झापामा सहिद सुरज र राजनको १३ औं स्मृति दिवस मनाइयो

0
773

भद्रपुर,

दोस्रो जनआन्दोलनका सहिद सुरज विश्वास र राजन गिरीको १३ औँ स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ। ०६२/०६३ को प्रजातान्त्रिक जनआन्दोलन क्रममा २०६३ वैशाख ६ गते झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदान दिएका थिए।

सोही दिनको सम्झनामा शुक्रबार सहिद सुरज विश्वास पार्क निर्माण समितिले श्रद्धाञ्जलिसभा सम्पन्न गरेको छ। भद्रपुर ६ मा निर्मित सहिद सुरजको अर्धकदको शालिकमा मल्याअर्पण गर्दै सहिदले दिएको बलिदानलाई सहभागीहरूले सम्झेका थिए। सहिद सुरज विश्वासपार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्ष तथा नेकपाका प्रदेश कमिति सदस्य पुष्पराज पोखरेलको प्रमुख आतिक्ष्यतामा भएको कार्यक्रममा सहभागिहरुले देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्नमा सहिदले दिएको बलिदानको मूल्यांकन जनप्रतिनिधिहरुले चुकाउन बेला आएकोमा जोड दिएका थिए।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठ, नगरका उपप्रमुख चन्द्रामायाँ श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य तोया गडतौला लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा सहभागी सहिद सुरजकी माता मीना विश्वासको स्वास्थ्य बिमा नभएकोले भद्रपुर नगरपालिकाले बिमा बनाइदिने नगर प्रमुख श्रेष्ठले घोषणा गरेका थिए। स्वागत मन्तव्य समितिकी उपाध्यक्ष सन्ध्या हाडाले राखेकी कार्यक्रमको सञ्चालन सचिव दिपक अग्रवालले गरेका थिए।

त्यसैगरी, सहिद सुरज विश्वासको १३ औ स्मृति दिवसको अवसरमा चन्द्रगढी एयरपोर्ट जीप तथा ट्याक्सी व्यवसायी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संघद्धारा निर्माणाधिन अवस्थामा रहेको सहिद सुरज विश्वास स्मृति भवन परिसरमा आयोजित रक्तदान कार्यक्रममा एक महिलासहित ३१ जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा संघका सल्लाहाकार असारु राजवंशी ६० औं र व्यवसायी रमेश न्यौपानेले ५५ औ पटक रक्तदान गरेका थिए। संघका अध्यक्ष विजय वैधको अध्यक्षता तथा नागरिक उडड्यान कार्यालय भद्रपुरका सहायक प्रमुख किशोरकुमार खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग भएको थियो।स्वागत मन्तव्य देवीबहादुर श्रेष्ठले राखेको कार्यक्रमको सञ्चालन संघका सचिव हरिप्रसाद गौतमले गरेका थिए।

उता सहिद राजन गिरीको घरमै पुगेर नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति झापाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। संघको स्थापना दिवसको अवसर पारेर नेवि संघ झापाले सहिद राजनको अर्धकदको शालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाएको संघका भुवन बुढाथोकीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here