पर्यटनका लागि पूर्वाधारमा जोड

0
595

झापा ।

सरकारले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पूर्वाधार निर्माणलाई जोड दिएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७को नीति तथा कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी रूपमा अघि बढाइनुका साथै पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रूपमा रहेको विमानस्थल निर्माणसँगै थप नयाँ गन्तव्य प्रवद्र्धन तथा पर्यटकीय सेवा सुदृढीकरणको कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९भित्रै सञ्चालनमा ल्याइने योजना छ । हाल उक्त विमानस्थलको ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । यो विमानस्थल पनि सन् २०२१ को शुरुदेखि सञ्चालन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बहुप्रतिक्षित बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य शीघ्र प्रारम्भ गरिने भएको छ । बिमानस्थल निर्माणको विषयमा लामो समयदेखि चर्चा भए पनि निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सन्दर्भमा सरकारले आगामी आवको नीति कार्यक्रममा उक्त आयोजना उच्च प्राथमिकताका साथ अघि बढाउने जनाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विवरणमा मुलुकभर ५६ विमानस्थल छन् । तीमध्ये ३२ विमानस्थल कालोपत्रे भइसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पाँच राष्ट्रिय गौरवका आयोजना छन् तीमध्ये तीन अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणाधीन अवस्थामा छन् ।

पर्यटकीय पूर्वाधार विकासलाई जोड दिएको नीति तथा कार्यक्रम पर्यटनमैत्री रहेको भन्दै पर्यटन व्यवसायीले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउने सशक्त माध्यम पनि पर्यटन क्षेत्र नै भएकाले नीतिमा समेटिएका योजना कार्यक्रमलाई परिणाममुखी बनाउन सरोकार भएका सबै संयन्त्रलाई सक्रिय बनाइनुपर्ने उनीहरूको सुझाव छ ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रमा उत्साह जगाएको भन्दै समेटिएका विषयवस्तुको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । समग्रमा नीति तथा कार्यक्रम पर्यटन व्यवसायीलाई उत्साहित बनाउने खालकै भएको उनले बताए । निर्माणाधीन ठूला आयोजना अन्तर्गतका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, स्तरोन्नति तथा प्रत्येक गाउँपालिकाको केन्द्रमा कालोपत्र सडक पु¥याउने जस्ता कार्यक्रम राम्रा छन् कार्यान्वयन पक्षलाई जोड दिनुपर्छ– उनले भने ।

सरकारले गुणस्तरीय पर्यटक भित्र्याउन निजी क्षेत्रसँगको सहकार्यमा सेवाको गुणस्तरवृद्धि गरिने नीति लिएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२०मा नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गरिनेछ । उक्त अभियान गत चैत ३० गते पोखराबाट शुरुवात गरिएको थियो । आगामी डिसेम्बरको अन्तिममा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिने पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले अघिल्लो आर्थिक वर्षमा पनि यो अभियानलाई नीति तथा कार्यक्रममा समेटेको थियो ।

पर्यटकीय पूर्वाधार विकास, दोहोरो अङ्कको आर्थिक वृद्धिका लागि अवलम्बन गरिने प्राथमिकतायुक्त कार्यक्रम नीति तथा कार्यक्रमका सकारात्मक विषय भएको र यसले पर्यटन क्षेत्रमा थप आशाको किरण जगाएको होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन् । उनले सरकारले अघिल्लो नीति तथा कार्यक्रम र बजेटमै घोषणा गरेको भ्रमण वर्षको प्रभावकारी कार्यान्वयनका लागि यो पटक पनि प्राथमिकता दिनु खुशीको विषय भएको उल्लेख गरे । महासचिव शाहले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई सार्थक बनाउने मुख्य आधार पर्यटन क्षेत्र भएकाले नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले पनि समग्रमा नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने– नीति कार्यक्रमा पर्यटनसँग जोडिएका विषयवस्तु असाध्यै राम्रा छन् मुख्य कुरा कार्यान्वयन नै हो । सबै संयन्त्रलाई सक्रिय बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले नीति तथा कार्यक्रम पर्यटनमैत्री भएको र यसको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक परम्परा र संस्कृति झल्कने गरी बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रुपान्तरण गरिने, हाल सञ्चालनमा रहेको आन्तरिक बिमानस्थललाई ठूला विमान उडान अवतरण गर्नसक्ने गरी विकास गरिनुका साथै राष्ट्रिय राजमार्गका उपयुक्त खण्डलाई आपतकालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गको रूपमा विकास गरिने लक्ष्य लिइएको छ ।

पूर्वाधारका महत्वपूर्ण आयोजना समयमै सम्पन्न गरी आर्थिकवृद्धिको सुदृढ आधार तयार गर्ने नीति लिएको सरकारले स्रोत, साधन, जनशक्ति परिचालन र अनुगमनको विशेष व्यवस्था गरी लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ ।

सरकारले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा पनि पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनात्मक गतिविधिलाई उच्च प्राथमिकता दिएको थियो । सन् २०१८ मा नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here