पार्थ मण्डल/झापा ।

नेपाल–भारतको सीमा नाकाबाट आउजाउ गर्ने जो कोही अहिले झापाको भद्रपुर नाकामा केही समयका लागि भएपनि रोकिन बाध्य भएका छन् । तर, उनीहरूलाई सीमा तैनाथ सुरक्षाकर्मीले चेकजाँचका लागि भने रोकेका होइनन् । सुरक्षाकर्मीहरूको चेकजाँचको प्रक्रिया भने छुट्टैछ । उनीहरू सुन्दर दृश्य अवलोकन गर्न आफूखुसी रोकेका हुन् । यसको मुख्य कारण हो— भद्रपुर गलगलिया सीमा नाकामा हालै निर्माण गरिएको सौन्दर्यीकरण ।
अन्तर्राष्ट्रिय सीमा प्रवेशद्वार मै अहिले अधिकांश आगन्तुक आफैँ रोकिने र मोबाइल निकालेर फोटो तथा सेल्फी खिच्न व्यस्त हुने गरेका छन्। सामाजिक अभियन्ता सञ्जय भुइँमाली र भावना क्षेत्री भुइँमालीको पहलमा सीमा क्षेत्रमा आकर्षक संरचना निर्माण गरिएको छ । अङ्ग्रेजी अक्षरमा “नेपाल” लेखिएको आकृति, त्यससँगै राष्ट्रिय झन्डा, भगवान् बुद्धको शालिक र विभिन्न पर्यटकीय क्षेत्र समेटिएको होर्डिङ बोर्डले सीमा नाकालाई थप आकर्षक बनाएको छ । रात्रिकालीनका लागि “नेपाल” लेखिएको आकृतिमा बिजुलीबत्ति पनि जडान गरिएको छ ।
सीमा प्रवेशमै देखिने यस्तो दृश्यले स्वदेशी मात्र नभई विदेशी पर्यटकको मन पनि लोभ्याएको छ । नेपाल प्रवेशको पहिलो बिन्दुमै सकारात्मक सन्देश दिने उद्देश्यले निर्माण गरिएको उक्त संरचनाले भद्रपुरको सीमा क्षेत्रलाई नयाँ पहिचान दिएको स्थानीयहरू बताउँछन् ।
भद्रपुर नगरपालिकाले प्रवेशद्वार मै सडक किनारको जमिन उपलब्ध गराएपछि भुइँमाली दम्पतीले विभिन्न दाताको सहयोग र आफ्नै श्रम र पुजी खर्चिएर उक्त स्थानको सौन्दर्यीकरण गरेका हुन्। गत माघ १० गतेदेखि सुरु गरिएको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब १६ फिट चौडाइ र साढे ३ फिट उचाइको पक्की संरचनामा “नेपाल” लेखिएको आकृति निर्माण गरिएको सामाजिक अभियन्ता सञ्जय भुइँमालीले जानकारी दिए ।
साथै साढे तीन फिट उँचाइको शान्तिको प्रतीक भगवान् बुद्धको शालिक, पर्यटकीय क्षेत्रहरू भएको होर्डिङ बोर्ड, बिरुवा रोप्नुका साथै राष्ट्रिय झण्डा फहराइएको अभियन्ता भुइमालीले बताए । वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङ सरले सीमा नाकामा देशको पहिचान झल्किने खालको एउटा संरचना बनाऊ भएर मसँग प्रस्ताव राख्नुभयो । उहाँको प्रस्तावप्रति एकै पटकमा समर्थन जनाउँदै त्यहाँ जमिन उपलब्ध गराइदिनु हुन अनुरोध गरेऔँ ।
त्यसपछि उहाँले सम्बन्धित निकायसँग सहकार्य गरी जमिन उपलब्ध गराइदिनु भएको बताउँदै उनले भने, ‘त्यसपछि हामीले यो संरचना निर्माण सुरु गरेका हौँ ।’ संरचना निर्माण गर्दा विभिन्न दाताहरुको पनि सहयोग रहेको छ । यो निर्माण कार्यमा आफै लागि परेर श्रमदान पनि गरेको उनले बताए ।
नेपाल लेखिएको यस्तो संरचना भारत र चीनसँग जोडिएको देशको हरेक नाकामा हुनु पर्नेछ । यसले देशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उनको भनाई छ । उक्त संरचनाको औपचारिक उद्घाटन यही २०८३ सालको नयाँ वर्ष, बैशाख १ गतेको दिन गरिने जनाइएको छ ।































