१८ घण्टापछि हात जोडेर उपचारमा अर्को सफलता

0
637

बिर्तामोडस्थित वी एण्ड सी टिचिङ हस्पिटलले एक महिलाको हात र तीन वटा औंला छिनेको १८ घण्टापछि शल्यक्रियामार्फत जोडेर जटिल उपचारमा सफलता हासिल गरेको छ । दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिबाट उक्त उपचार सम्भव भएपछि चिकित्सा क्षेत्रमा नयाँ आशा पनि जागेको छ । पाँचथरको ओयाम घर भएकी ४५ बर्षीया देवीमाया डाँगीको देब्रे हातको नाडी र तीन वटा औंला मानसिक सन्तुलन घुमाएका उनका श्रीमानले कट्टीले काटेर छिनाएका थिए । घटनाको करिब १८ घण्टापछि मात्र डाँगीको हातको शल्यक्रिया गरिएको चिकित्सकको भनाइ छ । शरीरका हातखुट्टा जस्ता अंग छिनेको ८ घण्टाभित्र हस्पिटल पु¥याइए त्यसलाई बचाउन सकिने सम्भावना बढी हुने तर त्यसपछिको अवस्थामा भने बचाउन ग्राह्रो हुने हस्पिटलले आयोजना गरेको पत्रकार सम्मेलनमा चिकित्सकले बताएको कुरा समाचारमा आएको छ । तर, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगबाट १८ घण्टापछि पनि हातलाई जोडेर बचाउन सफल भएको घटनाले घाइते र उनको परिवारमा त खुशी छाएकै छ, चिकित्सक पनि अझ उत्साहित भएका छन् ।
वीएण्डसी हस्पिटलले यसअघि पनि झापा बुधवारे–१ होक्सेका ५० बर्षीय हर्कबहादुर सुब्बाको छिनेको नाडी गत पुसमा शल्यक्रियामार्फत जोड्न सफल भएको थियो । हस्पिटलका बरिष्ठ अर्थोपेडिक चिकित्सक निराजन पराजुलीको टिमले ती दुबै जटिल शल्यक्रियामा सफलता हासिल गरेको हो । त्यस्तो सफलता प्राप्त गरेपछि चिकित्सक पराजुली र हस्पिटललाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै सोही हस्पिटलमा न्यूरो सर्जन चन्द्रप्रकाश लिम्बू नेतृत्वको टोलीले गत चैत २९ गते आचार्य पुष्पलाल निरौलाको ब्रेन ट्युमरको जटिल शल्यक्रियामा सफलता हासिल गरेको छ । यी केही उदाहरण मात्र हुन् । हस्पिटल स्थापना पछि आधुनिक सुविधा सम्पन्न अस्पताल भवन र अत्याधुनिक प्रविधिका साथ दक्ष चिकित्सकहरूले मेची अञ्चलवासीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको सेवाग्राहीको भनाइ छ ।
पहिले चिकित्सक र हस्पिटलमा पुग्न नपाई धेरै विरामीको मृत्यु हुने गरेको अवस्थाबाट गुज्रिएको हाम्रो समाजले अहिले त्यो अवस्थाबाट मुक्ति पाएको छ । सामान्य बाहेक सबै खाले रोगको उपचारमा कि त भारतका शहर कि त नेपालको राजधानी नै पुग्नुपर्ने अवस्था टर्दै गएको छ । मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र झापाको बिर्तामोड स्वास्थ्य क्षेत्रका लागि भरपर्दो उपचार केन्द्र पनि बन्दै गएको छ । वी एण्ड सी, विर्तासिटी, मेडिका, मनमोहन, कञ्चनजंघा, कनकाई, अञ्जलि जस्ता हस्पिटलले दक्ष चिकित्सकको व्यवस्था गरी विरामीलाई सेवा दिँदै आएका छन् । निलकण्ठ डाइग्नोष्टिक एण्ड पोलोक्लिनिक, अपूर्व फार्मेसी एण्ड कनकाई डाइग्नोष्टिक सेन्टर, भरोषा पोलिक्लिनिकले पनि बिर्तामोडमा भरपर्दो उपचार सेवा दिँदै आएका छन् । यो मेची अञ्चलवासीका लागि खुशीको कुरा हो । समयसापेक्ष आधुनिक प्रविधि र दक्ष चिकित्सकको व्यवस्था गरी स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउनुपर्ने हस्पिटलको दायित्व पनि हो । यो सन्दर्भमा बिर्तामोडका हस्पिटल समय अनुसार स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन अग्रसर त देखिएका छन् नै अझ हात छिनेको, ब्रेन ट्युमर जस्ता जटिल समस्याको पनि सफल शल्यक्रिया बिर्तामोडमै सम्भव भएपछि आम सर्वसाधारणमा नयाँ आशा पनि जागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here