सन्तान सम्झँदै आश्रममा आमा भनिन् -‘मलाई नहेरे पनि सन्तानलाई आनन्द होस्’

0
944

धनकुटा,

छोराछोरीको राम्रो होस् भनेर आशीर्वाद दिएको छु। मलाई नहेरे पनि सन्तानलाई आनन्द होस्,’ ९४ वर्षीया जानुका पोखरेलको भनाइ हो यो। ११ वर्षदेखि धनकुटास्थित विश्रान्ति मन्दिरको आश्रममा उनी बस्दै आएकी छन्।

उनका ४ छोरी र २ जना छोरा छन्। ३ छोरा, १ छोरी र श्रीमान् गुमाएकी उनी तमोर नदी किनारामा रहेको यस आश्रममा जीवनको उत्तरार्द्ध बिताउँदै छिन्। सन्तान र श्रीमान बित्दाको पीडा भुलाउन साथै भएका छोराले समेत बेवास्ता गरेपटि उनी यहाँ आउन बाध्य भएकी थिइन्। ‘घरमा बस्ने इच्छा थियो नि। तर के गरिखानु।

त्यसैले यहाँ आएँ,’ उनी भन्छिन्, ‘बाँचेका छोरा साथीहरूसँग हेर्न बेलाबेला आउँछन्।’ आमाको मुख हेर्नका लागि भनेर काठमाडौंबाट माइली छोरी निर्मला खतिवडा शुक्रबार आइपुगेकी छन्। ‘आफ्नो सन्तान आमा भेट्न आउँदा खुसी लाग्छ नि,’ पोखरेलले भनिन्, ‘नातिनातिना कोही आउँदैनन्, छोरी भने आउने गर्छे।’

सन्तानको स्मरण गर्दै उनले भनिन्, ‘सन्तानले कहिल्यै दुःख भोग्नु नपरोस्। मेरो यति इच्छा छ।’ मोरङ टाँडीकी ६० वर्षीया सीतादेवी भन्छिन्, ‘आमा बित्नुभएको धेरै भयो। मनमा सधै सम्झिरहन्छु।’ उनी ८ वर्षदेखि विश्रान्ति मन्दिरमा बस्दै आएकी छन्। उनलाई माइतीका भाइले यहाँ ल्याइदिएका थिए। ‘तीन जना छोरा बिते। श्रीमान पनि बित्नुभयो। त्यसपछि भाइले यहाँ ल्याइदिए,’ उनले भनिन्, ‘बुहारी र नातिनातिना भेट्न आउँदैनन। माइतीका भाइ भने तिहारमा भेट्न आउँछ। उनीहरू नआए पनि दुःख नपाए हुन्थ्यो।’

आमाको मुख हेर्ने दिनमा उनलाई समेत सन्तान र आमाको विशेष याद आउने बताइन्। ‘मिठो खानेकुरा खुवाउन धेरै मान्छेहरू यस दिन आश्रम आउने गर्छन्। तर आफूलाई भने छोरोछोरीको याद आइरहेको हुन्छ,’ उनले भनिन्, ‘बाँचुन्जेल सन्तानले दुःख पाएको सुन्न नपाउँ।’

आश्रममा बस्दै आएका ७३ वर्षिया कमला शर्मा दाहालको समेत अरू आमाको जस्तै भनाइ छ। ‘आश्रममा बसेकाले हर्ष र विस्मात कुनै छैन। तर आफ्ना सन्तान भेट्न आउँदा खुसी लाग्ने रहेछ,’ उनले भनिन्। मातातीर्थऔसीको एक दिनअघि शुक्रबार उनको छोरी आश्रम आइसकेकी छन्। शनिबार आमाको मुख हेर्ने दिन अर्का छोरीबुहारी र छोरीहरू आउँदै छन्। ‘मातातीर्थका दिन मात्र होइन। अरू दिनमा समेत आफ्ना छोराछोरी आउँदा खुशी लाग्छ। आफ्ना मात्र होइन, अरूका सन्तान आउँदा समेत खुसी लाग्छ,’ उनले भनिन्।

आफ्ना बुवाआमा सँगै उनी समेत यसआश्रममा आएकी थिइन्। उनी ३२ वर्षदेखि यहाँबस्दै आएकी छिन्। आमाबुवा बिते पनि उनी भने यसै आश्रममा बस्दै आएकी छिन्। ‘छोराछोरीकोसधैं राम्रो होस्। दुःख नपाऊन्। आमालाई सधैं छोराछोरीको भलो भएको देख्न मन हुँदो रहेछ,’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here