धनुषा,

धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका विभिन्न जातको परीक्षण सुरु गरेको छ । ‘कोपिया परियोजना’ अन्तर्गत धनुषाको बटेश्वरमा किसानसँगको सहकार्यमा यो परीक्षण अघि बढाइएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की वरिष्ठ वैज्ञानिक डा पल्लवी सिंहका अनुसार जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई सम्बोधन गर्न छिटो पाक्ने र उत्पादन क्षमता बढी हुने धानका जातको खोजी तथा परीक्षण थालिएको हो । “परीक्षण सफल भए उत्पादन वृद्धि मात्र होइन, समयमै बाली भित्र्याउन सकिने भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्छ”, उहाँले बताउनुभयो ।
वरिष्ठ वैज्ञानिक डा सिंहका अनुसार किसानको अनुभवलाई अनुसन्धानसँग जोड्न बटेश्वरमा प्रत्यक्ष खेतमै धानका बिरुवा रोपिएको छ । परीक्षणमा सहभागी किसानले आफ्नै खेतमा विभिन्न जातका धान रोपेर तिनको वृद्धि, उत्पादन क्षमता तथा रोगप्रतिरोधी अवस्थाको अवलोकन गरिरहेका छन् । किसानका अनुभव, आवश्यकता र प्राथमिकताका आधारमा उपयुक्त जात छनोट गरिने व्यवस्था गरिएको छ ।
अनुसन्धान कार्यक्रम हर्दिनाथका सूचना अधिकारी तथा वरिष्ठ प्राविधिक रवेन्द्रप्रसाद साहले हालसम्म छोटो अवधिमा उत्पादन दिने धानमध्ये ‘हर्दिनाथ–१’ प्रमुख जात रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त जात करिब १०५ दिनमै पाक्ने गर्दछ । “यसभन्दा कम अवधिमा तयार हुने धानको पहिचान गर्ने लक्ष्यका साथ परीक्षण अघि बढाइएको हो”, उहाँले भन्नुभयो ।
अनुसन्धान केन्द्रको परिसरका साथै चयन गरिएका किसानका खेतमा समेत विभिन्न धानका जात रोपेर परीक्षण भइरहेको छ । यसले प्रयोगशालामा सीमित अनुसन्धानलाई खेतसम्म विस्तार गर्दै किसानको व्यावहारिक अनुभवलाई अनुसन्धान प्रक्रियामा समेट्ने काम गर्ने विश्वास गरिएको सूचना अधिकारी साहको भनाइ छ ।
स्थानीय हावापानी अनुकूल, कम पानीमै उत्पादन दिन सक्ने तथा जलवायु परिवर्तनसँग अनुकूलित धानका जात पहिचान गर्न यस परीक्षणले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, विशेषगरी चैते धानको उत्पादन वृद्धि गर्न जोड दिइएको उल्लेख गर्दै सूचना अधिकारी साहले यसले वर्षभरि धान उत्पादन प्रणाली सुदृढ बनाउने, खाद्य सुरक्षामा टेवा पु¥याउने तथा किसानको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।































