विद्यार्थीहरूको विदाई कार्यक्रम फरक र स्मरणीय

0
1

झिलझिले।

शिवसताक्षी नगरपालिका–८ मा रहेको सेभेनसीज पब्लिक अंग्रेजी माध्यमिक विद्यालयमा यस वर्ष एसइइ परीक्षा दिएका विद्यार्थीहरूको विदाई कार्यक्रम विगत वर्षको भन्दा फरक र स्मरणीय बन्यो। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध औपचारिकतामा सीमित रहेन, बरु वर्षौंदेखि गाँसिएको आत्मीयताको अनुभूति झल्किएको थियो। आँखामा आँसु थिए भने कतिपय मुस्कानभित्रै विगतका दिनहरू समेटिरहेका देखिन्थे।

संस्थागततर्फ को अब्बल तथा धेरै विद्यार्थी संख्या भएको यस विद्यालयमा दक्ष र अनुभवी शिक्षक–शिक्षिकाबाट गुणस्तरीय शिक्षा प्रदान हुँदै आएको छ। शान्त वातावरणमा भूकम्प प्रतिरोधात्मक पक्की भवनभित्र सञ्चालन भइरहेको अध्ययन–अध्यापन अब प्रविधिमैत्री र व्यावहारिक शिक्षासँग जोडिने क्रममा रहेको विद्यालयले जनाएको छ।

विद्यालयका प्रिन्सिपल दीपक कडरियाले सानै उमेरदेखि विद्यालय आएका विद्यार्थीहरू किशोर अवस्थामा पुगेर विदा हुँदा अत्यन्तै भावुक क्षण सिर्जना हुने बताए। तीन वर्षको उमेरमा विद्यालय भर्ना भएका बालबालिका १५–१६ वर्षको उमेरमा पुगेर बिदा हुँदा आफूहरूलाई पारिवारिक सदस्य जस्तै अनुभूति हुने उनको भनाइ थियो।

कार्यक्रममा विद्यार्थीहरूले शिक्षकलाई प्रदान गरेका ‘डाइलगयुक्त’ मायाका चिनोले सबैको ध्यान तानेको थियो। कक्षाकोठामा शिक्षकहरूले बारम्बार प्रयोग गर्ने वाक्यलाई समेटेर तयार पारिएका ती चिनोले हाँसो र भावनालाई एकैपटक प्रस्तुत गरे।

सामाजिक विषयका शिक्षक सुभाष पोखरेलका लागि “ओए भाइहरू, हल्ला नगर”, गणित शिक्षक भीम भण्डारीका लागि “बाठो नहो भाइ हो, मैले जे सिकाएको छु त्यही गर”, र नेपाली शिक्षक नरपति निरौलाका लागि “ओइ त पनि बिग्रिस अब” लेखिएका चिनोहरू प्रदान गरिएका थिए। अन्य शिक्षकहरू राजु श्रेष्ठ, दीपक कडरिया, दिपा राई, राम भेटवाल लगायतलाई पनि यस्तै शैलीका चिनोहरू प्रदान गरिएको थियो, जसमा उनीहरूको तस्बिरसमेत समावेश गरिएको थियो।

विद्यार्थी युगेश भट्टराईले स्टेजमा प्रस्तुत गरेको मन्तव्यले कार्यक्रममा थप गहिरो भावनात्मक आयाम थप्यो। उनले कक्षाकोठामा भएका गतिविधि र अनुभवहरूलाई शब्दमार्फत उतार्दा हलमा सन्नाटा छायो। उनका अभिव्यक्तिहरूले शिक्षक र अभिभावक दुवैलाई भावुक बनायो।

उनले फेरि कक्षा १ मा भर्ना भएर यही विद्यालयबाट एसइइ दिन पाए कस्तो हुन्थ्यो भन्ने भावना व्यक्त गर्दा उपस्थित सबैको मन छोएको थियो। शिक्षकको अनुहार हेरेर कक्षाकोठाको वातावरण अनुमान गर्ने विद्यार्थी अनुभव उनले सुनाउँदा धेरैले आफ्ना पुराना दिन सम्झिएका थिए।

कार्यक्रममा केही विद्यार्थीहरूले प्रिन्सिपल कणरियाको पाउ छोएर आशीर्वाद लिएका थिए, जसले विद्यालयले दिएको संस्कारयुक्त शिक्षाको झल्को प्रस्तुत गर्‍यो। कार्यक्रम प्रिन्सिपल दीपक कणरियाको अध्यक्षतामा तथा शिक्षक सुभाष पोखरेलको सहजीकरणमा सम्पन्न भएको थियो।

कार्यक्रम सुरु हुनु पूर्व विद्यालयले एसइइको अन्तिम परीक्षा दिएर फर्किएका विद्यार्थीहरूलाई उनीहरूको इच्छाअनुसारको भोजन गराएर विदाईलाई थप आत्मीय बनाएको थियो। यो विदाई एउटा औपचारिक कार्यक्रम नभई वर्षौंदेखि सँगै बिताएका क्षणहरूको मधुर बिछोड थियो, जहाँ हरेक आँसुमा सम्झना र हरेक मुस्कानमा उज्ज्वल भविष्यको आशा झल्किरहेको देखिन्थ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here