क्षयरोग दिवसको सान्दर्भिकता

0
2

क्षयरोग जीवाणुका कारण लाग्ने र मुख्यतयाः फोक्सोमा असर गर्ने एउटा सरुवा रोग हो । कुनै दिन महामारी सरह रहेको यस रोगको किटाणु पत्ता लागेको घोषणा भएको दिन अर्थात् मार्च २४ को सम्झना स्वरुप विश्व क्षयरोग दिवस मनाउने गरिएको छ । विश्वभरका लाखौं मानिसलाई प्रभावित गर्ने क्षयरोग नेपालमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ । कुनै समय असाध्य रोगमा गनिएको क्षयरोग अहिले निर्मूल हुनेमा पर्दछ । नियमित औषधि सेवनले निको हुने भए पनि नेपालमा हजारौं बिरामीहरु स्वास्थ्य सेवाको पहुँचमा आएका छैनन् । पहुँचमा नआएका बाहेक प्रतिवर्ष झण्डै सत्तरी हजार नयाँ बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ ।

क्षयरोगले सामान्यतयाः फोक्सोमा आक्रमण गर्छ, तर यसको असर शरीरका अन्य अङ्गहरुमा पनि पर्न सक्छ । संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा वा सास फेर्दा थुक वा छिटा अन्य व्यक्तिको सासबाट सर्न सक्छ । प्रायः ढिलो सक्रिय हुने क्षयरोगको जीवाणु बिस्तारै बढ्दै जान्छ र उपचार नभए संक्रमित मध्ये आधाजसोको मृत्यु नै हुनसक्छ । उपचार भएर पनि क्षयरोग आज ठूलो चुनौतीकै रुपमा रहेको छ । त्यसैले क्षयरोग नियन्त्रण गर्न सबैले सजग हुन जरुरी छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई यसका किटाणुहरुले छिट्टै आक्रमण गर्ने भएकाले निरन्तर खोकी लागे, खकारमा रगत देखिए, छाती दुखे, काम गर्दा थकाइ लागे, साँझपख ज्वरो आए वा तौल निरन्तर घट्दै गए क्षयरोगको परीक्षण गराउनु पर्दछ ।

क्षयरोगको उपचार अहिले नेपालमा सहज र निःशुल्क गरिएको छ । प्रत्येक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रबाट निःशुल्क पाइने सेवा र औषधि चिकित्सकको सहयोगमा नियमित लिनु पर्दछ । यसले न कुनै वर्ग, उमेर समूह, धर्म, लिङ्ग, समाज न त भूगोलकै विभेद गर्छ । समयमा पहिचान भयो भने सजिलै जाती पर्न सकिने क्षयरोग उपचार नगरिए गम्भीर बन्छ र मृत्युको कारण पनि बन्न सक्छ । यसै पनि नेपालमा दैनिक सरदर बाह्र जनाभन्दा बढीको क्षयरोगकै कारण मृत्यु हुने गरेको छ । यस्तोमा सचेतना, सावधानी, परीक्षण र उपचारको माध्यमबाट संक्रमण र मृत्युको अवस्था आउन नदिन सजग हुनै पर्छ ।

अबको झण्डै दुई दशकसम्ममा क्षयरोग उन्मुलन गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य छ । तर, बद्लिँदो जीवनशैली, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, बढ्दो जनसंख्या र वातावरणीय प्रदूषणका कारण यो रोग चुनौतीपूर्ण बन्दै गएको छ । त्यसैले आउँदो दिनमा विश्व स्वास्थ्य संगठनकै अगुवाईमा सम्पूर्ण सरोकारवालाहरुलाई ध्यानाकृष्ट गराउनु पर्दछ । त्यस्तै सरकारले पनि जिम्मेवारीपूर्वक कार्ययोजना बनाएर कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्छ, साथै सबै अभियन्ता, समाजका अगुवा, व्यक्ति, समूह र सम्बद्ध निकाय र पक्षले हातेमालो गर्दै क्षयरोग न्यूनीकरण हुँदै निर्मूल बनाउने तर्फ लागे यो दिवसको सार्थकता र सान्दर्भिकता प्रमाणित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here