बढ्दो अपराध : सुरक्षा चुनौती

0
2

 

पछिल्लो समय हत्या, हिंसा र आपराधिक घटनाहरुमा वृद्धि भइरहेको छ । यस्ता अपराधका घटनाले समाजलाई असुरक्षित महशुस भइरहेको छ भने सुरक्षा संयन्त्रलाई सुरक्षाको चुनौती थपिएको छ । पछिल्लो घटनाहरुमा परिवारका सदस्य नै संलग्न रहेका तथ्यहरु पनि सार्वजनिक भएका छन् । सामान्य विषयमा विवाद उत्पन्न भई क्रुरतापूर्वक हत्या गरिएको पछिल्लो घटनाले झापालीलाई स्तब्ध बनाएको छ । गलत नम्बरमा फोन गएको सामान्य विषयमा विवाद हुँदा झापा कमल गाउँपालिकाका दुई दाजुभाइको हत्या भएको थियो । यद्यपि हत्यारालाई प्रहरीले पक्राउ गरिसकेको छ, तर सन्तानको हृदयविदारक हत्याको घटनाले अभिभावकलाई पु¥याएको क्षति र दिएको पीडा अपूरणीय छ ।

ललितपुरको पाटन दरवार स्क्वायर क्षेत्रमा भएको उक्त घटनामा दाजु सुमित र भाइ सृजन नेम्वाङको मृत्यु भएको थियो । त्यसअघि झापाकै शिवसताक्षीमा दाजुले भाइको हत्या गरेको घटना सार्वजनिक भएको थियो । त्यसैगरी बिर्तामोड–७ मा सुतिरहेका फुर्वा तामाङको हत्या छिमेकी दाजुभाइ प्रेमकुमार र रामकुमार राईले गरेको घटना सार्वजनिक भएको थियो । त्यसैगरी भाञ्जाले माइजूको हत्या गरेको अर्को घटना पनि यसै हप्ता सार्वजनिक भएको छ । पोखरा सभागृह चोकमा घर फर्किँदै गरेकी सृजना पौडेल केसीलाई उनकै भाञ्जाले विभत्स हत्या गरे । सो घटनामा पारिवारिक सम्पत्ति विवाद र प्रतिशोधको चरम परिणति भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

झापा, ललितपुर र पोखरामा भएका विभत्स हत्याका यी शृंखलाहरुले सुरक्षा संयन्त्रलाई पनि चुनौती थपिएको छ । आखिर प्रत्येक व्यक्तिका पछि प्रहरी परिचालन हुने होइन, तर मानवीयता, मानव संवेदना किन यसरी ढुंगासरह निष्प्राण भइरहेको छ– समाजलाई चिन्ता थप्ने विषय हो । त्यसो त यस्ता अपराध र आपराधिक मनोवृत्ति बढ्नुमा मदिरा र लागूऔषधको दुव्र्यसन मुख्य कारण रहेको अनुसन्धानले देखाएको छ । त्यसैगरी पारिवारिक र सामाजिक कलहबाट पनि अपराधका घटना बढ्दै गएका छन् भने हतियारको सहज पहुँच र सामाजिक सञ्जालको दुरुपयोगले पनि अपराध बढाउने कारक बनिएका छन् ।

समाजमा बढ्दो हत्याको शृंखला र अपराधका घटनालाई नियन्त्रण गर्न प्रहरीलाई चुनौती छ, तर जनताको जन र धनको रक्षा गर्नु सुरक्षा संयन्त्रको जिम्मेवारी नै हो । तसर्थ मदिरा तथा लागूऔषधको दुव्र्यसन रोक्न, सामाजिक सचेतना बढाउन, युवाहरुलाई परामर्श दिएर कुलतबाट बचाउन र सुरक्षा गस्ती बढाउँदै प्रविधिको विस्तार गर्न राज्य लाग्नु पर्दछ । सँगसँगै अपराधमा संलग्न रहेकालाई तत्काल पक्राउ गरी कडा कानूनी कारवाही गरेर अपराध गर्नेहरु दण्डित हुन्छन् भन्ने विश्वास जगाउनुपर्छ । यसले मात्र समाजमा सुरक्षाको अनुभूति हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here