सशस्त्र प्रहरीको ५ वटा भवन निर्माण हुँदै

0
874

बिर्तामोड।

झापामा पौने सात करोडको लागतमा सशस्त्र प्रहरीको भवन निर्माण प्रारम्भ भएको छ । १ नम्वर प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका पाँच ठाउँमा ६ करोड ७१ लाखभन्दा बढीको लागतमा सशस्त्र प्रहरीले भवन निर्माण शुरु भएको हो । सशस्त्र प्रहरी बल नेपाल २ नम्वर गणका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थाक्सूका अनुसार पृथ्वीनगर, घेरावारी, भागुडुब्बा, टाघनडुब्बा र कुञ्जिबारीमा सशस्त्र प्रहरीको भवन निर्माण शुरु भएका हुन् ।

दाताले भवन निर्माणका लागि निःशुल्क जमिन प्रदान गरेपछि सशस्त्र प्रहरीले व्यारेकहसहितका भवन निर्माण शुरु गरेको प्रहरी उपरीक्षक थाक्सूले बताए । उनले भने– ‘स्थानीय दाताले प्रदान गरेको जमिनमा प्रदेश सरकारसँग सहकार्य गर्दै भवन निर्माण शुरु गरेका छौं, आगामी असार मसान्तभित्र सबै भवन निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।’

भद्रपुर–१ पृथ्वीनगरको जुनेली वस्तीमा रहेको सशस्त्र प्रहरी वल पृथ्वीनगरका लागि वेदबहादुर कार्कीले ५ कठ्ठा जमिन प्रदान गरेको र स्थानीयले पाँच कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि भवन निर्माण थालिएको हो सशस्त्र प्रहरी उपरीक्षक थाक्सूले भने – ‘जसको लागत ६९ लाख रुपैयाँ रहेको छ । पृथ्वीनगरमा यस अघि पनि भवन निर्माणको काम सम्पन्न भएको छ ।’

यता घेरावारीमा रहेको वीओपी निर्माणका लागि उमाशंकर गणेश र सज्जनलाल गणेशले निःशुल्क १० कठ्ठा जमिन प्रदान गरेका छन् । उनीहरुले प्रदान गरेको जमिनमा एक करोड ५९ लाख रुपैयाँको लागतमा व्यारेकसहित एक कार्यालय भवन, निवास, जुनियर अधिकृत भवन, जवान व्यारेक, मेस भवन, गेट, शौचालय समेत निर्माण हुनेछ– सशस्त्र प्रहरी बल नेपाल २ नम्वर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीले भने– ‘भागुडुब्बामा पनि दाताले नै जमिन प्रदान गरेपछि एक करोड ५१ लाख रुपैयाँको लागतमा भवन निर्माण शुरु भएको हो ।’

भवन निर्माणका लागि भद्रसिंह राजवंशीको स्मृतिमा सुशीला राजवंशीले १० कठ्ठा जमिन प्रदान गरेको सशस्त्र प्रहरी वल वीओपी घेरावारीका प्रहरी निरीक्षक टीकाराम खतिवडाले जानकारी दिए । वीओपी कुञ्जिवारीका लागि गौरीगञ्ज गाउँपालिकाले ६ कठ्ठा र रोमनाथ काफ्लेले २ कठ्ठा जमिन प्रदान गरेका छन् । कुञ्जिवारीमा पनि एक करोड ५१ लाख रुपैयाँको लागतमा प्रहरी भवन निर्माण शुरु भएको हो ।

यता सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका लागि भद्रपुर–५ निवासी श्यामसुन्दर अग्रवालले झापा गाउँपालिका–१ सेतुमारीमा १० कठ्ठा जमिन प्रदान गरेका हुन् । हजुरआमा भवानीदेवी अग्रवालको स्मृतिमा बुबा श्यामसुन्दरले प्रहरीको भवन निमार्णका लागि जमिन प्रदान गरेको आनन्दकुमार मित्तलले जानकारी दिए ।

अग्रवालले प्रदान गरेको जमिनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाको भवन निर्माण शुरु भएको छ । एक करोड ५१ लाख रुपैयाँको लागतमा ६ वटा व्यारेकसहित निर्माण हुने प्रहरी भवनको शिलान्यास मंगलवार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरेका छन् ।

भवनको शिलान्यास गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले एक सय ४४ किलोमिटर झापाको बोर्डर एरियामा सशस्त्र प्रहरीले अभावका बीच उच्च मनोवलका साथ रात दिन सुरक्षा गरेको बताए । ‘सशस्त्र प्रहरीले सीमाको मात्र रक्षा गरेको छैन’– प्रमुख जिल्ला अधिकारी दाहालले भने– ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिन थालेपछि सीमा क्षेत्रमा हुने अपराध पनि रोकिएको छ ।’

असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने प्रहरी भवनमा व्यारेकसहित एक कार्यालय भवन, निवास, जुनियर अधिकृत भवन, जवान व्यारेक, मेस भवन, गेट, शौचालय, आदि रहने सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक एनी तामाङले बताए ।

अग्रवाल परिवारले निःशुल्क जमिन प्रदान गरेपछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाको भवन शिलान्यास समारोहमा सशस्त्र प्रहरी बल नेपाल २ नम्वर गणका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थाक्सू, कांग्रेस नेता देउमान थेवे, झापा गाउँपालिका–१का वडाअध्यक्ष राजकुमार यादव लगायतले बोलेका थिए । भवन शिलान्यास समारोहमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, चारआली गणका गणपति मुकाहाङ्ग याक्थुम्वा, राष्ट्रिय अनुसन्धन झापाका उप अनसुसन्धान निर्देशक सुशान्त वराल लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here