साइबर बुलिङ : अदृश्य डिजिटल हिंसा

0
2

डिजिटल प्रविधिको तीव्र विस्तारले नेपाली समाजलाई नयाँ सम्भावना र अवसरहरू दिएको छ । सूचनाको सहज पहुँच, विचार अभिव्यक्तिको स्वतन्त्रता र विश्वसँगको प्रत्यक्ष सम्पर्कले नागरिक जीवनलाई व्यापक रूपमा रूपान्तरण गरेको छ । आजको युगमा इन्टरनेट केवल प्रविधि मात्र होइन, जीवनशैलीकै एक अभिन्न अङ्ग बनिसकेको छ । तर, यही रूपान्तरणको छायाँमा एउटा गम्भीर र बढ्दो सामाजिक समस्या पनि मौन रूपमा फैलिँदै गएको छ त्यो हो– ‘साइबर बुलिङ’ अर्थात् ‘डिजिटल हिंसा’ । यो समस्या अब व्यक्तिगत पीडासम्म मात्र सीमित छैन, यसले सामाजिक सद्भाव, मानसिक स्वास्थ्य र लोकतान्त्रिक संस्कृति माथि नै चुनौती खडा गरिरहेको छ ।

नेपालको वर्तमान परिदृश्यमा सामाजिक सञ्जालहरू संवादको माध्यमभन्दा बढी आक्रोश र आक्रमणको प्लेटफर्म बन्दै गएको अनुभूति गर्न गाह्रो छैन । फेसबुक, ट्विटर (एक्स), टिकटक जस्ता माध्यमहरूमा विचार आदान–प्रदानको सट्टा एकअर्कालाई होच्याउने, अपमान गर्ने र बदनाम गर्ने प्रवृत्ति बढ्दो छ । फरक विचार राख्ने व्यक्ति माथि गरिने अपशब्द, चरित्र हत्या, ट्रोलिङ (जाना–जानी कसैलाई उक्साउने, रिस उठाउने, अपमान गर्ने वा विवाद सिर्जना गर्ने उद्देश्यले गरिने अनलाइन व्यवहार) र संगठित रूपमा गरिने डिजिटल आक्रमणले सार्वजनिक बहसको स्तरलाई खस्काउँदै लगेको छ । विशेषगरी महिला, पत्रकार, सामाजिक अभियन्ता तथा युवापुस्ता यस्तो व्यवहारको प्रमुख निशाना बन्नु हाम्रो समाजको गम्भीर संकेत हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा फैलिएको असहिष्णुता र गैह्र जिम्मेवारी अन्ततः स्वतन्त्रताको दुरुपयोग उन्मुख देखिन्छ ।

साइबर बुलिङको एउटा खतरनाक पक्ष यसको अदृश्यता हो । प्रत्यक्ष हिंसा जस्तो देखिने घाउ नभए पनि यसले मानसिक रूपमा गहिरो चोट पु¥याउँछ । पीडितले भोग्ने पीडा प्रायः देखिँदैन बाहिर, तर त्यसले पीडितलाई भित्रभित्रै आत्मसम्मान, आत्मविश्वास र मानसिक रुपमा सन्तुलनलाई कमजोर बनाउँदै लैजान्छ । अनलाइनमा निरन्तर हुने आक्रमणका कारण व्यक्तिमा भय, असुरक्षा र निराशाको भावना बढ्दै जान्छ । यसले गर्दा धेरै पीडितहरू आफ्ना विचार सार्वजनिक रूपमा व्यक्त गर्न डराउन थाल्छन्, जसले समाजमा विविधता र स्वतन्त्र बहसको दायरा संकुचित बनाउँछ ।

राजनीतिक र वैचारिक क्षेत्रमा पनि साइबर बुलिङको प्रभाव तीव्ररूपमा देखापर्न थालेको छ । फरक मतलाई सम्मानपूर्वक सुन्ने परम्पराको सट्टा व्यक्तिमाथि केन्द्रित आक्रमण, नक्कली खाता प्रयोग गरेर भ्रम फैलाउने अभ्यास र निजी जीवनमा हस्तक्षेप गर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य–संवाद, सहिष्णुता र पारदर्शितालाई कमजोर बनाइरहेको छ । अहिलेका धेरै अनलाइन बहसहरू तथ्यभन्दा बढी भावनामा आधारित र आक्रामक बन्दै गएका छन् । जब नागरिकहरू आफ्ना विचार व्यक्त गर्न डराउन थाल्छन्, त्यतिबेला लोकतन्त्रको आत्मा नै संकुचित हुन पुग्छ । यस्तो अवस्थाले दीर्घकालीन रूपमा राजनीतिक ध्रुवीकरण र सामाजिक विभाजनलाई अझ गहिरो बनाउने खतरा दर्शाउँछ ।

यसको सबैभन्दा संवेदनशील प्रभाव भने किशोर–किशोरी र विद्यार्थीहरूमा देखिएको छ । विद्यालय र कलेजस्तरमा सामाजिक सञ्जालको प्रयोग व्यापक भइसकेको अवस्थामा, साथीहरू बीचको सम्बन्ध कहिलेकाहीँ डिजिटल हिंसामा परिणत हुने गरेको छ । निजी तस्वीर वा सन्देशको दुरुपयोग, समूहबाट बहिष्कार, अपमानजनक टिप्पणी तथा ‘मीम’ (इन्टरनेटमा छिटो फैलिने हांस्यात्मक वा व्यंग्यात्मक सन्देश, जुन प्रायः फोटो, भिडियो वा सानो टेक्स्टको रूपमा हुन्छ) मार्फत गरिने अपहेलना जस्ता व्यवहारले उनीहरूको मानसिक स्वास्थ्यमा गहिरो चोट पु¥याइरहेको हुन्छ ।

यसले आत्मविश्वासमा कमी, सामाजिक एक्लोपन, चिन्ता र अवसाद (डिप्रेसन) जस्ता समस्याहरू बढाउँदै गएको छ । यो केवल व्यक्तिगत त्रासदी मात्र होइन, यो भावी पुस्ताको समग्र विकासमा बाधा पु¥याउने राष्ट्रिय चुनौती हो । अझ गम्भीर अवस्थामा, यसले आत्मघाती सोच र व्यवहारसम्म पु¥याउने जोखिमसमेत बढाउँछ, जुन समाजका लागि अत्यन्त चिन्ताजनक संकेत हो ।
साइबर बुलिङ केवल व्यक्तिहरू बीचको समस्या मात्र होइन, यसले संस्थागत र पेशागत क्षेत्रमा पनि प्रभाव पारिरहेको छ । पत्रकारहरूलाई समाचार प्रकाशनका कारण धम्की दिने, सामाजिक अभियन्ताहरूलाई बदनाम गर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिहरू माथि सुनियोजित रूपमा डिजिटल आक्रमण गर्ने प्रवृत्ति बढ्दो छ । यसले पेशागत स्वतन्त्रता र उत्तरदायित्वमा समेत असर पारिरहेको छ । यदि यस्तो प्रवृत्ति निरन्तर बढिरह्यो भने सत्य बोल्ने र गलतको विरोध गर्ने संस्कार नै कमजोर बन्ने खतरा रहन्छ ।

नेपालमा साइबर अपराध नियन्त्रणका लागि कानूनी प्रावधानहरू अवश्य छन्, तर कार्यान्वयन पक्ष अझै सुदृढ हुन सकेको छैन । उजुरी प्रक्रियाको जटिलता, अनुसन्धानमा ढिलाइ, प्राविधिक स्रोतसाधनको अभाव र पीडितमै दोषारोपण गर्ने सामाजिक प्रवृत्तिका कारण धेरै घटना प्रकाशमा नै आउँदैनन् । यसले दण्डहीनताको संस्कृतिलाई बढावा दिन्छ, जसले अपराधीलाई अझ निर्भीक बनाउँछ। कानुन हुनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन चैं महŒवपूर्ण हुन्छ ।

यदि साइबर बुलिङको वर्तमान अवस्था यथावत् रहिरह्यो भने यसको दीर्घकालीन परिणाम झनै जटिल हुन सक्छ । डिजिटल प्लेटफर्महरू घृणा, विभाजन र अविश्वासको माध्यममा रूपान्तरित हुन सक्छन् । सामाजिक सम्बन्धहरू कमजोर हुँदै जान सक्छन् र सामुहिक सहअस्तित्वको भावना क्षीण हुन सक्छ । अझ गम्भीर पक्ष भनेको मानसिक रूपमा असुरक्षित र अस्थिर युवापुस्ताले भविष्यको समाजलाई नै असन्तुलित बनाउने खतरा हो । यसले केबल सामाजिक संरचना मात्र होइन, राष्ट्रको समग्र विकास यात्रालाई पनि प्रभावित गर्न सक्छ ।

यस्तो चुनौतीको सामना गर्न अब बहुआयामिक र दीर्घकालीन दृष्टिकोण आवश्यक छ । विद्यालय तहदेखि नै डिजिटल साक्षरता र नैतिक शिक्षालाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइनुपर्छ, जसले नयाँ पुस्तालाई अनलाइन व्यवहारको जिम्मेवारीबारे सचेत बनाओस् ! डिजिटल साक्षरता भनेको केबल प्रविधि चलाउने सीप मात्र होइन, यो सही–गलत छुट्याउने क्षमता, अरूको सम्मान गर्ने चेतना र जिम्मेवार नागरिक बन्ने अभ्यास पनि हो, भन्ने बुझाओस् !

अभिभावकहरुको भूमिका पनि यस सन्दर्भमा अत्यन्त महŒवपूर्ण छ । बालबालिकासँग खुला संवाद कायम गर्दै उनीहरूको डिजिटल गतिविधि बुझ्ने, आवश्यक मार्गदर्शन दिने र विश्वासको वातावरण सिर्जना गर्ने जिम्मेवारी अभिभावककै हो । नियन्त्रणभन्दा बढी सहकार्य र समझदारीको दृष्टिकोण अपनाउन सके मात्र बालबालिकालाई सुरक्षित डिजिटल वातावरण दिन सकिन्छ ।
राज्यका निकायहरूले साइबर अपराध सम्बन्धी उजुरी प्रक्रियालाई सरल, सहज र पीडितमैत्री बनाउनुपर्छ । प्रविधिको प्रभावकारी प्रयोग मार्फत अनुसन्धान र निगरानी प्रणालीलाई सुदृढ गर्दै दोषी माथि छिटो र निष्पक्ष कारबाही सुनिश्चित गर्न आवश्यक छ । साथै सामाजिक सञ्जाल कम्पनीहरूसँग समन्वय गरी हानिकारक सामग्री नियन्त्रण गर्ने, नक्कली खाता पहिचान गर्ने र डिजिटल सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने प्रयास अपरिहार्य छ ।

समाजको तहमा भने सकारात्मक डिजिटल संस्कृतिको विकास नै दीर्घकालीन समाधान हो । असहमति हुँदा पनि मर्यादित भाषा प्रयोग गर्ने, तथ्यमा आधारित बहसलाई प्राथमिकता दिने र अरूको गरिमा तथा गोपनीयताको सम्मान गर्ने संस्कार विकास गर्न सके मात्र अनलाइन संसार सभ्य बन्न सक्छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने– डिजिटल प्लेटफर्महरू कुनै अलग संसार होइनन्, यी हाम्रो वास्तविक समाजकै विस्तार हुन् । यहाँ देखिने व्यवहारले हाम्रो सामुहिक चरित्रको प्रतिबिम्ब प्रस्तुत गर्छ ।

साइबर बुलिङ प्रविधिको उपज मात्र होइन, यो हाम्रो सामाजिक चेतना र नैतिकताको परीक्षा पनि हो । आजै यसतर्फ गम्भीरतापूर्वक ध्यान नदिने हो भने भोलि यसको असर नियन्त्रण बाहिर जान सक्छ । समयमै सचेत कदम चाल्न सकियो भने डिजिटल्ली नेपाललाई सुरक्षित, जिम्मेवार र समावेशी बनाउने सम्भावना सधैँ जीवित रहन्छ, जहाँ अभिव्यक्ति स्वतन्त्रता, सम्मान र मर्यादा कहिल्यै कमजोर हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here