तीनबुँदे सहमतिसंगै चिया मजदुरको आन्दोलन फिर्ता, आजबाट झापाका उद्योग खुल्ने

0
394

भद्रपुर,

आन्दोलनरत झापाका चिया मजदुरले ४५ दिनपछि आफ्नो आन्दोलन फिर्ता लिएका छन्।  नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच तीन बुँदे सहमतिपश्चात मजदुर संगठनले आफ्नो आन्दोलन फिर्ता लिएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिए।

सोमबार बिर्तामोडमा दुवै पक्षबीच भएको वार्ता पश्चातको तीनबुँदे सहमति अनुसार सरकारले तोकेको श्रम ऐन ‘२०७४’ अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागू गरे अनुसारको तलब भुत्तान गर्ने र आन्दोलन अवधि भरको ज्याला ३० प्रतिशत दिने समेत सहमति भएकाे छ।

मंगलबारदेखि उद्योग खोल्ने सहमति भएको पनि जनाइएको छ।  सहमति पत्रमा उद्योगीको तर्फबाट नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया उद्योगीहरू चण्डी पराजुली, छत्र गिरी, कुमार गिरी, हिरा गिरी र मजदुर नेताको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, ट्रेड युनियनका झापा अध्यक्ष यज्ञ प्रताप अधिकारी, कृषि तथा चिया बगान श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा, जिफण्डका सन्तकुमार राई, भुपाल सापकोटा लगायतले हस्ताक्षर गरेको जनाइएको छ।

झापामा साना किसानसहित २८ वटा चिया उद्योग छन्। ती उद्योगमा ५० हजार बढी मजदुर कार्यरत रहेका छन्। ४५ दिनको आन्दोलनले चिया मजदुर र उद्योगी दुवै मारमा परेका थिए। जसले गर्दा करोड बढीको हरियो चिया पत्ति नष्ट भएको छ। २० करोड बढीको तयारी चिया उत्पादन हुने सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here