झापा, घरायसी प्रयोगका लागि अत्यावश्यक मानिने खाना पकाउने एलपी ग्यास झापामा क्रमश ः जोखिमको कारण बन्दै गएको छ । ग्यास सिलिण्डर विस्फोटका घटनाले जनधनको क्षति मात्रै नभई नियमन संयन्त्रको कमजोरीसमेत उजागर गरेको छ ।
२०७८ सालमा मेचीनगर–८ मा भएको ग्यास सिलिण्डर विस्फोटमा ४५ वर्षीय सारद राजवंशीको ज्यान गुम्यो भने १२ जना गम्भीर घाइते भए । सोही वर्ष पुस २७ गते अर्जुनधारा–७ मा भएको अर्को विस्फोटमा ४२ वर्षीय रोमनाथ खनाल, उनकी पत्नी दुर्गा खनाल (३८) र छोरा पङ्कज खनाल (१८) घाइते भए । त्यसयता पनि जिल्लामा ग्यासजन्य आगलागी र विस्फोटका घटना दोहोरिँदै आएका छन् ।
सरोकारवालाका अनुसार यस्ता घटनाको प्रमुख कारण पुराना तथा मापदण्डविपरीत प्रयोग भइरहेका ग्यास सिलिण्डर हुन् । उद्योगीहरूले समयमै सिलिण्डर प्रतिस्थापन नगर्दा उपभोक्ताको भान्सा नै ‘उच्च जोखिम क्षेत्र’ मा परिणत भएको उनीहरूको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा भन्छन्, ‘उद्योगीहरूलाई पुराना सिलिण्डर हटाएर नयाँ ल्याउन पटक–पटक आग्रह गरेका छौं । तर,उनीहरूले २५ वर्षसम्म सिलिण्डर प्रयोग गर्न पाइन्छ भन्ने अडान लिँदा समस्या जटिल बनेको छ ।’ उनका अनुसार यस्ता पुराना सिलिण्डर ‘बम’ जत्तिकै खतरनाक अवस्थामा पुगेका छन् ।
सुब्बाका अनुसार वर्षौंदेखि प्रयोग हुँदै आएका सिलिण्डरभित्र ‘थिगर’ (लेदो) जम्ने भएकाले उपभोक्ताले तिरेको पूरा ग्याससमेत प्राप्त गर्न सकेका छैनन् ।
‘१४.२ केजी क्षमताको सिलिण्डरमा आधा आपूर्तिको नाममा ७.१ केजी ग्यास हुनुपर्ने हो,’ उनी भन्छन्, ‘तर उपभोक्ताले व्यवहारमा करिब ५ केजी मात्रै पाउने गरेका छन् ।’
पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति व्यवस्थामा आएको दबाब देखाउँदै सरकारले आधा सिलिण्डर वितरणको विकल्प अघि सारेपछि उपभोक्ता थप मारमा परेको आरोप छ । मूल्य महँगो तिरेर पनि परिमाणमा कम ग्यास पाउनु उपभोक्तामाथिको दोहोरो अन्याय भएको मञ्चको ठहर छ ।
नियामक निकायहरूको भूमिकामाथि समेत प्रश्न उठेको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र गुणस्तर तथा नापतौल विभागलगायत निकायले अनुगमन समिति गठन गरे पनि तिनीहरू प्रभावकारी रूपमा परिचालन हुन नसकेको गुनासो छ । चाडपर्वका बेला सीमित ‘औपचारिक’ अनुगमन गरेर जिम्मेवारी टार्ने प्रवृत्ति देखिएको सुब्बाको आरोप छ ।
उपभोक्ताको ज्यानसँग जोडिएको संवेदनशील विषयमा नियामक निकाय मौन रहँदा उद्योगीहरूको मनोमानी बढेको उनले बताए । ‘उपभोक्ताको गुनासोका आधारमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई समेत जानकारी गराएका छौं,’ सुब्बा भन्छन्, ‘अनुगमन कडा बनाएर लापरबाही गर्ने उद्योगीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छौं ।’
विज्ञहरूका अनुसार ग्यास सिलिण्डरको नियमित परीक्षण, म्याद सकिएका सिलिण्डरको समयमै प्रतिस्थापन र वितरण प्रक्रियामा पारदर्शिता कायम नगरेसम्म जोखिम न्यूनीकरण सम्भव छैन । उपभोक्ताको भान्सामा सुरक्षित ग्यास आपूर्ति सुनिश्चित गर्नु राज्य र उद्योग दुवैको साझा जिम्मेवारी भएको उनीहरूको जोड छ ।
महँगीको चापमा गुज्रिरहेका उपभोक्ताले न्यूनतम सुरक्षासहितको सेवा पाउने अधिकार सुनिश्चित गर्न प्रभावकारी अनुगमन अपरिहार्य रहेको सुब्बाको भनाई छ ।
भान्सामा सहज इन्धनका रूपमा स्थापित खाना पकाउने एलपी ग्यास अहिले उपभोक्ताका लागि सुविधाभन्दा बढी चिन्ताको विषय बन्दै गएको छ । कानुनी रूपमा १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था भए पनि व्यवहारमा भने कम तौल, गुणस्तरहीन र जोखिमयुक्त सिलिन्डर बजारमा पुगिरहेको झापा हल्दिवारीका एक स्थानीयले बताए ।
२०६५ सालमा संशोधनसहित लागू गरिएको ‘एलपीजी ग्यास विनियमावली’ ले घरेलु प्रयोजनका लागि १४.२ किलोग्राम क्षमताको सिलिन्डरलाई मात्र मान्यता दिएको छ । खाली सिलिन्डरको तौल करिब १५.३ किलोग्राम हुने र ग्याससहित कुल तौल झन्डै २९.५ किलोग्राम पुग्नुपर्ने मापदण्ड छ । तर, उपभोक्ताको अनुभव भने फरक छ ।
बजारमा पाइने कतिपय सिलिन्डरमा ग्यासको सट्टा लेदो (फोहोरजन्य पदार्थ) र पानी मिसाइएको हुनसक्ने आशंका उपभोक्ताले गरेका छन् ।
यसले गर्दा सिलिन्डर छिट्टै सकिने, ज्वाला पहेंलो देखिने र भाँडामा कालो मोसो जम्ने समस्या देखिन्छ । “पूरै पैसा तिरेर पनि आधा ग्यास पाएको जस्तो अनुभव हुन्छ,” हल्दिवारीका ती उपभोक्ता भन्छन्, – अहिले सरकारको निर्णयले आधा ग्यास दिँदा हामीले पाँच केजी मात्रै ग्यास पाउँछौं । जति पुराना सिलिण्डर हो त्यत्ति नै बढी लेदो हुने हुँदा हामी दोहोरो मारामा छौं ।
उनले थपे – लेदो भरिएका सिलिन्डरले अर्को जोखिम थप्छ, यसले ग्यासको चाप अस्थिर बनाउने, रेगुलेटर र पाइपमा अवरोध ल्याउने तथा ग्यास चुहावटको सम्भावना बढाउने काम गर्छ ।
कम तौल र गुणस्तरहीन ग्यास बिक्री गर्नु उपभोक्ता संरक्षण ऐनविपरीतको कार्य हो । तर, अनुगमन कमजोर हुँदा यस्तो अभ्यास रोकिएको छैन ।
उपभोक्ताले प्रयोग गरिसकेको सिलिन्डरमा पानी वा फोहोर भेटिए पनि विक्रेतासँग गुनासो नगर्ने प्रवृत्ति पनि समस्या समाधानमा बाधक बनेको छ ।
यता राष्ट्रिय उपभोक्ता मञ्च नेपालले एक सूचना जारी गर्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेका छ । सूचनामा सिलिण्डरको तौल जोख्ने, घाँटीमा उल्लेखित परीक्षण मिति हेर्ने, खिया लागेको वा अत्यधिक पुरानो सिलिन्डर अस्वीकार गर्न आग्रह गरेको छ ।
झापामा चार वटा ग्यास उद्योग छन् । मेची, त्रिशक्ति,कनकाई र पाथीभर । यस वाहेक पनि विभिन्न कम्पनीले उत्पादन गरेका ग्यास आउने गरेका छन् ।
सिलिन्डरको म्याद गुज्रिने मिति कसरी चिन्ने ?
खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट खतरनाक हुन्छ । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुने र कहिलेकाहीँ विस्फोट नै भएर जनधनको क्षति भएका घटनाहरु झापा सहित देश भरमा बेलाबेला सार्वजनिक भइरहन्छन् । त्यसैले उपभोक्ता आफैं पनि ग्यास सिलिन्डरको जोखिम बुझ्न र घातक बिष्फोटबाट बच्न आफैं सजग हुनु आवश्यक देखिएको छ ।
उपभोक्ताले ग्यास सिलिन्डर खरिद दर्ता त्यसको प्रयोग गर्न मिल्ने म्याद (एक्स्पायर्ड डेट) पनि ख्याल गर्नुपर्ने हुन्छ ।
सिलिन्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउनु पनृे हुन्छ । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २० लगायतका अंक लेखिएका हुन्छन् ।
ती अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३÷३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।
‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ । यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ ।
ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?
माथिको तस्वीरको सिलिन्डरमा ए–२३ लेखिएको छ । त्यो सिलिन्डरको म्याद सन् २०२३ को मार्च महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ ।
यस्तै एक्सपायर्ड डेट बाँकी रहे पनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।
स्मरणीय के छ भने अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।
उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् । त्यसपछि ५÷५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
यसैका कारण नेपाली बजारमा २० वर्षभन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् । नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५÷५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि नगरेका हुनसक्ने अनुमान छ ।
उपभोक्ता सजग नभएको र सरकारको अनुगमन फितलो भएको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् ।































