मखना खेती : उज्यालो संकेत

0
2

पोषक तत्वले भरिपूर्ण मानिन्छ– मखनालाई । यसमा पाइने पोषकतत्वका कारण मखनालाई ‘सुपर फुड’ पनि भनिन्छ । कुनै रासायनिक मल वा किटनाशकको उपयोग नगरिने मखनालाई अग्र्यानिक खाद्य पनि भन्ने गरिएको छ । यसलाई आहारमा नियमित प्रयोग गरे स्वास्थ्य सम्बन्धी अनेकन फाइदा पाउन सकिने अनुसन्धानले देखाएको छ । यसमा प्रोटिन र फाइबरको मात्रा धेरै हुन्छ, भिटामिन सी, क्याल्सियम, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र फस्फोरसको मात्रा पनि प्रचुर हुने पोषणविद्को भनाइ छ । पोषकतत्वको राम्रो स्रोत मानिएको मखनाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने भएकाले सबै उमेर समूहका लागि यी उत्तम खाद्य वस्तु मानिन्छ ।

पछिल्लो समय सानादेखि ठूला व्यापारिक पसल तथा प्रतिष्ठानहरुमा मखना उपलब्ध छ । खासगरी स्वास्थ्यप्रति सचेत मानिसले मखनालाई बढी रुचाउन र खाद्य वस्तुमा सामेल गर्ने प्रचलन बढ्दै गएको छ । नेपाली बजारमा जतासुकै छ्यापछ्याप्ती पाइने र बिक्री हुने मखनाको उत्पादन भारतमा हुन्छ । भारतको पनि बिहार राज्यमा बढी खेती गरिने भएकाले नेपाली बजारमा त्यही मखना बिक्री भइरहेको छ । पोषणविद् तथा चिकित्सकहरुले मखनाको नियमित सेवनले हड्डी बलियो बनाउने, छालाको स्वास्थ्य ठिक राख्ने, तौल नियन्त्रण गर्ने, मुटुको स्वास्थ्य सुधारमा मद्दत गर्ने उल्लेख गरेका छन् ।

स्वास्थ्यका लागि अति लाभकारी मानिएका मखना पोखरीको वा सिमसार क्षेत्र अथवा तालको शान्त पानीमा उम्रिन्छ यस हिसाबले नेपालको तराई मखना खेतीका लागि अनुकूल हुन्छ । हावापानीका दृष्टिले पनि उपयुक्त हुने यसको व्यावसायिक खेती गरिए किसानले रामै्र लाभ लिन सक्ने थिए । हिन्दू परम्परा र मान्यता अनुसार मखना देवताको प्रिय खाद्यवस्तु हो । त्यहीकारण हुनसक्छ मिथिलाञ्चलमा मखनाको महत्व धेरै थियो र छ । त्यसैले नेपालमा पहिलो र व्यावसायिक खेतीका रुपमा महोत्तरी जिल्लामा यसको खेती पहिचानयोग्य कृषि कर्म बनिएको छ । दश वर्षअघि शुरु गरिएको यसको खेतीबाट किसानले राम्रै लाभ लिने गरेका छन् ।

यतिखेर पूर्वी नेपालको देशकै होचो स्थानको परिचय बनाएको झापाको कचनकबलमा पहिलो पटक मखनाको व्यावसायिक खेती गरिँदैछ । पहिलो चरणमा पच्चीस विगाह जमिनमा खेती गर्न लागिएको पालिका उपाध्यक्ष नवराज भट्टराईले बताएका छन् । कचनकबल र झापा गाउँपालिकाका कृषहरुले संगठीत रुपमा गर्न थालेको यसको विस्तार तथा व्यवस्थापन र सम्बद्र्धन गर्न सकिए खेर गएको जमिनबाट त्यहाँको समृद्धिमा योगदान पुग्नेछ । जहिल्यै पानी हुने ‘दलदल’ जमिनलाई सदुपयोग गर्दै मखना खेती गर्न उत्साहित किसानलाई स्थानीय पालिका र कृषि शाखाले आवश्यक प्रबन्ध गरिदिने हो भने यसले किसानको आर्थिक स्तर मात्र उकास्ने होइन, आयात प्रतिस्थापनमा समेत योगदान पु¥याउने छ । यसबाट त्यहाँको पर्यटन प्रवद्र्धन गर्न र राष्ट्रको समृद्धिमा समेत बल पुग्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here