अस्पताल आउनेमा बाँझोपनको समस्या कम

0
681

दमक।

अस्पताल तथा विशेषज्ञसम्म आइपुगेपछि आधाभन्दा बढीको बाँझोपनको समस्या सामधान हुने गरेको स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुले बताएका छन् ।

बिभिन्न रोगहरुका कारण समस्या भएको हुनसक्ने भएकाले समस्या पहिचान भएपछि त्यस अनुसार काउन्सिलीङ र उपचार गर्दा धेरैले गर्भधान गरेको बताइएको छ । भारतको न्यू लाइफ फर्टिलिटी सेन्टर सिलिगुढी र ओम मेची अस्पातल दमकको आयोजनामा दमकमा भएको निःशुल्क बाँझोपन समस्या सम्बन्धीको स्वास्थ्य शिविरमा सहभागी विशेषज्ञहरुले यस्तो बताएका हुन् । पहिला महिलाहरुलाई मात्र यसमा दोष दिने गरे पनि पछिल्लो समयमा त्यस्तो गलत धारणा हट्दै गएको र दम्पत्ति नै सल्लाह लिन आउने गरेको पनि बताइएको छ ।

स्त्री रोग विशेषज्ञ डा. शंकर हुजदारका अनुसार डिम्बवाहिनी नली बन्द हुनु पनि बाँझोपनको प्रमुख समस्याको रुपमा देखिने गरेको छ । यसको मुख्य कारण पाठेघरमा क्षयरोग एउटा मुख्य कारक भएको डा. हुजदारले बताए । यो जाँच गरेपछि मात्र थाहा पाउने भएकाले धेरैलाई यस बिषयमा जानकारी नहुने गरेको बताइएको छ ।

पाठेघरको संक्रमण पनि अर्को महत्वपूर्ण पाटो भएको बताइएको छ । यौन सम्पर्कबाट सर्ने रोगका कारण डिम्बवाहिनी नलीका इन्फेक्सन तथा इन्फ्लामेसन हुँदा डिम्बवाहिनी नली बन्द हुने बताइएको छ । ‘अस्पतालमा आएर बिशेषज्ञबाट परामर्श तथा उपचार शुरु गरेपछि कम्तिमा ५० प्रतिशत बाँझोपन प्रारम्भिक चरणमा नै ठिक हुन्छ’ –हुजदारले भने । भारतको न्यू लाइफ फर्टिलिटी सेन्टरकी बिशेषज्ञ सेफली बन्सल माधवले बाँझोपन समस्या धेरै हदसम्म सामधान गर्न सकिने बताए । उनले आफूहरुले नेपालकै एक महिलाको ५७ बर्षको उमेरमा गर्भाधान गराउन सफल भएको बताए । ‘पछिल्लो पटक ५७ बर्षको उमेर नेपालकी एक महिला आमा बनेकी छिन् जसले हामीलाई धेरै खुसी लागेको छ’ –उनले भने ।

सेन्टरका अर्का विशेषज्ञ डा.प्रशनजीतकुमार रोयले बार्षिक रुपमा नेपालबाट पाँच सयभन्दा बढी दम्पत्ति बाँझोपन समस्या लिएर आफूहरुकामा आउने गरेको जनाए । यहाँ यो एक प्रकारको समस्या रहेको पाएकाले आफूहरुले नेपालमा नै आएर यस प्रकारको स्वास्थ्य शिविर स्थानीय अस्पतालको आयोजनामा गरिएको उनले बताए ।

शिविरको उद्घाटन गर्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खानपिन लगायतका कारणले बाँझोपन समस्या बढेको भन्ने आफूले सुनेको बताउँदै यसमा सचेत हुनुपर्नेमा जोड दिए । उनले बाँझोपन सम्बन्धी दमकमा विशेषज्ञहरुसहित पहिलो पटक यस प्रकारको शिविर भएको भन्दै यसबाट धेरैले लाभ लिने बताए । ‘बाँझोपन समस्या लुकाएर होइन विशेषज्ञकोमा गएर सामधान गर्न सकिन्छ भन्ने सबैले बुझ्नु पर्दछ’ –ओलीले भने ।

ओम मेची अस्पतालका अध्यक्ष डा. निरञ्जनसिंह बोगटीका अनुसार दुई सय जना बाँझोपन समस्या भएका महिला तथा पुरुषहरुले शिविरबाट सेवा लिएका छन् । ल्याव परीक्षण लगायतका सेवाहरु समेत शिविरमा प्रदान गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here