झापामा विपद् व्यवस्थापनको तयारी

0
450

दमक।

झापामा विपद् व्यवस्थापनका लागि अग्रिम तयारी शुरु गरिएको छ । जब विपद् आइलाग्छ त्यो समयमा मात्र लाग्ने परिपाटीको अन्त्य गर्दै झापाका प्रमुख जिल्ला अधिकारी एवम् विपद् ब्यवस्थापन समिति झापाका संयोजक जनकराज दाहालले पूर्व तयारीका लागि प्रयास शुरु गरेका हुन् ।

दाहालका अनुसार जिल्लाभर रहेका ग्रेडर, जेसीबी, रोलर, क्रेन लगायतका औजारहरुलाई दुरुस्त अवस्थामा राख्ने र यसका चालकहरुलाई बिदा नदिने समेत निर्णय भएको छ । यसले विपद्का समयमा तत्काल राहतका लागि सहयोग पुग्ने भएकाले निजी तथा सरकारी सबै क्षेत्रमा यो निर्णय लागू हुने पनि उनले बताए ।

‘विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायसँग समन्वय र सहकार्य गरी अत्यआवश्यक पर्ने दमकल, एम्बुलेन्स, हेभी इक्वीप्मण्टका साधनहरु, अस्पताल लगायतका निकायहरुको लगत दुरुस्त राखेर हाई अलर्टमा रहन निर्देशन दिने निर्णय गरेका छौं’ –दाहालले भने । सबै स्थानीय तहहरुले विपद् व्यवस्थापन कोष बनाएको र तयारी गरिरहेको जानकारी गराएका थिए ।

बिभिन्न खोलाबाट अति प्रभावित रहेका स्थानीय तहहरुले लाइफ ज्याकेट, नाउँ र बोटको व्यवस्थापनका साथै दक्ष चालकहरुको व्यवस्थापन गर्ने भएका छन् । बाढी आउने समयमा (जेठदेखि भदौ) करारमा भए पनि नाउँ तथा बोट चलाउन जान्ने चालकहरु खोजेर राख्ने बिषयमा छलफल भएको र स्थानीय तहहरुले यसलाइ स्वीकार गर्दै आवश्यक तयारी गर्ने बताएको दाहालले बताए ।

विपद् व्यवस्थापन लागि भएका प्रयास तथा विपद् जोखिमको बारेमा सबै स्थानीय तहहरुले कार्ययोजना ल्याउने निर्णय गरेको पनि उनले जानकारी दिए । पूर्व तयारी कस्तो छ ? विपद् भएको अवस्थाको के गर्ने ? र विपद् आइसकेपछिको तयारी कस्ता छन् ? यसकोे योजना अब हरेक स्थानीय तहले बनाएर समितिमा पेस गर्नुपर्नेछ ।

जिल्लाका १५ वटै स्थानीय तहहरुले विपद् व्यवस्थापनका लागि तोकिएका फोकल पर्सनहरुलाई हाइअलर्टमा राख्ने, विपद् व्यवस्थापन कोष परिचालनका लागि आवश्यक नीति, नियम र कार्यविधिहरुलाई दुरुस्त राख्ने लगायतका बिषयहरुमा छलफल भएर निर्णय भएको बताइएको छ । स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु सहभागी बैठकले विपद्सँग जुध्नका लागि आवश्यक निर्णयहरु लिएको बताइन्छ ।

त्यसैगरी तत्काल खाद्य सामग्रीहरु उपलब्ध गराउनुपर्ने अवस्था आउने भएकाले स्थानीय उद्योग वाणिज्य संघहरुसँग समन्वय गरेर खाद्यान्नका लागि समझदारी पत्र (एमओयु) गर्ने, त्रिपाल तथा आवश्यक पर्न सक्ने लत्ताकपडाहरुको व्यवस्थापन अग्रिम रुपमा गर्ने पनि निर्णय भएको उनले जानकारी दिए । ‘यो विपद्को समयमा मात्र लिने गरी सम्झौता गर्ने हामीले निर्णय गरेका हौं’ –दाहालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here