झापा , बिर्तामोड नगरपालिकाले सडकपेटी खाली गराउने अभियान तीव्र बनाइरहेका बेला स्थानीय उद्योगी–व्यवसायीले त्यसप्रति असन्तुष्टि जनाएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीका सामग्री नियन्त्रणमा लिने कार्यले साना तथा मझौला व्यवसायीको दैनिक आम्दानीमा प्रत्यक्ष असर परेको जनाएको हो ।
संघका अनुसार पछिल्लो समयको आर्थिक मन्दीका कारण व्यवसायीहरू पहिले नै दबाबमा छन् । यस्तो अवस्थामा सडकपेटीमा राखिएका सामग्री नियन्त्रणमा लिने कार्यले व्यवसाय सञ्चालन थप कठिन बनेको उल्लेख गरिएको छ ।
“व्यवसायीहरूको संरक्षण, सहजीकरण र प्रोत्साहन गर्नु स्थानीय सरकारको दायित्व हो,” बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष गोमा भट्टराई र महासचिव कुशल खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संघले सडक व्यवस्थापन र सार्वजनिक स्थलको सौन्दर्य कायम गर्ने पक्षमा आफूहरू सहमत रहेको स्पष्ट पारेको छ । तर, व्यवसाय सञ्चालनका लागि घर अगाडि राखिएका सामग्रीसमेत नियन्त्रणमा लिँदा विशेषगरी साना व्यवसायीहरू मारमा परेको उल्लेख गरिएको छ ।
यसैबीच संघले नियन्त्रणमा लिइएका सामग्री बिना शर्त फिर्ता गर्न र सम्बन्धित व्यवसायीलाई जरिवाना नगर्न नगरपालिकासँग माग गरेको छ । “अनावश्यक दण्ड–जरिवाना नगरी सहजीकरणमुखी ढंगबाट समाधान खोजिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।
संघले सडकपेटी व्यवस्थापन कार्यलाई मापदण्डअनुसार अघि बढाउन र समस्याको समाधान सहमति तथा संवादबाट गर्न आग्रह गरेको छ। साथै, सम्पूर्ण व्यवसायीलाई आफ्नो व्यवसाय व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न तथा सार्वजनिक स्थलको उपयोगमा सचेत रहन पनि अपिल गरिएको छ ।































