अब चोरलाई पनि कडा स्वरले दपेट्न पाइन्न अरे

0
450
व्यंग्यनारान पाँडे,

“अब त पत्यायौ होला नि हाम्रो बउमतको कमिनिस सर्खारले एस देशाँ समबिर्दि लेराइवरि हामी होल–टोट्टल नेपालीलाई सुखी बनाउन थालेछ भन्ने, हँ पाँडे भाइ ?”— भन्दै आएका गौंथलीको बाऊ बरण्डाको चिसो सिमेन्टमा थ्याच्च बसे । उनको यो बसाइको शैली हेर्दा करैले बोक्नु परेको भारी टुङ्गोमा पुर्याएपछि झर्केर बिसाए जस्तो भान हुन्थ्यो ।

र, गन्गनाए— “ओफ्, गर्मी पनि कति हुँदोरछ यो ताता घाममा पइदल हिन्दा ! पञ्चेतका बेला पिउर अर्गेनिक राजभक्त पञ्चबाड काङ्रेस हुँदै अनुभभी सिधान्तबादी सिन्यार कम्रेट भइसक्ता नि एउडा मट्टरकार किन्न सकिया होइन ! माथि–माथिका बिकासेलाई पुगिसरि भएसि मेरो पालो आउँदासम्म आर्का–आर्का सर्खारले पालो फेरिसक्लान् कि म आफै कार मट्टर किन्ने आदेशपत्रको तोक हान्ने ठाममा ख्यास्स सि’नेचर धस्काउने ठाममै पुगिसक्या हुन्छु कि ।”…

उनले आज नाङ्ले पसलमा किन्न पाइने खालको पोलिस्टरे पूरा बाउले हाइनेक भेस्टमाथि पोलिस्टरकै गोगो कल्दरे सर्ट र त्यसमाथि मैलोले टिलिक्क टल्किएको हाफ ज्याकेट लगाएका थिए । अहिले गन्गन गर्दै त्यो ज्याकेट खोले, सर्टका बटनहरु फुकालेर छाती पनि ह्वाङ्लाङ्ग पारे र त्यसकै फेर तानेर पसिना पुछेपछि भने— “अब नेपाल देशका हामी टोट्टल नेपालीलाई सर्खारले ब्राबरी रुप्पेको मालिक बनायो क्या पाँडे भाइ, ब्राबरी रुप्पेको मालिक । पर्धानमंत्री केप्पी ओली, ग्यान्यान्र र हाम्रा कम्रेट हरिराम पँडित बाजेकाँ उन्का बाऊका पालादेखुन् बस्या मुखमा बोली नभ’को बनमान्छे जस्तो गोठालोको ब्राबरी बासृक इन्कम एक हज्जार चउँतीस डल्लर भन्या नेपाली नेरु रुप्पे एक लाख नउ हज्जार छस्सेह चार ग्याम्म !”

उनको अनुहार उज्यालो भयो, उनको मुख मिठ्याए ।
मैले सोधें— “कसो अरे दाइ ?”
अचम्म माने झैं उनले भने— ‘एत्तेरी ! हन तपइँलाई केइ मालम छैन कि क्या हो हँ ?”
मैले फेरि प्रश्नै गरें— “के दाइ ?”

उनले दिक्क माने झैं अनुहार बिगारेर भने— “मैले जस्तो बेहान–बेहान र बेल्का–बेल्का रेड्यो–टीबीबड खबर न्यूच सुन्नु, पत्रिकाको अक्बार पढ्ने गर्नु, कम्पुटरमा लेन्लइन टेलिफुन जोरेर इन्टन्र्याट खोलेर फेसुक हेर्नु क्या । बेल्का हुन अलि अगाडि कैलु बेहारीको भट्टी–हुटेलाँ एतातिरका र मेची पारी गलगले–ठाक्कुरगञ्जा–बतासीतिरका सत नभनम् गोडा दशबारेक बोलइया–बोलइया त सँद्दै भेला भाका हुन्छन्, त्याँ जाने गर्नु क्या । जे जान्न मुन लागो तेइ जानिन्छ ।

भात खाने मान्छे भ’र एस पिर्थिभि माताका काखमा बाँचेसि मान्छे जस्तो होउ भन्ने मेरो सज्जेक्सन हो, टेर्नु–नटेर्नु के गर्छाै तो चइँ म कर गर्दिन । नाइँ त भने म जस्तो सिन्यार र एस एरिआको नम्बरी कम्रेटलाई फेदैबड चिन्या तपइँलाई हाम्रो सर्खारले तपइँ, कम्रेट हरिरामको गोठालो, कम्रेट काइँलो, क्या त जंगल–जंगलबड दाउरा लेरा’र च्या दोगानहर्मा बेच्ने काम गरेर घर–बेभार चलाउँछ नि बिचारा ? हो ऊ, कम्रेटनी मैदाल्नी आमै इत्तेदि होल नेपालीको बासृक इन्कम एक हज्जार चउँतीस अमृकाने डल्लर बनाइसकिओरि एलाउन्सर गरिसको भन्ने जस्तो च्वाँकिलो कुराको न्यूच तपइँले चइँ नसुन्ने के कैफेत छ त ?”

मैले जानी–जानी नजानेको भएर भनें— “ए….तेसो भए त त्यो हरिराम पुरोहित बाजेको गोठालोलाई पनि दाइहर्को सरकारले लाखपति पो बनाएछ नि ? अर्को वर्ष अझै रेट बढाउँछ होला नि ?”

उनले बरण्डामै अर्कातिर मुन्टो फर्काएर थुकमा थोप्ला लचेप्रै देखिने गरी थुक्तै भने— “थुउउउक्क तपइँको बुद्दि ! तपइँ सम्बिर्दि लेराउने भन्ने रानीतिकको पोल्टिस नबुज्नेमा लास्टै फिस्सु ! हन देशमा एसरी सम्बिर्दि आइसको भन्ने उदारन दिन पो तो पढ्के गोठालो खडा गर्या त मैले । तो घिनलाग्दो झत्ते, मालिकको जुठोपुरो खा’र मालिककै थोत्रा–थाम्रा ला’र चइन्जोकेरे गाई गोठाँ एउडा थोत्रे घुस्सा मात्तै ओछ्या’र–ओडेर सुत्ने तेस्सिमालाने मरनच्याँसेले हाम्रा छेउमा के खान लाखपति हुन पाउँछ ? हाम्रो करयाप्च्याप्मा यो देश भउन्जेल तेस्ता तन्नम् ल्याङ्ठाले चानस पाउन एक बर्ख ससुरालीमा बसेर घीऊ–भात खा’र आउनुपर्छ, नत्र चानसै नट् !”

उनी भन्दै गए— “रुप्पे हुनेसित रुप्पे छइँछन्, रुप्पेले रुप्पे नै रुप्पे दनादन उम्राइराख्या छइँछन् । रुप्पे नहुने हिस्साको हिस्स छुइँछन् । एति सइलै बुजिने कुरो त बुद्नु नि । कि तपइँ मसित इत्रेर रेला गर्न खोद्दैछौ हँ ? अब त जिल्ला–जिल्ला र गाम्गाममा पनि हाम्रो नेपकाको सासन आइसको नि, होस्यारी गर । छोरोको मिर्तुले अउडामा परेको बाऊ र आफन्ताले बिलउना गर्न पनि हाम्रो पाटीको पर्मिशिन बिना नट् एलाउ भइसको क्या । झण्डिने ठामै नभको र परहरी नै परहरीको झाङ भका घरमा कुनै नाबालखको मिर्तु भो र परहरीले आँख्खा चिम्लेर ‘ए…तेल्ले त झण्डेर आत्माहत्ते पो खेलेको’ भनो भने पनि भनो–भनो ! उइले राणा सर्खार भका बेला ‘जंगेले बोलेसि बोलो–बोलो’ भन्या जस्तै ।

ए पाँडे भाइ, हाम्रातिराड हामी नेता खाले जे–जे बोल्छम् र हाम्रा सर्खारी मान्छेले जे–जे भन्छन् तेइ–तेइ थपक्कन मान्ने गर तपइँ । नाइँ त भनेर सर्खारको एगेनेसको गन्द आउने मात्तै कुरा मात्तै बोल्यौ भने पुगउला नि उस्तै टुङ्गामा र भइँमा सुती–सुती आफ्नै कपडाको पाशो ला’र झण्डिने खेल खेल्नु पर्ला नि ! तेस अबस्तामा तपइँका नातागोतालाई रोइ–कराइको हल्लाखल्ला गरेर डिस्टप गर्न पनि नट् एलाउ । मैले अग्गि नै भनिसकें–अब सप्पै जिल्लामा जस्तै हाम्रा दुई थान अदच्छे मउसूपहर्बड झापामा पनि नेपका सर्खार लेराइसी तेस्का पदादिकारी भर्ति गरिसिसक्या ट्याम शुरुको स्टाट भइसक्या छ । अब चोरलाई पनि ठूलो सोरले हकार्न पाइँदैन नि पर्मिशिन नलिइकन ।”
मैले पनि मौका पाएँ र छड्के हानें— “…चोरलाई पनि ठूलो स्वरले ‘चोर ! चोर !’ अथवा ‘खसी चोर’ ए खसी चोर !’ इत्यादि भन्दै लगार्न नपाइने भएपछि त दाइलाई पो पहिलो फाइदा हुने भएछ ।”

उनले तर्छेर भने— “के भन्या तो ?”
मैले कैरन लाएँ— “अस्ति नै कुन शनिबारेको कुरो हो । दाइको छिमेकी झुपडी टोला छेउको चौरीमा खुटेका दुईटा बाख्रामध्ये एउटा खसी चाहिँ देखेपछि दाइको आँत हर्हर् भएको । दाइका हातले दाइलाई थाहै नदिई त्यो खसीको किलो अटोमेटिक उखेलेको । दाइका हातले किलो र दाम्लो मुठएर छोड्न नमानेको । किलोमा बाँधिएको दाम्लोको अर्को टुप्पो खसीको गर्धनमा बाँधिएको हुँदा, दाइ आफ्ना जनबने कार्यकर्ताहरुको अभेक गाउँमा समृद्धिको प्रशिक्षण दिन गइरहनु हुँदा, त्यो खसी पनि दाइको पछि–पछि हिंड्न बाध्य भएको । दाइ र खसी लक्षित गन्तव्यमा पुगेर खसी काटकुट भई बेच्ने जति बेच्न नभ्याई, खाने जति खान नभ्याई र घर ल्याउने ल्याउन नभ्याई खसीधनीको नेतृत्वमा केही मान्छे र केही मदिनेको हुलले हात–हातमा लौरो बोकेर ‘चोर ! चोर !’ भन्दै खेद्दै नजिकै आइपुगेको ।

किलोबाट दाम्लो फुकाएर खसी त्यहीँ छोडेर दाइ मेची किनारको सेटिङवाला तस्करका ‘माल’ हिंड्ने बाटोबाट स्याँस्याँ–फ्याँफ्याँ हुँदै मेरो घर आइपुगेर मेरो सुत्ने खाटमुनि लुकेको । खसी छोड्नु परे पनि त्यसलाई बाँधेको फलामे किलो दाइका हातले छोड्न नमानेको र त्यो किलो कुँडाकर्कट बटुल्ने भइयालाई बाह्र रुपैयाँमा बेचेको । त्यस दिनदेखि अर्को कुनै चोरलाई पीडित गाउँलेले ‘चोर ! चोर !’ भन्दै खेदेको देखेपछि मुटु हल्लिने गरेको । जीउ लग्लग् काम्ने गरेको । पिसाब फुस्केला जस्तो हुने गरेको ।…यी सबै कथा दाइले नै भन्दै आउनुभएको होइन र ? अहिलेको समयका दाइ जस्ता सिनियर कमरेडले भनेका यी कथा म जस्तो रैतीले बिर्सिनु कहाँ हुन्छ र, होइन्त दाइ ? र, अब चोरलाई पनि म जस्ताले ठूलो स्वरले हकार्न नपाइने शासन झापामा पनि आयो भनेर दाइले नै भने बमोजिम दाइलाई सधैं तर्छाइरहने त्यो समस्या त समाधान भएछ नि । कि कसो दाइ ?”

उनी जुर्मुराएर उठे अनि अघि खोलेको ज्याकेट झट्कारेर काँधमा हाल्दै उनका चिम्पान्जीका जस्ता हल्केला मेरा अनुहार अघिल्तिर नचाउँदै भने— “भन्नसम्म भनिसिद्याएसि यत्राको कि कसो दाइ भन्छौ ? हन सम्जन पनि कति सम्जेको रिट्ठो नबिराई हँ ? एस्ताहर्लाई कन्टोल गरेर ठेगान नलाए हाम्रो इजोत र पेस्टिचको भूर्नहत्ते नभई छाड्छ ? ती हाम्रा मासचिप जमिनकाण्डमा..इ पाँडे जस्ता पोल खोलुवाका कर्म र करतुकले नै तेसो–तेसो भको हो भन्र डाइरेक माथि नै रिपोटिन नगरे त इनले गरिखान नदिने भए… विदेशी दलाल मुर्दावात ! मासवाद–ल्यालिनवात जिन्दावात…!”

उनी के–के हो के–के फलाक्तै न नारा लाउँदै बाटो लागे । उनी पर दोबाटोबाट छेलिएपछि म एक्लै जोडले हाँसे र मनमनै आफैलाई प्रश्न गरें— “अब चोरलाई पनि कडा स्वरले दपेट्न पाइन्न अरे ? हन हुकुमी शासन घुमरेर फेरि आयो कि क्या हो हँ ?”…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here