नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको आरम्भ भएको छ । देशले पहिलोपटक जननिर्वाचित अनि युवा नेतृत्वको कार्यकारी प्रमुखका रुपमा बालेन्द्र शाहलाई पाएको छ । अति छोटो समयमा काठमाडौं महानगरको प्रमुखमा अत्यधिक मतसहित निर्वाचित शाह अचानक संसदीय राजनीति मार्फत राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्न पुगेका छन् । यसका लागि केवल उनी होइनन् उनी सम्बद्ध राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको जनअपेक्षा र विश्वासकै काम गरेको छ । महानगर प्रमुखका रुपमा उनले काठमाडौंको समृद्धिमा छोटै समयमा दिएको योगदान पार्टीको झण्डै दुई तिहाइ बहुमतको एउटा आधार हो । त्यसैगरी पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीकै उम्मेदवार घोषणा गरेका कारण पनि पार्टी प्रतिको जनलहरले बहुमत प्राप्त गर्ने आधार तय गरेको हुनसक्छ ।

सभापति लामिछानेले समयको मागलाई बुझे, देशको आवश्यकतालाई अनुभूत गरे र बरिष्ठ नेता बालेन्द्रलाई जिम्मेवारी पनि दिए । नवपुस्ताको विद्रोह भावना र मर्मलाई आत्मसात गर्दै रास्वपाले फागुन २१ को निर्वाचनमा बहुसंख्यक युवा उम्मेवारलाई अघि सा¥यो । मतदाताले हिजोका समयको चाप अनुभूत गर्न नसक्ने, आफूलाई मात्रै योग्य, सर्वज्ञ र निर्विकल्प ठानेर अहंकार गर्नेहरुलाई मतदानकै माध्यमबाट पालो दिए । देश र जनताले खोजेको परिवर्तनको बाहक ठानेर शायद, दशकौंंदेखिको भ्रष्टाचार, कुशासन लगायतका विकृतिहरुको चाङबाट उत्पन्न निराशा, कुण्ठा र आक्रोश मतकै आधारमा अस्वीकृत गरे । त्यसै अनुसार रास्वपाले शुक्रबार वैदिक परम्परा अनुसार सरकार पनि गठन गरेको छ ।
नयाँ दलका रुपमा उदाएको रास्वपा परिवर्तनको नारासहित चुनावी मैदानमा थिए । युवा पुस्ताको सक्रिय सहभागिता, सामाजिक सञ्जालको व्यापक प्रयोग र जनसंवादको नयाँ शैलीले मतदाताको मन जित्न र निर्वाचनलाई जीवन्त बनाउन सहयोग ग¥यो । भ्रटाचारबिरुद्धको स्पष्ट अडान, प्रशासनिक सुधारको प्रतिबद्धता र पारदर्शी शासनको वाचाले रास्वपाले छोटै समयमा मन र मत जित्न सक्यो । अब वाचा र प्रतिबद्धता पूरा गर्ने अभिभारा रास्वपा र अझ बालेन्द्र नेतृत्वको सरकारसँग छ । विपक्षी अन्य सबै दल तथा शक्तिहरुले पनि यो परिस्थितिलाई गम्भीर ढंगले लिनु पर्दछ । यद्यपि जेन–जी विद्रोह र आममतदाताको भावना मुताविक कार्की आयोगको प्रतिवेदन कार्यान्वनयको चरणमा नयाँ तरंग उत्पन्न भएको छ अनि पनि देश, समय र नेपाली नागरिकका मागलाई सम्बोधन गरिनु नै पर्छ । तर, बालेन्द्र नेतृत्वको सरकारले आवेग, उत्तेजनाले पाइला अघि बढाउनुपर्छ । भने जस्तै सुशासन, प्रजातान्त्रिक मूल्य–मान्यताको अनुशरण गर्दै देशलाई समृद्धिको बाटोमा हिँडाउनुपर्छ ।




























