उँटको गोठालो बन्नुभन्दा आफ्नै देशमा ब्यवसायमा रमाउदैं सूर्य

0
550

झापा ।

बैदेशिक रोजगारीमा जाने संख्यामा झापा कुनै समय पहिलो नम्बरमा थियो । प्रत्येक घरका युवाहरु बिदेशिएका थिए । अहिले पनि युवापुस्ताले देशमा केही भएन भन्दै बैदेशिक रोजगारी नै रोज्ने गरेका छन् । नेपालमा बसेर कमाउन सकिन्न भन्ने उनीहरूको बुझाइ छ । त्यसैले उनीहरू उमेर पुग्नासाथ राहदानी बनाउँछन् र रोजगारीका लागि बिदेशिन्छन् ।

विदेशमा पनि कतिको राम्रै हुन्छ भने कतिले आफू जाँदाको ऋण पनि तिर्न सक्दैनन् । विदेशमा धेरै धन कमाउने र परिवारलाई सुखले पाल्ने सपना बोकेर झापाको झापा गाउँपालिका–६ भृकुटीका ४० वर्षीय सूर्यबहादुर भण्डारी वि.सं.२०६० सालमा युएई गए । काठमाडौंको बरुण ओभरसिजबाट सुपर मार्केटमा काम गर्न भनेर गएका भण्डारी उँटको गोठालो बन्न पुगेपछि त्यहाँबाट कहिले नेपाल फर्कौला मात्र सोच्न थाले ।

आफूसँगै गएका उदरपुरका साथी मोहन कार्कीलाई उँटले लात्तीले हान्दा गम्भीर घाइते भएपछि काम नै छाडेर घर फर्किने निर्णय गरे । ९० हजार तिरेर युएई पुगेका उनलाई पुनः डेढ महिना पछि परिवारले ऋण खोजेर २० हजार रुपैयाँ पठाएपछि उनले स्वदेश फर्किएर र नेपालमा नै केही गर्ने अठोट गरे ।

घर फर्किए लगत्तै भण्डारीले १२ हजार रुपैयाँको लागतमा ब्रोइलर कखुरा पाल्न थाले । उनले नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाएर कुखुरा पालनतर्फ लागेको बताए । ब्रोइलर कुखुरामा रोग लाग्न थालेपछि भण्डारीले ६ वर्षअघिबाट लेर्यस कुखुराको व्यवसायिक पालन शुरु गरे । उनले त्रिशक्ति पोल्ट्री फर्म दर्ता गरेर सञ्चालन गरेका छन् । उनले विशेषगरी अण्डा उत्पादनका लागि पालिने लेयर्स जातका सात हजार कुखुरा पालिरहेका छन् ।

सात हजार कुखुरा अटाउन सक्ने क्षमताको व्यवस्थित खोर बनाएका उनले व्यवसाय शुरु गरेको ६ वर्ष भएको छ । चल्ला हालेको ६ महिनादेखि लगातार १८ महिनासम्म अण्डा दिने लेयर्स जातका कुखुराबाट पहिलो चरणमा राम्रो आम्दानी हुने उनको भनाइ छ । दाना, पानी, पोषक तत्वलगायत आवश्यक खुराक पु¥याउन सके, कुखुराको स्वास्थ्य अनि स्याहार चाकरमा ध्यान दिन सके ९७ प्रतिशतसम्म अण्डा उत्पादन हुने भण्डारीको भनाइ छ ।

उनी आफू मात्र रोजगार भएका छैनन्, अरूलाई पनि रोजगार दिन सफल भएका छन् । उनले प्रत्यक्ष रूपमा दुई जनालाई फार्ममा रोजगारी दिएका छन् । उक्त व्यवसायमा अहिलेसम्म एक करोड रूपैयाँ लगानी भइसकेको भण्डारीले जानकारी दिए । सात हजार कुखुराले १८ महिनासम्म दैनिक अण्डा दिने बताउँदै उनले अण्डा संकलन गर्न भ्याइनभ्याई हुने गरेको उल्लेख गरे । आफ्नो फार्ममा उत्पादन भएका अण्डाहरु झापासहित पूर्वका बजारहरुमा निर्यात हुने गरेको उनको भनाइ छ ।

उनले अण्डाको मूल्यमा गिरावट नआएमा आफ्नो लगानी चाँडै उठाउने विश्वास व्यक्त गरेका छन् । मासिक १२ लाख रुपैयाँ खर्च भएर एक–डेढ लाख रुपैयाँ बचत हुने गरेको भण्डारीले बताए । भण्डारीले लेयर्स जातका चल्लाहरु चितवन, दाङ, हेटौडा लगायतका स्थानबाट ल्याउने गरेको भन्दै ब्रोइलर जातका कुखुरामा ४५ दिनभित्रमा धेरै प्रकारका रोगहरु देखापरेपछि आफूले लेयर्स जातको कुखुरा पालन शुरु गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here