झापा गाउँपालिकाद्वारा ७४ प्राविधिक विद्यार्थीलाई छात्रवृत्ति वितरण

0
1

झापा । झापा गाउँपालिकाले प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनरत ७४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न कलेज तथा विश्वविद्यालयमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूको आर्थिक भार कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

प्राप्त विवरणअनुसार सर्वाधिक छात्रवृत्ति चिकित्सा (मेडिकल) क्षेत्रमा अध्ययनरत ३२ जना विद्यार्थीले पाएका छन्। यस्तै सूचना प्रविधि (आईटी) तर्फ २२ जना, इन्जिनियरिङतर्फ ७ जना, कृषि तथा वनतर्फ ७ जना र अन्य प्राविधिक विषय अध्ययनरत ६ जना विद्यार्थी लाभान्वित भएका छन्।

गाउँपालिका प्रशासनले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने र न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जनाएको छ।

कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले प्राविधिक शिक्षा महँगो हुने भएकाले विद्यार्थी र अभिभावकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको बताइन्। उनले यस कार्यक्रमले भविष्यमा गाउँपालिकाको शैक्षिक विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

शिक्षा शाखाका अनुसार प्रत्येक विद्यार्थीलाई १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ। यसरी कुल ७४ जना विद्यार्थीलाई ८ लाख ८८ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here