आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्दै पानी दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष मार्च २२ का दिन यो दिवस मनाउने गरिएको छ । विश्वमा देखापरेको स्वच्छ खानेपानीको संकट र त्यसको समाधानका लागि आमव्यक्ति, समुदाय, सरकार एवम् गैरसरकारी संस्था र क्षेत्रहरुलाई सजग, सचेत, सक्षम र सबल बनाउने उद्देश्यले पानी दिवस मनाउने गरिएको हो । पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिस र मानिस लगायत सम्पूर्ण प्राणी तथा वनस्पतिको जीवन सुरक्षित गर्न नभई नहुने प्रमुख आधार मध्ये एक हो । पृथ्वीमा अस्तित्वमा रहेका मध्ये मानिस चेतनशील भएका कारण पानीको स्रोत सुरक्षित गर्दै त्यसको स्वच्छताका निम्ति प्रयत्नरत् रहनु पर्दछ ।

मानिसको जीवनका प्रमुख आधारमा हावा, पानी र खाना नै हो । यी तीन आधार प्रकृतिद्वारा उपहारका रुपमा पाइएका छन् । मानिस चेतनशील भएका कारण त्यसको उचित व्यवस्थापनमा समेत जिम्मेवार हुनुपर्छ र हुन्छ । त्यसमा पनि पानी कृषि प्रणालीको लागि अत्यावश्यक हुन्छ, जसको खाद्यवस्तुको उत्पादनमा मुख्य भूमिका रहन्छ । मानिसका लागि आफ्ना धार्मिक, सांस्कृतिक परम्परादेखि मृत्युपरन्तसम्मका लागि पानी नभई नहुने भएकाले पानीको स्वच्छता र सुरक्षाका लागि यो दिवसले विश्व समुदायलाई प्रत्येक वर्ष कार्यक्रमका मार्फत सजग बनाउँछ ।
पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको छ । तर, मानव स्वास्थ्यका लागि स्वच्छ पानीको संकट भने गहिरिँदैछ । स्वस्थ रहनका लागि स्वच्छ पानीको आवश्यकता हुन्छ र स्वच्छ पानी नै गुणस्तरीय जीवनको मुख्य आधार हो । त्यही सम्बन्ध र महत्व दर्शाउने र पानीको स्वच्छताका बारेमा अभिप्रेरित गर्न विश्व पानी दिवस मनाउने गरिएको हो । सन् २०३० सम्ममा विश्वका सम्पूर्ण जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाईको सुविधा उपलब्ध गराउने राष्ट्र संघको उद्देश्य छ । त्यसकै लागि पनि पानीको स्वच्छताको रक्षा गर्न सबै जुट्नुपर्छ ।
संयुक्त राष्ट्र संघकै सदस्य भएका नाताले पनि नेपालले आफ्नो पन्ध्रौं आयोजनामा पानीको उपलब्ध स्रोतको संरक्षण, सम्बद्र्धन, व्यवस्थित उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ । पानीका स्रोतहरु भूमिगत, पृथ्वीको सतह र आकांशबाट पर्ने पानीको उचित उपयोग गर्ने नीति लिइएको छ । मानव जीवनको लागि अत्यावश्यक र प्रकृतिद्वारा निःशुल्क प्राप्त अमूल्य स्रोत पानी मानव निर्मित सेवा तथा प्रकृतिको दोहनका कारण प्रदूषित बन्दै गएको छ । जसले जलवायु परिवर्तन गराएको छ, स्रोत सुक्दै गएको छ । जल सम्पदामा विश्वमै धनी भएर पनि हाम्रै देशमा स्वच्छ पानीको समस्या बढ्दै गएको छ । यस्तोमा पानीको स्वच्छता कायम राख्न, प्रकृतिको संरक्षण गर्न आममानिसलाई आजको दिनले उत्प्रेरीत गर्नुपर्छ । अनि मात्र पानी दिवसको सार्थकता पुष्टि हुन्छ ।




























