बिर्तामोड ।

आफ्नै उद्योगमा काम गर्ने कामदारको छोरीलाई बलात्कारको प्रयास गरे भन्दै प्रहरीमा जाहेरी दर्ता भएपछि झापाका एक उद्योगी फरार भएका छन् ।
झापाका बिर्तामोडका उद्योगी प्रदीप मित्तल एक युवतीलाई बलात्कार गर्ने प्रयास गरेको उजुरी परेपछि फरार भएका हुन् । उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी चैत ४ गतेदेखि फरार भएका हुन् । उनको खोजी तीब्र बनाइएको प्रहरी स्रोतले जनाएको छ । उनी आफन्तकोमा लुकेको आशंकामा खोजी भइरहेको जनाइएको छ ।
व्यवसायी मित्तलको मेचीनगर–१४ स्थित प्रगतिटोलमा सात विगाह जमिन छ । सोही जमिनमा विगतदेखि नै भेनियर (प्लाई) उद्योग सञ्चालनमा छ । उक्त जमिनमा मित्तलले पाँचतारे होटलसमेत निर्माण शुरु गरेका छन् । सोही भेनियर उद्योगमा काम गर्ने मेचीनगर–१४ कै एक महिलाको २३ बर्षकी छोरीलाई बुधबार मित्तलले घरमै गएर यौनजन्य हिंसा गरेको अभियोग लागेको छ ।
उनीबिरुद्व इलाका प्रहरी कार्यालय धुलावारीमा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । जाहेरी परेपछि मित्तल फरार भएका हुन् । अभियुक्तले जाहेरवालाकै घरमा गई जबरजस्ती करणी गर्ने उद्योग गरेको जाहेरीमा उल्लेख छ ।
प्रहरीले पीडितको यौन जन्य शारीरिक परिक्षण लगायतका कार्यहरु सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका बिपक्षी अभियुक्त वारदात मिति र समयबाटै भागी फरार रहेको हुँदा उनको खोजतालस कार्य भईरहेको जनाएको छ । प्रहरीले उनको नाम समेत गोप्य राखे पनि उनको नाम सार्वजनक भइसकेको छ ।































