‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्, परोपकार पुण्याय पापाय पर पिडनम्’ व्यासजीले अठार पुराण लेख्नुभयो । सारांशमा दुईवटा कुरा भन्नुभयो ‘अर्काको उपकार पुण्य हो भने अर्काको अपकार पाप हो’ । ज्यादै सार्दभिक प्रसङ्ग छ । तेत्तिसकोटी देवता भनिन्छ । जीवधारी प्राणी, वनस्पति जम्मा तेत्तिस कोटी भएकाले सबैलाई ईश्वर ठानी भनिएको हो । त्यसैले जीवधारी प्राणीमात्रको कल्याण गर्नु धर्म हो । यसै शिलशिलामा हाम्रा हिन्दू परम्परामा दानदक्षिणा गरेर प्राणीमात्रको आत्मा सन्तोष बनाउने उद्देश्यका साथ कर्मकाण्ड, दानदक्षिणा आदि गर्ने परम्परा रह्यो । वास्तवमा भोकालाई खान दिनु, नाङ्गालाई वस्त्र दिनु, समस्यामा परेकालाई मन, वचन र कर्मले सहायता गर्नु नै धर्म रहेछ । सबैखाले धर्मको सार परोपकार नै हो । प्राणी मध्येको सचेत मानवले सेवा गर्दागर्दै प्राणान्त हुनु र भौतिक शरीर भोका प्राणीलाई खान दिएर भोक मेटाउनु भनेर मरणोपर्यन्त सेवालाई जोड दिइएको छ । हाम्रा आध्यात्मिक ग्रन्थ, प्रचलन, संस्कार, संस्कृति सबैले यस उद्देश्यमा हिँड्न प्रेरित गरेका छन् ।
दान शब्दले कुनै पनि वस्तु अर्काको हकमा गरिदिने काम, अधिकारको हस्तान्तरण, धार्मिक भावनाले गरीवगुरुवालाई अन्न, वस्त्र, पैसा आदि वितरण गर्ने कामलाई संकेत गर्दछ । दिनु शब्द उपकारको पर्यायवाची शब्द हो । गरीव दुःखी, असहायहरुलाई दान दक्षिणा दिएर सेवा र सहयोग गर्न नै हाम्रा कर्मकाण्ड बनेका छन् । खाली फरक के मात्र भने ब्राह्मणलाई मात्र दिनु भनेर अलिक संर्कीर्णता ल्याएको मात्र हो । वास्तवमा जसलाई हर्जा वा आवश्यक छ, त्यस्तालाई दिएर उसको अन्तरआत्मा सन्तुष्ट बनाउने काम नै दान, परोपकार र सेवा हो । कसैको गाठो परेको हृदयलाई अर्ति, सल्लाह सुझाव, प्रेरणा, उत्साह दिएर शान्त पार्नु पनि दानभित्र पर्दछ ।
१. सम्पत्ति प्रयोगका तीन अवस्था रहेछन् । पहिलो सम्पत्ति त्यो हो जसले दीर्घकालीन रुपमा दान दातव्य, अक्षयकोष, समाज सेवाका विविध कार्यमा लगाउँछ । यदि त्यसरी दान दातव्यमा कञ्जुस्याई आउँछ भने दोस्रो स्टेपमा खावोस, लावोस, मोजमजा गरोस् । यो पनि नगरे र रहेको तेस्रो वर्गको सम्पत्ति सञ्चिताका लागि मात्र हुन्छ । यस्तो सम्पत्ति भावी सन्तान कुलतमा लाग्नु र झगडाको गुण हँुदोरहेछ । हाल अड्डा अदालत हेर्नु हो भने खाली सम्पत्तिका मामला मात्र छन् । त्यसैले सन्तानलाई सम्पति होइन, संस्कार दिनु पर्दछ ।
श्रद्धा इति श्राद्ध । दिवंगत पितृहरुको आत्मा शान्तिको कामना गर्दै उहाँहरुका नाममा कसैलाई उपकार गर्न यस्ता श्राद्ध, व्रत, तीर्थ आदि गरिन्छन् । सबै प्रकारका दानहरु उत्कृष्ट सेवा सहयोगभित्र पर्दछन् ः भने दान शब्दका अगाडि अक्षय पद लागेर अक्षयदान भने दानहरु मध्येको महादानभित्र पर्दछ । क्षयः भन्नाले नाश हो भने अक्षय भन्नाले नाश नहुने अर्थ हो । त्यसैले कुनै पनि संघ–संस्था, मठ–मन्दिर, देवालय, विद्यालयहरुका नाममा एकपटक जम्मा रहेको रकम चन्द्रसूर्य रहुञ्ज्याँल साँवा रहिरहने र त्यस कोषबाट प्राप्त ब्याज रकम सेवा, सहयोग र उपकारमा खर्च भइरहने जेष्ठ, श्रेष्ठ, उत्तम, सर्वोत्कृष्ट कर्म हो ‘अक्षयकोष दान’ ।
विशेष गरी मठ–मन्दिर, देवालय विद्यालयहरुलाई प्रभावकारी सुसञ्चालनमा अक्षयकोषको महत्वपूर्ण भूमिका रहन्छ । वर्तमान परिवेशलाई हेर्दा कुनै पनि सामाजिक धरोहरका लागि अक्षयकोष जम्मा नगर्दा भविष्य उज्वल देखिँदैन । यसै ध्रुवसत्यलाई दृष्टिगत गरी वर्तमानमा अक्षयकोष स्थापनाको लहर चलेको छ जो दानहरु मध्येको राजा र प्रभावकारी कदमको रुपमा लिनुपर्ने हुन्छ । अन्यथा नहुने गरी पंक्तिकारको अनुभव राखांै– शिक्षा सेवाका सन्दर्भमा विद्यालयहरुमा तत् स्थानका दाता महानुभावहरुले आ–आफ्ना दिवंगत पितृहरुका नाममा सेवा दिनेगरी स्थापना गरेका अक्षयकोष र त्यसबाट प्राप्त ब्याज मध्येको रकम वितरण गरेको अवस्थाले मन छोयो । आफ्नो वृत्ति विकासको आधार विद्यालय भएको हुँदा र गरिब तथा जेहेन्दार भविष्यका कर्णधार विद्यार्थीले थप सेवा प्रेरणा र प्रोत्साहन प्राप्त होस् भन्ने उद्देश्य राखी चारवटा विद्यालयहरुमा यथाशक्य कोष स्थापना गरेका छौं । दिवंगत पितृहरुकमा नाममा ‘स्मृति अक्षयकोष’ भनेका छौं भने आफ्ना लागि ‘वृत्ति विकाश अक्षयकोष’ भनेका छौं । विधिवत् सञ्चालनको विधान निर्माण गरी विद्यालयलाई हस्तान्तरणसहित वार्षिक वृत्ति वितरणमा सरिक रहेका छौं । तथापि रकम जम्मा राख्ने सम्बन्धमा भने केही असजिलो भएका महशुस गरेका छौं ।
रकम जम्मा राख्न विश्वासिलो वित्तीय संस्था र बढी ब्याजबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुन सकुन् भन्ने उद्देश्यमा विद्यालय परिवारसँग हार्दिक सहयोग सेवाको अपेक्षा राख्दछौं । साथै यस्तो कोष विद्यालय, मठमन्दिरको अत्यन्त व्यवहारिक र गहनाको रुपमा लिन समेत यो लेखमार्फत् आग्रह गर्न सान्दर्भिक ठान्दछौं ।
प्रशंसनीय कार्यको प्रशंसा गर्नु हाम्रो कर्तव्य भित्र पर्दछ । श्री आदर्श मावि जयपुरमा १३ जना अक्षयकोष दाताहरुबाट स्थापित कोषलाई सञ्चालन गर्दै आएका छौं । वार्षिकोत्सवको सन्दर्भमा दाताहरुको निर्णयबाट प्रायः सबै विद्यार्थीहरु (खेलकुद, साहित्य, उत्कृष्ट, गरीव, जेहेन्दार, हाजिरी, सफाई, अनुसासन) लाई समेटेर प्रोत्साहन स्वरुप नगद, स्टेशनरी, पोशाक, प्रशंसा पत्र दिने गरेका छौं । अझ प्रभावकारी परिचालनका लागि उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक समेतलाई प्रोत्साहित गर्दै रहेका छौं ।
अर्को अत्यन्त प्रशंसनीय कार्य यसै बुद्धशान्ति– २ गोपाल डाँडास्थित श्री सरस्वती आधारभूत विद्यालयले सम्पन्न गरेको छ । विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा श्रीमद्भागवत महापुराणसहित शिक्षा अक्षयकोषव्यापक रुपमा जुटाएको छ । पुराण वाचनको उद्घाटनकै दिन स्थानीय दानवीर दाता गिरीराज दाहाल, डा. भक्तराज दाहाल र कृष्णराज दाहालसहित दाहाल परिवारले आफ्नो पूजनीय अग्रज दिदी विष्णुकुमारी दाहालको स्मृतिमा चारलाख रकमको अक्षयकोष घोषणा गर्नुभयो । दाहाल परिवारको यो अतुलनीय सेवा कार्यको जति प्रशंसा गरेपनि कम हुन्छ । त्यसैगरी निमन्त्रणा–पत्रको पहिलो प्राथमिकता शिक्षा अक्षयकोष स्थापना भनिएको उक्त महान यज्ञमा करिव २३ लाख बराबरको रकम जम्मा भएको छ । यस पुनित महायज्ञरुपी अक्षयकोषमा पूर्व विद्यार्थी, पूर्व शिक्षक, जग्गादाता, आम अभिभावकको सकारात्मक दानको परिणाम हो । देश विदेशबाट संकलित रकम जम्मा गरी ढिकुटी भर्नका लागि यो थालनी मात्र हो । भकारी खुला छ, जहाँ जतिबेला पनि रकम थप गर्न सकिन्छ । ५० हजार माथि एकमुस्ट रकम दिनेलाई व्यक्तिगत विधान निर्माण गरी गराई दानको उच्च कदर गरिने छ भने त्यसभन्दा कम रकम दाताहरुलाई एकमुष्ट रकम जम्मा गर्ने र सामूहिक विधान निर्माण गर्ने योजना रहेको छ । सम्पूर्ण दाताहरुलाई हार्दिक आभार व्यक्त गर्दै उक्त रकमलाई पूर्ण सदुपयोग गर्ने गराउने वाचा लिइएको छ । यस पुनित कार्यको प्रशंसा गर्दै अन्य विद्यालयहरु, मठ–मन्दिर, देवालयहरुलाई दीर्घकालीन स्रोत जुटाउनेतर्फ सक्रिय रहनु आवश्यक ठान्दछौं ।
कोष सदुपयोगको सदर्भमा एउटा कथा– खप्परको भाडो, कागको मासु, मसानघाटको दाउराबाट पकाउँदै रहेछन् । त्यही बाटोबाट अर्को यात्रु हिँड्दा अर्को खप्परले त्यो छोप्न थालेको देखेर बटुवाले सोधेछन् पकाउनेवालाले यो अशुद्ध खानामा अझ कुनै पनि मठ–मन्दिर, देवालय, विद्यालयको रकम हिनामिना गर्नेको चरणको धुलो पर्छ भनेर छोपेको भनेछन् । भन्नुहोस् दान दातव्यको रकम हिनामिनाभन्दा ठूलो कुकर्म कुनै हुनेछैन ।
अन्त्यमा, यहाँ नगरे कहाँ गर्ने ? मैले नगरे कसले गर्ने? आजै नगरे कहिले गर्ने ? उदगारलाई पूर्ण सकारात्मक सोचको साथ यत्र तत्र सर्वत्र संघ–संस्थामा व्यापक अक्षयकोष जम्मा गर्ने उत्साह, प्रेरणा मिलोस् ।


























