नियमित अनुगमनको खाँचो

0
3

नेपालीको भान्साका लागि अनिवार्य जस्तै भएको खाना पकाउने (एलपी) ग्यास तिनै उपभोक्ताका लागि जोखिमको कारण बन्न थालेको छ । औपचारिकतामा सीमित बजार अनुगमन अनि उत्पादक बिक्रेता र ढुवानीकर्ताले गर्ने गरेको लापरवाहीका कारण उपभोक्ताहरु जोखिममा पर्ने गरेका छन् । वर्षेनि हुने गरेका सिलिण्डर विस्फोटका घटनामा जनधनको क्षति सँगै भौतिक संरचना समेत नष्ट हुने गरेका घटनाको दोष उपभोक्तालाई नै दिएर उम्किने गरेका छन् । चार वर्षअघि झापाको मेचीनगरमा सिलिण्डर विष्फोट हुँदा एक व्यक्तिको मृत्यु भयो भने अन्य बाह्र जना घाइते भएका थिए । त्यसको एक वर्षपछि अर्जुनधारामा भएको विष्फोटमा तीन जना घाइते भएका थिए ।

त्यसो त दुर्घटना अप्रत्याशित हुने घटनाको अवस्था हो । यो जहाँ, जस्तै सेचतना र सजगताका बीच पनि हुने गरेको छ र हुन्छ । तर, ग्यास सिलिण्डर बिष्फोटको घटनामा सरकार र उत्पादक उद्योगीहरु बढी जिम्मेवार हुन्छन् । किनकि ग्यास सिलिण्डरको सुरक्षित प्रयोग बारे उपभोक्तालाई पर्याप्त जानकारी सरकार र उद्योगीले दिएका छैनन् । त्यस्तै सिलिण्डरको भण्डारण र ढुवानीमा गरिने लापरवाही पनि दुर्घटनाका कारण बन्ने गरेका छन् । यस्तोमा सम्भावित जोखिमको कारण सुरक्षित प्रयोग तथा सिलिण्डर समेतको परीक्षण उपभोक्ता स्वयम्ले गर्नुपर्छ । सिलिण्डर विष्फोट हुनुमा ग्यासको चुहावट, रेगुलेटर र ग्यास पाइपको अवस्था, गुणस्तरको पनि भूमिका हुन्छ । यसका लागि सरकारका तर्फबाट आवश्यक अनुगमन, नियमन र नियन्त्रण नियमित हुनै पर्छ ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा पुराना सिलिण्डरहरु दुर्घटनाको प्रमुख कारण रहेको बताउँछन् । पच्चीस वर्षसम्म प्रयोग गर्न सकिने भन्दै पुराना, किच्चिएका र धेरै पटक ग्यास भर्दै जाँदा ग्यासबाटै ‘थिगर’ (लेडो) जम्मा भई ग्यास नै कम हुने कारणले उभपोक्ता ठगिने अवस्था पनि रहन्छ । अझ अहिले मध्यपूर्वको युद्धका कारण ग्यासको आपूर्ति कम हुँदा आधा सिलिण्डर ग्यास वितरण गरिँदैछ । तर, सिलिण्डरमा पुरानो लेदो रहेका कारण उपभोक्ताले कूल क्षमताको आधा पाउनुपर्नेमा पाँच केजी मात्रै पाउने अध्यक्ष सुब्बाको भनाइ छ । यस्तोमा मानिसको जीवनसँग जोडिएको संवेदनशील विषयमा नियामक निकायले सिलिण्डरको नियमित परीक्षण, मापदण्ड विपरीतका विस्थापन तथा वितरण प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्छ । यसो भए मात्र उपभोक्ताको हित हुनसक्छ । सुरक्षित भान्साका लागि उपभोक्तामा सचेतना जगाउन र सम्बद्ध सबै पक्षलाई जिम्मेवार बनाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here