झापामा सन्थाल होमस्टे

0
1418

बिर्तामोड।

पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । छुट्टै पहिचान बोकेको यो समुदायलाई संरक्षणका लागि जिल्लामै पहिलोपटक झापा गाउँपालिकाले सन्थाल बस्ती निर्माणको काम शुरु गरेको छ ।

करिव एक करोड २५ लाख रुपैयाँ खर्च गरेर झापा गाउँपालिका–२मा एकीकृत सन्थाल बस्ती निर्माण गर्न लागिएको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले जानकारी दिए । उनले भने– ‘सन्थाल बस्ती निर्माणका लागि एक बिगाह जमिन समेत उपलब्ध भइसकेको छ । जहाँ ३५ वटा आधुनिक र व्यवस्थित घर निर्माण गरिनेछ ।’

एक वर्षभित्रमा सन्थाल बस्ती निर्माण गरिसक्ने गाउँपालिकाले लक्ष्य लिएको छ– अध्यक्ष साहले भने– जुन वस्ती भित्र व्यवस्थित होमस्टे निर्माण गरिनेछ । सन्थाल वस्तीभित्रको होमस्टेमा सन्थालको संस्कार, संस्कृति, भेषभुषा, साहित्य, भाषा, लिपि सबै देख्न पाइनेछ ।

जिल्लामै पहिलोपटक सन्थालको होमस्टे निर्माण गर्न झापा गाउँपालिका अग्रसर भएको छ– अध्यक्ष साहले भने– सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै पहिचान बोकेको जाति सन्थाललाई गाउँपालिकाले पनि उच्च दृष्टिकोणले हेरेको छ । कुवाडी टी इस्टेटमा काम गर्ने मजदुरलाई लक्षित गर्दै सन्थाल वस्ती निर्माणको पहल थालिएको हो– अध्यक्ष साहले भने– अति विपन्न परिवार यहाँ बस्छन् उनीहरुलाई गाउँपालिकाले घर निर्माणसँगै सिप र शिक्षा दुवै दिन्छ ।

व्यवस्थित सन्थाल वस्ती निर्माणका लागि गाउँपालिकाले टेन्डर प्रक्रिया अघि बढाएको छ । सन्थाल वस्ती निर्माणसंगै होमस्टेका लागि प्रक्रिया अघि बढाउने अध्यक्ष साहले बताए । उनले भने– ‘झापामा सन्थालको जनसंख्या सात हजारको हाराहारीमा छ । जसमध्ये अतिविपन्न परिवारलाई सन्थाल बस्तीमा सारिनेछ ।’

‘अझै पनि शिक्षाको पहुँचमा सवै सन्थाल समुदाय छैनन्’– अध्यक्ष साह भन्छन्– ‘झापाभित्रका सन्थाललाई खोजी खोजी अब शिक्षाको पहँुचमा ल्याइन्छ ।’ शिक्षाका लागि समेत गाउँपालिकाले विशेष नीति बनाएर अघि बढेको बताउँदै अध्यक्ष साहले भने– झापाका सन्थाल मात्र होइनन्, अब सबै नागरिक शिक्षित बनाउने हाम्रो लक्ष्य छ ।’

गाउँपालिकाले सन्थाल बस्ती निर्माणसँगै विपन्न परिवारका लागि हेविट्याट र सहारा नेपालसँग सहकार्य गर्दै एक सय घर निर्माण गरिरहेको छ । हालसम्म ३० वटा घर निर्माण सम्पन्न भएको बताउँदै अध्यक्ष साहले भने– झापामा विपन्न आवास कार्यक्रम अन्तर्गत सन्थाल बस्तीसंगै एक सय घर निर्माण गर्छाैं ।’

सन्थाल वस्ती निर्माणका लागि कुवाडी टी इस्टेटले एक विगाह जमिन प्रदान गरेको बताइएको छ । सन्थाल वस्ती भित्र गाउँपालिकाले नै सामुदायिक भवन, सन्थाल समुदायको धर्म संस्कृति, भेषभुषा, साहित्य, भाषा, लिपिका लागि छुट्टाछुट्टै आवश्यकता अनुसारका घर निर्माण गरिने छ ।

आफूलाई प्रकृतिका पुजारी मान्ने यो समुदायले सालको रुखलाई पवित्र मान्छन् । सन्थाल वस्तीभित्र निर्माण गरिने होमस्टेमा यी सबैथोक हेर्न र देख्न सकिन्छ– गाउँपालिका अध्यक्ष साहले भने । होमस्टेमा जाने जो कोहीले सन्थाल के खान्छन् ? कसरी बस्छन् ? उनीहरुको परिकार, भेषभुषा, संस्कृति होमस्टेमा सबै झल्कन्छ– अध्यक्ष साहले भने ।

विष्णुलाई प्रमुख देवता मान्ने यो समुदायले पूजा गर्ने स्थानलाई ‘मान्झिथान’ र ‘जाहेरथान’ भन्छन् । यो समुदायमा गाउँमा एउटा मुखिया हुन्छ त्यसलाई ‘मान्झिहाडाम’ भन्ने गरेका छन् । तिर धनु यो जातिको प्रमुख हतियार हो । सन्थाल जातिमा बाह्रवटा थर हुन्छन् । १२ थरबाटै यो जातिलाई सन्थाल हो भनेर पहिचान गर्न सकिने बताइन्छ । यो सवै अब झापाभित्रको झापामा देखिने भएको छ ।

समग्र झापाको विकासका लागि होमस्टेले सहयोग पु¥याउने बताउँदै सन्थाल समुदायको होमस्टे देखाउनकै लागि आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याएर सन्थालको मात्र नभई सिङ्गो झापावासीको जीवनस्तर पर्यटनका माध्यमबाट सुधारिन्छ– अध्यक्ष साहले भने– ‘झापालाई सन्थालको होमस्टेले चिनाउन सकिनेछ ।’

सन्थाल जातिले बोल्ने भाषालाई ‘सन्थाली’ भनिन्छ । आफ्नै छुट्टै भाषा र लिपि भए पनि यो समुदायले नेपाली भाषा प्रयोग गर्ने गर्छन् । केही वर्षअघिसम्म जमिन्दारका रुपमा चिनिने सन्थाल समुदाय अहिले सीमान्तकृत जातिमा पर्छ । शिक्षा क्षेत्रमा पछि परेको यो समुदाय विस्तारै अहिले ‘शिक्षाको उज्यालो यात्रा’ तर्फ लम्कँदैछ ।

वि.सं. २०६८ को जनगणनामा यो समुदायको जनसंख्या ५१ हजार सात सय ३५ रहेको थियो । त्यसमा पनि शिक्षित सन्थाल त झनै कम छन् । मुलुकमा आमूल परिवर्तन भएसँगै सन्थाल समुदायको जीवनशैलीमा परिवर्तन भएको छ । सन्थाल समुदायबाट पनि राज्यका विभिन्न तहमा प्रतिनिधित्व भएको छ । सन्थाल समुदायका केही युवा अहिले सरकारी सेवामा समेत सेवारत् छन् ।

झापाको कोरोबारी, हल्दिबारी, कुमरखोद, टाघनडुब्बा, वैगुनधुरा, जलथल, राजगढ, शरणामतीमा यो समुदायको बसोबास बढी रहेको पाइन्छ । झापामा यो समुदायको जनसंख्या ३५ हजारको हाराहारीमा रहेको २०६८ को जनगणनामा उल्लेख छ ।

झापा गाउँपालिकाले व्यवस्थित सन्थाल बस्ती निर्माणसँगै ‘जहाँ टोल त्यहाँ पोल’ अभियान शुरु गरेको छ । जुन अभियान अन्तर्गत यसै आर्थिक वर्ष भित्र झापा अन्धकार मुक्त हुनेछ । जसका लागि गाउँपालिकाले एक करोड २५ लाख रुपैयाँको लागतमा विद्युत् बिस्तार गरिरहेको छ । गाउँपालिकाभित्र अझै ५ प्रतिशत जनसंख्याले विद्युत् सेवा उपयोग गर्न नपाइरहेको अवस्था छ– अध्यक्ष साहले भने – यसै आर्थिक वर्षभित्र उज्यालो झापा घोषणा हुनेछ । जसका लागि एक हजार पोल खरिद गरिएको र दुई सय ५० पोल खरिद प्रक्रियामा रहेको छ ।’

अब कुनै पनि वडावासीले टुकी बाल्नु पर्दैन– अध्यक्ष साहले भने – ‘विद्युत् बाल्न मिटर किन्न नसक्ने परिवारका लागि पनि हामी नै मिटर किनेर विद्युत जडान गरिदिन्छौं ।’ नेपाल विद्युत् प्राधिकरणसंग समन्वय गर्दै विद्युत् विस्तारको काम भइरहेको छ– अध्यक्ष साहले भने– प्राधिकरणले पनि दुईसय परिवारलाई निःशुल्क विद्युत् मिटर प्रदान गर्ने भएको छ । हामी एक सय परिवालाई निःशुल्क मिटर दिन्छौं ।’

हाल झापाको १ नम्वर वाडको सालमाराको सन्थाल वस्ती, ७ को चौधरी टोल, तीन टोलीया, ४ को पेचकारणी र टप्पुवस्तीमा विद्युत् पुगेको छैन । ती वस्तीका सर्वसाधारण अझै पनि टुकी र लालटिन बालेर रात बिताउँदै आएका छन्– अध्यक्ष साहले भने– ‘अब तीन महिना भित्र झापाका सवै घरमा बिजुली बल्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here