बिर्तामोड, कात्तिक २६ । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७२÷०७३ मा सम्पन्न भएका योजनाको समीक्षा गरेको छ । शुक्रबार बिर्तामोडमा आयोजित एक भेलाका बीच समीक्षा गरिएको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नगर क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, एकीकृत योजना तर्जुमा समितिका पदाधिकारी लगायतको सहभागिता थियो । यस आर्थिक वर्षमा १५ जनाको पाठेघरमा भएको क्यान्सरको शल्यक्रिया गरिएको, एकीकृत सम्पत्ति कर लागु गरिएको, बर्थिङ सेन्टर स्थापना गरिएको, ४ वटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको र कृषिथोक बजारमा विषादी परिक्षण प्रयोगशाला स्थापना गरिएको विषयलाई नगरपालिकाले प्रमुख उपलब्धि मानेको छ ।
यस आर्थिक वर्षमा नगरको कुल बजेट १६ करोड ५१ लाख ८५ हजार रुपैयाँ रहेकोमा १४ करोड ६३ लाख ८६ हजार रुपैयाँ खर्च भयो । त्यस्तै, सामाजिक सुरक्षा भत्तातर्फ ४ हजार २६६ जनालाई २ करोड ४८ लाख २३ हजार रुपैयाँ वितरण गरियो । त्यस्तै, १४ लाख ६३ हजार रुपैयाँ फ्रिज भएको जनाइएको छ । आगामी आर्थिक वर्ष ०७३÷०७४ मा ४ हजार ४६१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने तथ्याङ्क बताउँछ ।
कार्यक्रममा नगरपालिकाले गरेको भौतिक प्रगति बारे जानकारी दिँदै कर्मचारी प्रेम दाहालले यस आर्थिक वर्षमा सडक मर्र्मत, कालोपत्रे, कल्भर्ट निर्माण, सिञ्चाई, पोखरी, सडक, पुल, ढल निकास, विद्यालय भवन मर्मत, नगरपालिका कार्यालयको भवन निर्माण, वर्थिङ सेन्टर, स्वास्थ्य÷उपस्वास्थ्य चौकी मर्मत, सौर्य सडक बत्ती जडान लगायतका काम सम्पन्न भएको बताए । यस आर्थिक वर्षमा वडा र नगरस्तरीय गरी २९८ वटा योजना परेकोमा २७८ वटा योजना मात्र सम्पन्न भए भने २० वटा योजना सम्पन्न हुन सकेनन् ।
अहिले विर्तामोड नगरपालिकाले ८४ वटा स्थानमा दमकल सेवा दिइरहेको छ भने यस आर्थिक वर्षमा १७८ वटा छाडा कुकुरको बन्ध्याकरण गरिएको छ ।
कार्यक्रममा काङ्ग्रेसका रामलाल उप्रेती, नेकपा एमालेका ज्ञानुराम प्रसाईं, माओवादी केन्द्रका अरुण श्रेष्ठ, नेकपा–माओवादीका मोहन उप्रेती, राप्रपा नेपालका शङ्कर रिजाल, फोरम लोकतान्त्रिकका रामु सिंह लगायतले बोलेका थिए । अधिकृत पदमलाल घिमिरले कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत गरेका थिए ।