सुन्दरहरैंचा (मोरङ),

मोरङको सुन्दरहरैचा-५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कूलले एसईई दिएका विद्यार्थीहरूको सम्मानमा विदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई सफल भविष्यको कामना गर्दै शिक्षक, अभिभावक तथा विद्यार्थीबीच आत्मीय वातावरणमा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा मन्तव्य तथा शुभकामना आदान–प्रदान गरिएको थियो।
कार्यक्रमका अध्यक्ष तथा प्रिन्सिपल सन्तोष कुमार राईले एसईई जीवनको महत्वपूर्ण मोड भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरे।
उनले भने, “विद्यालयले दिएका ज्ञान र अनुभवलाई प्रयोग गर्दै अनुशासन र मेहनतका साथ अघि बढ्न सके सफलता अवश्य प्राप्त हुन्छ। हामी सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं।”
त्यस्तै, विद्यालयका चेयरमेन मोहन प्रसाद ढकाल ले विद्यार्थीहरूलाई सकारात्मक सोचका साथ जीवनमा अगाडि बढ्न सुझाव दिँदै भने, “एसईई अन्त्य होइन, नयाँ यात्राको सुरुवात हो। मेहनत, इमानदारी र लक्ष्यप्रति समर्पणले मात्र सफलता सम्भव हुन्छ।”
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी ले विद्यार्थीहरूलाई आगामी परीक्षाका लागि शुभकामना व्यक्त गर्दै शिक्षा नै व्यक्तित्व विकासको मुख्य आधार भएको बताए। उनले भने, “आजको मिहिनेतले भोलिको भविष्य निर्धारण गर्छ। त्यसैले आत्मविश्वासका साथ परीक्षा दिनुहोस् र देशको जिम्मेवार नागरिक बन्ने दिशामा अघि बढ्नुहोस्।”
कार्यक्रममा शिक्षकहरूद्वारा विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा प्रदान गरिएको थियो। विद्यार्थीहरूले पनि विद्यालयमा बिताएका समयको सम्झना गर्दै भावुक अभिव्यक्ति दिएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आगामी परीक्षाका लागि सकारात्मक ऊर्जा प्रदान गरेको विद्यालयले जनाएको छ।































