हरेक वर्षको अप्रिल ७ का दिन विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको सन्दर्भमा विश्व स्वास्थ्य दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको एउटा महत्वपूर्ण इकाइका रुपमा रहेको विश्व स्वास्थ्य संगठन विश्वका देशहरुमा स्वास्थ्य सम्बन्धी समस्याहरु माथि आपसी सहयोग र मानक विकास गर्ने संस्था हो । यसको स्थापना आजकै दिन सन् १९४८ मा भएको थियो । त्यही दिनको स्मरणमा प्रत्येक वर्ष मनाइने यो दिवसको उद्देश्य विश्वभर स्वास्थ्य सम्बन्धी सचेतना प्रवाह गर्नु पनि हो । नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएका कारण यहाँ पनि आज स्वास्थ्य सचेतनाका विविध कार्यक्रमहरु सञ्चालन गरिन्छन् । स्वास्थ्य नै मानवको पहिलो धन भनिन्छ त्यसैले पनि यसलाई आधारभूत मानव अधिकारका रुपमा स्थापित गर्नुपर्छ ।

विश्वभरका मानवलाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा, स्वच्छ पानी, स्वच्छ हावा र पौष्टिक आहार आवश्यक हुन्छ । तर, विश्वमा अझै लाखौं मानिस यिनको पहुँचबाट टाडा छन् । त्यस्तै लाखौं मानिस गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा छैनन् भने बढ्दो विभिन्न प्रदूषणले जलवायुमा परिवर्तन ल्याउँदै जनस्वास्थ्यमा प्रतिकूलता थपिइरहेको छ । यिनै कारणको पृष्ठभूमिले अनेक संक्रामक रोगले महामारीको रुप लिँदैछन् भने उपचार आमनागरिकका लागि सुलभ छैन । यस्तोमा हाम्रो जस्तो विकासमा पछि परेको देशमा स्वास्थ्य रक्षाका लागि सचेतना नै पहिलो आवश्यकता हो र विश्व स्वास्थ्य दिवसको लक्ष्य पनि आमनागरिकलाई स्वास्थ्य रक्षाका लागि सुुसूचित गर्नु नै हो । स्वास्थ्य दिवसले हरेक नागरिकको जन्मसिद्ध अधिकार र मानवको आधारभूत अधिकार केन्द्रमा राखेर स्वास्थ्य सेवाको दिगोपन र पहुँचमा जोड दिन्छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेको छ । आफ्ना नीतिहरु मार्फत जनस्वास्थ्य सेवा ऐन तथा नियमावली, कार्ययोजना निर्माण तथा विकास गर्दै कार्यक्रमको कार्यान्वयनलाई जोड दिँदै आएको पनि छ । यसै अनुसार नेपालीको औसत आयु क्रमशः वृद्धि भएको छ । बाल मृत्युदर, मातृ मृत्युदर र संक्रामक रोगहरुको नियन्त्रणमा प्रगति पनि भइरहेको छ । तर, पछिल्लो समय गैर–संक्रामक रोगहरुको चुनौती थपिन थालेको छ । अहिले मृत्यु हुने प्रमुख कारणहरुमा हृदयघात, स्ट्रोक, उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता रोगहरु देखिएका छन् । त्यसैले नेपालले उपलब्धिहरुलाई संस्थागत र सुदृढ गर्दै समान पहुँच, गुणस्तरीय र सेवाको सुनिश्चितताका लागि यो दिवसले राज्यलाई प्रतिबद्ध गराउनु पर्छ ।




























