अर्जुनधारा।
किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले झापाको अर्जुनधारा–७ पाराखोपीस्थित डाङग्रे बाबा–सेतीदेवी–माता पाथीभरा धाममा उत्पत्ति भएको डाङ्ग्रे बाबा देशकै पहिलो भएको बताएका छन् ।
इलामको माङसेबुङमा आयोजना भएको धाम संरक्षण तथा सम्वद्र्धन समितिका पदाधिकारी तथा सदस्यहरुसँग छलफलको क्रममा धर्मगुरु लिङ्देनले सो कुरा बताएका हुन् ।
छिमेकी देश भारतको आसाम राज्यमा विशेष पुजा हुने गरेको डाङ्ग्रे बाबा जिउँदो देवताकोरुपमा रहेको उनले दावी गरेका छन् । उनी भन्छन्– ‘स्पष्टरुपमा सबैले देख्न सक्ने डाङ्ग्रे बाबाको उत्पत्ती देशभित्रै हुनु सुखद् पक्ष हो ।’
त्यस्तै कार्यक्रममा सहभागी धामका उत्पतीकर्ता धर्मगुरु विकास राईले विश्वमा भारतपछि दोस्रो देशकोरुपमा नेपालमा उत्पत्ति भएको डाङ्ग्रे बाबाको मानभाव पु¥याउन सक्दा सबैको कल्याण हुने बताए ।
धाम समितिकोतर्फबाट किरात धर्मगुरु लिङ्देनलाई धामको तस्वीर प्रदान गरिएको कार्यक्रममा धामका उत्पतीकर्ता धर्मगुरु राई, धाम समितिका अध्यक्ष राजेन्द्र काफ्ले, सल्लाहकार अमित खम्बू लगायतले धामको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्न सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङ लिम्बू, धाम समितिका सल्लाहकार राजन धिमाल, सचिव रोशन नेम्वाङ, सहसचिव अशोक राई, सदस्यद्वय चिडीबहादुर प्रधान र लालबहादुर धिमाल लगायतको सहभागिता रहेको थियो । धर्मगुरु राईका अनुसार उत्पत्ति भएको डाङ्ग्रे बाबासँगै सेतीदेवी, साइँली पाथिभरा माता लगायत देवीदेवताको शरण रहेको उक्त धाममा समितिले प्रत्येक बिहीबार, शुक्रबार र शनिबार विशेष पूजा गर्दै आएको छ ।