झापा,लामो समयदेखि नेपाली कांग्रेससँग आबद्ध रहेका झापाका राजेश ढुङ्गानाले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले शनिबार सार्वजनिक वक्तव्यमार्फत तत्काल लागू हुने गरी पार्टीसँगको आफ्नो सम्बन्ध अन्त्य गरेको जानकारी दिएका हुन्।
ढुङ्गानाले पार्टीभित्रको अवस्था र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ‘भित्रै बसेर असन्तुष्ट हुनुुभन्दा बाहिरिएर स्पष्ट धारणा राख्नु उपयुक्त’ ठानेको बताएका छन्।
करिब साढे तीन दशकसम्म सुधारको आशामा पार्टीभित्र रहे पनि अब त्यो सम्भावना समाप्त भएको निष्कर्षमा पुगेको उनको भनाइ छ।
उनले पार्टीभित्र भ्रष्टाचार र अनियमितता जरा गाड्दै गएको, त्यसबाट नेतृत्व मात्र होइन कार्यकर्ता तहसमेत मुक्त हुन नसकेको आरोप लगाएका छन्।
ऐतिहासिक पार्टीको यस्तो अवस्थाले आफूलाई निराश बनाएको उल्लेख गर्दै उनले वर्तमान संरचनाले देशको भविष्य बोक्न नसक्ने ठानेपछि बाहिरिने निर्णय लिएको बताएका छन्।
ढुङ्गानाले आफ्नो राजनीतिक यात्राको सुरुआत २०३० को दशकमा जनकपुर र विराटनगरमा भएको उल्लेख गरेका छन्।
विद्यार्थी राजनीतिदेखि विभिन्न आन्दोलनमा सक्रिय रहँदै उनले २०३६–३७ को जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा भूमिका निर्वाह गरेको बताएका छन्।
त्यस्तै, उनले जननायक बीपी कोइरालासँगको भेट, तत्कालीन नेताहरूको निर्देशनमा गरेको संगठन विस्तार र भूमिगत प्रकाशन कार्यलाई पनि स्मरण गरेका छन्। नेपाल प्रेस युनियनको संस्थापक सदस्यका रूपमा समेत सक्रिय रहेको उनले उल्लेख गरेका छन्।
अबका दिनमा आफू स्वतन्त्र र उदार प्रजातन्त्रवादी नागरिकका रूपमा रहने निर्णय गरेको ढुङ्गानाले जनाएका छन्। साथै, पार्टीमा सँगै काम गरेका सहकर्मी र आफूलाई प्रेरित गर्ने सबैप्रति उनले क्षमायाचना पनि व्यक्त गरेका छन्।































