(पार्थ मण्डल)
भद्रपुर, हावाहुरीले विद्युतीय उपकरणमा २२ लाख बढीको क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले जनाएको छ ।
भद्रपुर वितरण केन्द्र अन्तरगत मेचीनगर, बुद्धशान्ति, भद्रपुर, हल्दिवारी, कचनकवलका स्थानीय तहमा हावाहुरीले विद्युतीय पोल र ट्रान्सर्फमरमा क्षति पुर्याएको केन्द्र प्रमुख राम उदगर साहले जानकारी दिए । मंगलबार राती झापामा मेघ गर्जन, हावाहुरीसहित आएको असिना पानीले सिमेन्टी र काठको गरी ४५ वटा विद्युतीय पिलर लडाएको थियो । विद्युतीय पोल लडदाँ बुधवार विहान १० बजे सम्म विद्युत सेवा ठप्प रहेकोे थियो ।
अहिले पनि केही स्थानीय तहका वडाहरुमा विद्युत सेवा अवरुद्ध रहेको केन्द्र प्रमुख साहले बताए । उनका अनुसार मंगलबार राती भद्रपुरमा १३, हल्दिवारीमा ७, मेचीनगरमा ७, कचनकवलमा ११ केभीको एउटा र बुद्धशान्तिमा ११ केभीको ३ वटा विद्युतीय पोल लडेका थिए ।
विद्युतीय पोल लडेको स्थानमा पोल गाड्ने काम भइरहेको छ । ‘कचनकवल १ स्थित साविक घेरावारीमा विद्युतीय सेवा अवरुद्ध छ’, केन्द्र प्रमुख साहले भने, ‘घेरावारी जोड्ने ११ केभी प्रसारण लाइनको पोल नै हावाहुरीले लडाइ दिएको छ, पोल गाड्ने काममा कर्मचारी खटाइसकेका छौ ।’ ‘पोल लडेको स्थानमा कतै विद्युत सुचारु भइसकेको छ, भने कतै विद्युत अवरुद्ध छ, उनले भने ।
गत चैत ३० गते आएको हावाहुरीले समेत क्षति पुर्याएको छ । सो दिन आएको हावाहुरीले बुद्धशान्तिमा ३३ केभीको एउटा, ११ केभीको ८ र सडकका १० वटा पोल गरी १९ वटा पोल लडाएका थिए । भद्रपुरका अस्पताल चोकमा रहेको २०० केभीको ट्रान्सफर्मरमा चट्याङले हान्दा ट्रान्सफर्मर नै जलेको वितरण केन्द्रले जनाएको छ । ‘गत बर्ष भन्दा यसबर्ष हावाहुरी बढी क्षति पुर्याएको छ’, केन्द्र प्रमुख साहले भने, ‘अझै हावाहुरी आउन समय बाँकी रहेकोले थप क्षति पुर्याउने सक्ने देखिन्छ ।’
वितरण केन्द्र अन्तरगत सडकमा ११ सय बढी काठको विद्युतीय पोल रहेको छ । चालु आर्थिक बर्षमा एक सय र गत बर्ष १ सय ५० काठको पोल हटाएर सिमेन्टीको पोल लगाइसकेको जनाइएको छ ।