल भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले दशभरी लगाएको ईमरजेन्सीमा हाम्रो पसल पनि रोड छेउबाट हटाइयो र अफिस मीमलाल सापकोटाको घरमा सारियो ।

मलाई लाग्छ, त्यही समयमा एक योग्य तथा अनुभवी व्यक्तिको रुपमा खालिङ सर समितिको आग्रहमा शिलगढी भएको हो । गुरुङ बस्ती र प्रधान नगर छिर्ने बाटैमा एउटा एक तले पक्की घर थियो । त्यो घरमा ‘थापा क्लिनिक’ भन्ने साइन बोर्ड लागेको थियो । कारणबस थापा क्लिनिक बन्द भएपछि त्यही घरमा नेपाली साहित्य प्रचार समितिले एउटा नेपाली प्रिन्टिङ्ग प्रेस सञ्चालनमा ल्याएको हो । ‘सुमेरु प्रेस शिलगढी’ नामकरण गरिएको उक्त प्रेसको सम्पूर्ण जिम्मा समितिले बहू आयामिक खालिङ सरलाई सुम्पियो। खालिङ सर आफै कम्पोजर, आफै अपरेटर, आफै बुक बाइण्डर भएर काम गरेको मैले आफ्नै आँखाले देखेको हुँ । भनिएको थियो– खालिङ सर निकै कडा स्वभावका हुनुहुन्छ । उहाँ कुनै त्रुटि चाहनुहुन्न । नो एस्क्युज, नो आरग्युमेन्ट । काम सफा हुनुपर्छ र टाइममा हुनुपर्छ । उहाँको आग्रहमा प्रेसमा सहयोगीको रुपमा मीमलाल सापकोटाको साँहिलो भाइ भीमलाल सापकोटा नियुक्त भए । भीमलाल खालिङ सरदेखि निक्कै डराउँथे । मैले नबिराउनु, नडराउनु भन्ने उक्ति उनलाई सुनाइदिएको थिएँ । उनी मैले सुनाएको उक्तिको भरोसामा सरलाई सहयोग गर्दै थिए ।

विवाहको कार्ड छपाउन म प्रेसमा पुग्दा सर भित्रि कोठामा हुनुहुथ्यो । सायद कुनै काम गर्दै हुनुहुथ्यो । बाहिर पट्टि भीम बसिरहेका थिए । सरले बोलाई हाल्नुहुन्छ कि भनेर सजग देखिन्थे । मैले उनलाई इसाराबाट केही सोधेँ, उनले पनि इसाराबाटै केही उत्तर दिए । यतिकैमा भित्रबाट सरको आवाज आयो । ‘ए भीम ! उ त्यो ल्याउ त ।’ हडबडमा उनले पनि ‘हस् सर’ भनिहाले । अब उनलाई फसाद प¥यो । के लिएर जाने ? उनले म तिर टाउको घुमाए । अनुहारमा प्रश्न वाचक चिन्ह थियो । मैले उनलाई भित्र चिहाउन भने । भित्र सर पेपर फोल्ड गर्दै हुनुहुँदोरहेछ । मैले उनलाई नाइफ (चक्कु) लगिदिन भने । उनले डराउँदै–डराउँदै नाइफ पु¥याए । भगवानले रक्षा गरे सरलाई नाइफ नै चाहिएको रहेछ ।

कलेजका केही नेपाली भाषी साथीहरु सँगको सल्लाहमा शिलगुडी कलेज अफ कमर्सका विद्यार्थीहरुका लागि परिचय–पत्र (आईडी कार्ड)को व्यवस्था मिलाउन तत्काल कलेजका प्रिन्सिपल हरेन घोषको अफिसमा हामी पुग्यौँ । रात्रि कलेज भएको हुँदा कलेजका विद्यार्थीहरुलाई आइडी अनिवार्य भएको थियो । उहाँ बङ्गाली भएता पनि नेपालीहरू प्रति सद्भाव राख्ने, नेपाली कविताहरु सम्म लेख्ने व्यक्ति हुनुहुँदोरहेछ । हाम्रो कुरालाई सहर्ष स्वीकार गर्दै काम अघि बढाउन उहाँले आदेश दिनुभयो । कार्ड छपाइका लागि हामी सरको प्रेसमा पुग्यौँ । यो कामको प्रमुख भूमिकामा नन्दलाल सापकोटा, बसन्त दाहाल, गोपीकृष्ण प्रसाईं, युवराज घिमिरे, शान्तिराम निरौला र म स्वयम् लगायत अन्य केही विद्यार्थी साथीहरु थियौं । प्रेस पुगेर मैले नै भित्र पस्न सरसँग परमिसन मागेँ । ‘मे आई कम इन सर !’ भित्रबाट सरको चर्को आवाज आयो । ‘नो, डु नट् कम ईन् ।’ धुलाबारीबाट यहाँसम्म आउन कसैको परमिसन चाहिएन, यहाँ पस्न तिमीलाई परमिसम चाहियो ? आई एम कमिङ् सर भनेर आउन सक्दैनौ ? आऊ ।’ सरको यस्तो भर्सन सुनेर म जडवत भएँ । कति महान हृदयका धनि । मैले वहाँको कुनै पनि औपचारिक क्लास एटेण्ड नगरेको हुँदा म उहाँको विद्यार्थी हुन नसकेको रहेछु । ‘तिमी मलाई सर नभन, बरु दाई भन । तिमी लीलाप्रसाद सापकोटा सरको भाइ होइनौ ? त्यसैले मेरो पनि भाइ ।’

आईडेन्टिटी कार्ड छापिएर तयार भयो । नाम फोटाहरु टाँसेपछि त्यसमा प्रिन्सिपलको हस्ताक्षरका साथ रबर स्टाम्प लाउनुपर्ने भयो । तर कलेजको रवर स्टाम्प पुरानो भएर प्रष्ट नदेखिने रहेछ । त्यो बेला रबर स्टाम्पहरु कलकत्ताबाट झिकाउनु पर्दथ्यो । तर हाम्रो समस्या समाधान भयो । सरले यसको आईडिया लगाइ दिनुभयो । प्रिन्सिपल लेखेको लेटर प्याक कम्पोज गरेर सरले प्रेसबाटै मेटल स्टाम्प तयार गरिदिनुभयो । त्यो मेटल स्टाम्प लागेको आईडी कार्ड हालसम्म पनि मैले सुरक्षित राखेको छु । किनकि त्यसमा सरका हातका स्पर्शहरू विद्यमान छन् । समय बितिरह्यो हामी पनि समयको साथमा दौड लगाइरह्यौं । सरको प्रेसमा नेपाली साहित्य प्रचार समितिका बिभिन्न आवश्यक पत्र तथा कागजातहरू छापा मेसिनमा छापिइरहे । अन्य प्रिन्टिङ्ग सामग्रीहरू थपिँदै जाँदा हेल्पर बसेका भीमले पनि प्रेसको काम राम्ररी सिक्ने मौका पाए ।

‘सर (दाइ) नमस्कार ! हजुरको हालखबर के छ ?’ अब त म पनि सरसँग निकै हेलमेल गर्ने भइसकेको थिएँ । उहाँदेखि डर लाग्न भने छोडिसकेको थियो । मलाई लाग्यो, सरको बारेमा हामीलाई जसरी परिचय गराइएको थियो, त्यस्तो उहाँ हुनुहुन्न रहेछ । उहाँ त ममता, बात्सल्यता, दया, सदभाव, करुणा र प्रेमका सागर हुनुहुँदो रहेछ । मेरो प्रश्नको उत्तर उहाँले निकै समयपछि मात्र दिनुभयो । मलाई थाहा भएन उहाँ कुन सोचाइमा बग्दै हुनुहुन्थ्यो । उहाँको मनमा कस्ता विचारहरु तरङ्गित भइरहेका थिए । लेटर कम्पोजिङ्ले हातहरु काला मैला देखिएका थिए । वस्त्रहरू धुलाम्मे र मैला देखिँदै थिए । अनुहार लामो समयदेखि केही नखाए जस्तो देखिन्थ्यो । गालामा दाह्री झ्याप्प् बढेका थिए । मैलो भइसकेको पेन्टमा हात पुछ्दै उहाँ स्टुलबाट उठेर कुर्सीमा बस्नुभयो । चिरपरिचित मुस्कानका साथ उहाँले मलाई नै प्रश्न तेस्र्याउन भयो । नमस्कार, नमस्कार, पूरै टिम लिएर आयौ त । कहिले आयौ नेपालबाट ? नेपालको राजनीतिक चहलपहल पहल कस्तो छ ? राजा स्वभाविक मरेका हुन् कि मारिएका हुन् ? राजापछि मुलुकको अवस्था कस्तो छ ? उहाँको गहिरो प्रश्नले मेरो जीउ ढक्क फूल्यो । तुरुन्तै कुनै जवाफ सुझेन, सामान्य रुपमै बोलेँ । राजा शिकार खेल्न चितवन गएका रहेछन् । बाघ देखेर डराएछन् । मचानमै हार्ट एटेक भएछ । काठमाडौं ल्याईपु¥याउँदा बितिसकेका थिए अरे । मैले सुनेको कुरा सुनाइदिएँ । मैले थपेँ– उनको अन्त्येष्टि राजकीय सम्मानका साथ आर्यघाटमा भयो अरे । युवराज वीरेन्द्र नयाँ राजा हुने भएका छन् अरे ।

सरलाई आफू राजाको सल्लाहकार हुँदाको समयको याद आएको हुन सक्छ । मैले पुनः थपेँ– उहाँको निधनमा शोक मनाउँदै देशभरीका असंख्य पुरुष नागरिकहरूले कपाल मुण्डन गरेछन् । देशमा सन्नाटा छाएको छ सर ! मेरो रिपोर्टपछि एकछिन हामीबीच पनि सन्नाटा छायो । उहाँले पुनः सोध्नुभयो– उहाँहरु चाहिँ को हो त ? मैले मेरा कलेजका साथीहरूको परिचय गराएँ । साथीहरूमा नन्दलाल सापकोटा भने उहाँसँग पहिल्यै परिचित थिए । अब भने उहाँ सिधा भएर बस्नुभयो । अब तिमीले अघि सोधेको प्रश्नको उत्तर दिन्छु ल । एकैछिनको तन्मयता पछि उहाँ नर्मुल भइसक्नु भएको रहेछ । चप्पल खिएर कुर्कुच्चा र भुइँले किस खाँदैछ, दाह्री पनि काट्न भ्याको छुईन, बजार जाने टाइम पनि पाको छुइन, अब चप्पल अझै खिएपछि ब्लेडको जस्तो धार आउला अनि त्यसैले दाह्री खुर्किउँला भन्दैछु हौ भाइ । सरको पाल्सी कुरा सुनेर साथीहरु छक्क पर्दै थिए । कति सजिलै सर आफ्नो स्वभाविक रुपमा आउनुभयो । मैले सोचेँ विद्वानहरूको विद्वताको कदर गर्नैपर्छ । उहाँ आफ्नो अडान अनुसार नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि मात्र फर्कनुभयो ।

नेपाल फर्केपछि बिर्तामोडलाई बासस्थान बनाउनु भै त्यहाँका नाम कहलिएका स्कूलहरुमा फरक–फरक समयमा अध्यापन गराउनुभएको कुरा हामीले फागुन ३० गतेको कार्यक्रममा सुनिसकेकै छौं । पछि आएर धुलाबारी क्याम्पसको आग्रहमा पनि लामो समयसम्म अध्यापन गराउँदै बिर्तामोडबाट धुलाबारी ओहोर–दोहोर गरिरहनुभयो । क्याम्पसबाट फर्किदा धुलाबारी चोकमा रहेको मेरो घर (औषधि पसल)मा पानी पिउन निस्कनुहुन्थ्यो । आवश्यक औषधि बारे चर्चा गरिन्थ्यो । उहाँ विरामी पर्दा प्रेमप्रकाश पोखरेल ‘फलाहारी’जी र म उहाँलाई भेट्न बिर्तामोड गएका थियौँ । उहाँको अवस्था अझै नाजुक हुँदै गएपछि उहाँलाई आफ्नो घर दार्जिलिङ लगिएको रहेछ । जहाँ उहाँले जीवनको अन्तिम सास फेर्नु भयो । विधिको विधानलाई कसले पो रोक्न सक्छ र । तर मेरो मनमा भने उहाँ सदा जिवितै हुनुहुन्छ र रहिरहनु हुनेछ ।

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको बिर्तामोडमा फागुन ३० गते सम्पन्न भएको कार्यक्रममा वक्ताका रुपमा रहनुहुने पत्रकार तथा गीतकार चन्द्र भण्डारी तथा फर्पिङ् बोर्डिङ स्कूलका तत्कालका विद्यार्थी, सरको निकटतम शिष्य तथा उक्त कार्यक्रमको प्रमुख अतिथि राजेश खड्काले दिनुभएको वक्तव्यका हरफहरुलाई यी तथ्य सत्य कुराहरूले थप पुष्टि गर्न चाहेको मात्र हुँ । अन्यथा दान खालिङ सरको बारेमा जति बोले पनि जति लेखेपनि कमि नै हुनेछ । उहाँले एकदिन भद्रपुरबाट फर्किदा बसभित्र बाटाभरी मलाई धेरै गहन कुराहरू सुनाउनु भएको थियो । मैले बस भाडा दिन खोज्दा तिमी मेरो भाइ हौ, तिम्रो पैसा गोजीमा राख, भनेर भाडा आफै तिर्नु भयो । उहाँले सुनाउनु भएका कुरा त थुप्रै छन्, तर केही अंश मात्र यस लेखको अन्त्यमा राख्न चाहेँ । मैले सोचेको थिएन कि सरभित्र यति धेरै सारतत्वहरु लुकेर बसेका छन् ।

बिर्तामोडमा सम्पन्न भएको उक्त भव्य कार्यक्रममा शिलगढीबाट आउनुभएका साहित्यकार ज्ञानेन्द्र खतिवडाले राख्नुभएको प्रस्तावमा खालिङ सरको नामको अगाडि एक सम्मानित शब्द अरु थप्नुपर्ने भएको छ र त्यो शब्द हो ‘मनिषी’ । खालिङ सर आजदेखि मनिषी दानियल खालिङ् हुनुभएको छ । यो कुरालाई त्यसदिनको भव्य कार्यक्रममा उपस्थित हामी सबैले मौन समर्थन गरेका छौँ जस्तो लागेको छ । उहाँले आफ्नो जीवनको अधिकांश ऊर्जाशील समय नेपाललाई दिँदै नेपालमा बहुदलीय प्रजातन्त्र तथा नेपाली भाषा, साहित्य र शिक्षाको विकासमा ठूलो योगदान पु¥याउनु भएको यथार्थ जगजाहेर छ । अन्त्यमा यिनै शब्दपुष्पहरुले सरलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहेँ । खालिङ सरका मुखारविन्दबाट निस्किएका वाक्यका केहि अंशहरु– तनको होइन, मनको दामी हुनुपर्छ । इमानदारीको नतिजा ढिलो आउँछ, तर पक्का आउँछ अनि राम्रो आउँछ । तिमीलाई नराम्रो लागेको मान्छेको सङ्गतै नगर । तिमीले मद्यपान, धुम्रपान र मांसाहार नगरेको मलाई खुबै मन प¥यो । कुरा छोटो गर तर काम लामो गर । शिक्षा, स्वास्थ्य र स्वतन्त्रता मानव जातिको नैसर्गिक अधिकार हो । विश्वका सबै मानिसहरू हाम्रै दाजुभाइ हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here