फाल्गुनन्दको आधारभूत अस्पतालमा उद्घाटनअघि नै सेवा सुचारु

0
5

युद्धबहादुर बोहोरा
पाँचथर,

फाल्गुनन्द गाउँपालिका-५ फाक्तेपमा निर्माण सम्पन्न भएको पालिका स्तरीय पाँच शय्याको आधारभूत अस्पताल उद्घाटनको तयारीमा पुगेको छ।

ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण थालिएको अस्पताल भवन सम्पन्न भएसँगै सेवा भने उद्घाटनअघि नै सञ्चालनमा ल्याइएको छ। संघीय सरकारको नीति अनुसार २०७७ मंसिर १५ गते सातै प्रदेशमा एकैपटक शिलान्यास भएका ३९६ आधारभूत अस्पतालमध्ये फाल्गुनन्दको अस्पताल पनि एक हो। तत्कालीन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो ‘मौसम’ले अस्पताल भवनको शिलान्यास गरेका थिए।

घुर्बिसे पञ्चमी नजिकै स्थानीयले निःशुल्क उपलब्ध गराएको करिब नौ रोपनी जग्गामा निर्माण भएको अस्पताल भवन डेढ तलाको छ। जयमाता जीआरडी जेभी, काठमाडौंले ६ करोड ४६ लाख ३२ हजार ३६ रुपैयाँ २० पैसाको लागतमा निर्माण जिम्मा लिएको थियो। सम्झौताअनुसार १८ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको थियो।

अहिले भने भवन निर्माण सम्पन्न भइसकेको र आगामी वैशाखभित्र उद्घाटन गर्ने तयारी भइरहेको जनाइएको छ। अस्पताल भवनमा इमरजेन्सी, प्रसूति सेवा, अपरेशन थिएटर, एक्स-रे, इसिजी, युएसजी, फार्मेसी, ल्याब, माइनर अपरेशन, पार्किङ, सेप्टिक ट्याङ्क र सोकपिट लगायतका पूर्वाधार समावेश छन्। फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोका अनुसार अस्पतालमा एक जना मेडिकल अफिसरसहित १८ जना स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको एनएचसीसीपीले अस्पतालको निरीक्षण र अनुगमन साथै गाउँपालिकाले प्राविधिक तथा निर्माण कार्यको नियमित निगरानी गरिएको हो ।

हाल अस्पतालबाट आयुर्वेद सेवासहित एकीकृत स्वास्थ्य सेवा सञ्चालन हुनेछ। गाउँपालिकाभित्र पाँच वटा स्वास्थ्य चौकी, एउटा आधारभूत अस्पताल, एउटा सामुदायिक स्वास्थ्य इकाइ र आयुर्वेद सेवा उपलब्ध छन्। अस्पतालमा मेडिकल अफिसर डा. उपेन्द्र पोख्रेलसहित १८ जनाको दरबन्दी रहने जनाइएको छ ।

जसमा एक डाक्टर, एक एचए, दुई अहेव, दुई अनमी, एक करार ल्याब असिस्टेन्ट, एक कविराज तथा तीन कार्यालय सहयोगी रहेका छन्। यहाँ ओपिडी सेवा, आकस्मिक सेवा, बर्थिङ सेवा, ल्याब सेवा तथा भिडियो एक्स-रे सेवा सञ्चालनमा छन्। देशभरका धेरै स्थानीय तहमा अस्पताल भवन निर्माण सम्पन्न भएर उद्घाटन भए पनि सेवा सञ्चालन हुन नसकेको अवस्था छ। तर फाल्गुनन्दको अस्पतालले भने उद्घाटनको तयारी अगावै डाक्टरसहित सेवा सुचारु गरेर उदाहरणीय काम गरेको गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले बताए।

गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेका अनुसार अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि फाल्गुनन्द गाउँपालिकाका नागरिकसँगै इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरकै मिक्लाजुङ गाउँपालिकाका स्थानीयवासी समेत लाभान्वित हुनेछन्।

सुविधा सम्पन्न अस्पतालको अभावमा हालसम्म फाल्गुनन्दका बिरामीहरू उपचारका लागि फिदिम, इलाम र झापासम्म पुग्न बाध्य छन्।अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन्। स्थानीय तहमा सहज र प्रभावकारी स्वास्थ्य पहुँच पुर्‍याउने सरकारको लक्ष्य फाल्गुनन्दमा अब चाँडै सार्थक हुने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here