अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–६स्थित ब्रीलियन्ट प्युपल्स सेकेण्डरी स्कूलले हालै सम्पन्न भएको माध्यमिक शिक्षा परीक्षा(एसईई)–२०८२का विद्यार्थीहरुलाई लक्षित गरि सोमबार फेरि भेटौंला, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
एसईई परीक्षा दिएका विद्यार्थीहरुको आगामी दिनमा उच्च शिक्षा अध्ययनसँगै नव वर्ष २०८३ सालको शुभकामना र विद्यालयले शैक्षिक सत्र २०८३देखि सुरु गर्ने कक्षा–११को कम्प्युटर विज्ञान र व्यवसाय अध्धयन संकायमा विद्यार्थीसँग पुनः भेट्ने कामनासहित उक्त कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक ताराप्रसाद नेपालले जानकारी दिए ।
प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) झापाका सदस्य सुमन शर्मा जम्मरकट्टेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक नेपालले नयाँ सुरु हुने कक्षा–११सँगै विद्यालयले प्रदान गर्न सक्ने विविध विशेषताहरु बारे अभिभावक र विद्यार्थीहरुलाई जानकारी दिएका थिए । वडा सदस्य रमा काफ्ले, विद्यालय व्यवस्थापन समितिकी सदस्य मुना बिमली, विद्यार्थीहरु अंकित कडरिया, अदिस पौडेल, नितिसा पौडेल, प्राश्ना लकान्द्रीलगायतले मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनोसहित अबिर र खदा लगाइएको थियो ।
शिक्षक भोजराज काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रमेश नेपालले गरेका थिए । विद्यालयले चालु शैक्षिक सत्र २०८२को वार्षिक नतिजा प्रकाशन तथा वितरण कार्यक्रम पनि सम्पन्न गरेको बताइएको छ ।































