बिर्तामोड ।

नेपाल बहुउद्देयीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले एक दिवसीय सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोड-१० स्थित संस्थाको सैनिकबजार सेवाकेन्द्र अन्तरगत एकाइ नं.२ का उपस्थित सम्पूर्ण सेयर सदस्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनिकबजार सेवाकेन्द्रगत एकाइ उपसमिति संयोजक ओमबहादुर गुरुङले अौचित्यसहित स्वागत गरेका थिए।
कार्यक्रममा संस्थाका प्रशिक्षक तथा सेवाकेन्द्रगत उपसमिति सदस्य रत्नबहादुर बस्नेतले प्रशिक्षण प्रदान गरेका थिए। उनले सहकारीको अर्थ,शेयर सदस्यको भूमिका, सदस्य बन्नु अघि तथा सदस्य बनेपछि ध्यान दिनुपर्ने कुरा, संस्थाको संरचना, सेवा सुविधालगायत विषयमा जानकारी गराएका थिए। त्यस्तै सैनिकबजार सेवाकेन्द्र कर्जा तथा सामुदायिक विभाग प्रमुख सम्झना गौतमले संस्थाको वित्तीय झलक, एनएमसीद्वारा सञ्चालित बहुव्यवसाय र तिनको वर्तमान अवस्थालगायत विषयमा सहजीकरण गरेकी थिइन्।
कार्यक्रममा संस्थाका जेष्ठ नागरिक सरोकार उपसमिति सदस्य मनु मुखियाले असल संस्कारबारे जानकारी गराउँदै सदस्य शिक्षा तालिमको अवसरलाई सक्रियातापूर्वक उपयोग गरी असल सदस्यको जिम्मेवारी पूरा गर्न तथा यसका सेवा सुविधाबाट लाभान्वित बन्न सहभागीलाई आग्रह गरेका थिइन्।
कार्यक्रममा सहभागीका तर्फबाट सदस्य टंकप्रसाद बराल र जुना श्रेष्ठले कार्यक्रमबाट संस्थाका बारेमा अत्यन्त उपयोगी जानकारी प्राप्त गर्नुको साथै एनएमसीसँग निर्धक्कभई आर्थिक कारोबार गर्न आफूहरु विश्वस्त भएको प्रतिक्रिया दिएका थिए।
शिक्षा तथा तालिम उपसमितिको आयोजनामा हल्दीबारी-२ मा सम्पन्न कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगाल,सदस्य सीतादेवी राई, सेवाकेन्द्र प्रमुख सन्तोष ढुंगाना, कर्मचारी बालकृष्ण उप्रेती, सदस्य सहजकर्ता चन्द्रबहादुर राई र निशा लिम्बूलगायतको उपस्थिति रहेको थियो। संस्थाका शेयर सदस्य तथा गैर सदस्यको सहभागिता रहेको कार्यक्रमको सञ्चालन कर्जा तथा सामुदायिक विभाग प्रमुख सम्झना गौतमले गरेकी थिइन् ।































